मनभरी अमेरिका बोकेर फर्किए रामकृष्ण ढकाल





सतिश चापागाईं .

बाल्टिमोर अमेरिका, जनवरी २८ /

गायक रामकृष्ण ढकाल तीन महिना लामो बसाई सकेर आज नेपाल फर्कदै छन्  | यो बसाई अत्यन्त फलदायी भएको ढकालले द नेपाल टुडेसंग बताए |

उनी बितेको छ महिना लगभग अमेरिकामै थिए भन्दा हुन्छ | नर्थ क्यारोलिनामा भएको आन्मा / नासाको कार्यक्रममा आएर एक महिना बिताएका ढकाल छोटो समयका लागि नेपाल पुगे र  हंगकंगको पूर्व निर्धारित शोमा सहभागी भएर फेरी अमेरिका आएका थिए | त्यसपछि उनी झन्डै चार महिना अमेरिका बसे | यो बसाईमा ढकाल ब्यबसायीक जीवन मै सबैभन्दा ब्यस्त भए | "साना ठुला गरेर लगभग चालिस वटा कार्यक्रम भएछन | छोटो समयमा यति धेरै शोहरु गरेको अहिले नै हो" ढकालले भने |

न्यु योर्क, न्यु ह्याम्सार र क्यालिफोर्नियामा बेस बनाएर उनी अमेरिकाकाका बिभिन्न राज्यहरुमा यताउता गरिरहेका थिए | यो पटकको अमेरिका भ्रमण धेरै प्रकारले ढकालका लागि यादगार रहेको उनले बताए | मनभरी अमेरिका बोकेर फर्किएको बताउने नेपाली सुगम संगीतका नम्बर एक गायक रामकृष्ण ढकालसंग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

सत्य/स्वरूपसंग कार्यक्रम  

नासा/ आन्माको ठुलो कार्यक्रमबाट यो पटकको मेरो अमेरिका भ्रमण शुरु भएको हो  | यो अबधीमा मैले विभिन्न राज्यहरुमा सत्य / स्वरूपसंग एकै मन्चमा शो पनि गरे |

भुटानी नेपालीसंग कार्यक्रम

यहि बसाईमा अमेरिकामा रहेको भुटानी समुदायसंग पनि कार्यक्रम गर्ने अवसर मिल्यो | पांच वटा कार्यक्रम भए होलान भुटानी समुदायसंग | भुटानी समुदायको अमेरिकामा अब ठुलो जनघनत्व रहेको छ | नेपाली कलाकारहरुका लागि भुटानी समुदाय एउटा राम्रो गन्तब्य हो | नेपाली कला र संस्कृतिप्रति उहाँहरुको लगाव र प्रेमले मलाई अचम्म परेको छ | नेपाल र नेपालीप्रति उहाँहरुको ठुलो माया र सदभाव पाएँ | जहाँको कार्यक्रममा पुग्दा पनि उहांहरुले उत्तिकै आत्मियता दर्शाउनु भयो | नेपालमा हामी संगै बसेको र हाम्रो भाषा, कला र संस्कृति एकै भएर होला मलाई उहांहरु नेपाली नै लाग्यो | प्राबिधिक रुपमा मात्र उहाँहरु भुटानी हो, मन, मस्तिष्क र आत्मियताका हिसाबले उहांहरु नेपाली नै हो |

दर्शकसंगको निकटता


यस पटक म तिन चोटी त क्यालिफोर्निया नै पुगे | यता बसेर क्यालिफोर्निया जानु झन्डै ६ घण्टा त प्लेन मै लाग्छ | धेरै कार्यक्रमहरु पनि त्यही भए | क्यालिफोर्निया, सान फ्रान्सिस्को,  सान डियागो र एलए मा गरेर मेरो ख्यालमा बिस वटाको हाराहारीमा कार्यक्रम भए | कति ठाउँमा त दोहोर्याएर कार्यक्रम भए | पछिल्लो पटक एलए मा मैले पांच दिन लगातार शो गरें | त्यहाँ त अघिल्लो पटक गरेको के दर्शक आउलान र भन्यो फेरी उनै दर्शक आउने | अनि उहाँहरु भन्नुहुन्थ्यो की "अस्तिको सुनेर पुगेन, फेरी आयौं |" जति सुने पनि धित नै पुगेन भन्ने दर्शकहरु भेटें | यस्तो सुन्दा मेरो मन पनि त्यसै त्यसै रोमान्चक भएँ |

यसपटक मैले साना र ठुला सबै कार्यक्रमहरु गरें | ठुला कार्यक्रमहरुमा तीनसय देखि पांच सयसम्म दर्शक हुनुहुन्थ्यो | केहि कार्यक्रम थोरै दर्शकहरुका बीचमा पनि गरें | सानो कार्यक्रमहरुको मज्जा नै अर्कै हुन्छ | श्रोता र फ्यानहरुसंग नजिक हुन पाइन्छ | उहाँका कुरा सुन्न र उहाँहरुसंग आफ्ना बारेमा भन्न पाईन्छ | एउटा छुट्टै किसिमको अट्याचमेन्ट हुन्छ | भर्जिनियामा एउटा फ्यानले मलाई छोएर यो बिपना नै हो त भनेर आफैलाई चिमोटिन | उहांहरुसंग बस्दा, बोल्दा, संगै फोटो खिच्दाको महत्व नै अर्कै हुने गर्छ | कार्यक्रमपछि उहाँहरुले त्यो गीत र मेरो गायकीका बारेमा गरेको प्रशंसा र रचनात्मक टिप्पणीले मलाई साह्रै आनन्द दिन्छ | बिदेशका कार्यक्रमहरुको मज्जा नै यहि हो |

नेपालमा हामीहरु प्राय स्टेजको पछाडीबाट आउछौं, गीत गाउछौं र हिडीहाल्छौं | बाटोमा भेटिएका फ्यानहरुलाई हतार हतारमा अटोग्राफ दिन्छौं र पनि दोहोरो कुराकानी हुन पाउदैन | भए पनि धेरै कम | अहिले भने मलाई कस्तो संयोग मिल्यो भने सबै कार्यक्रममा दर्शकसंग नजिकै भएर गाउन पाएँ |  जहाँ जाँदा पनि मेरो गीत सुनिरहेका दर्शक रोईरहेको देखें | मेरा गीतहरु नै त्यस्तै हुन्छन | आँखा टिलपिल त लगभग सबैको नै हुन्छ | धेरै ठाउँमा दर्शक स्रोतहरु झुमेका रोएका देख्थे पहिला पनि | यो पटक मैले झन् धेरै देखें | मैले गाएका गीतले मानिसको जीवनमा कसरी छुदोरहेछ अझ नजिकबाट बुझ्ने मौका मिल्यो |

 फ्यानहरु चक्का बोकेर आउनुभयो 

यो पटक अमेरिकामा मैले भेटेको अर्को खुशीको कुरा पनि छ | त्यो हो एक दुईटा स्टेटमा त मेरा केहि दर्शक श्रोताहरु कार्यक्रममा आउदा पुराना चक्का नै बोकेर आउनु भएको थियो | एकजना दर्शकसंग मेरो दोस्रो एल्बम आशा साथ मै थियो |  त्यस्तै सान डियागोमा एक जना शेर्पा थरकी दर्शक हुनुहुन्थ्यो, श्रीमान चाँही अमेरिकन हुनुहुदोरहेछ | श्रीमानले नजिकै आएर आश्रय र आग्रह क्यासेट निकाल्दै त्यहाँको फोटो देखाउदै सोध्नु भयो "यो मान्छे तिमी नै हौ ?" जब मैले 'हो' भने उहाँले "मेरो श्रीमती तिम्रो ठुलो फ्यान हो भन्नुभयो | हामीले संगै फोटोहरु खिच्यौं | नर्थ क्यारोलिनामा एउटा अति सम्मानित जोडी भेटें, जसले अहिले पनि पुराना चक्काहरु सुनिरहनु हुदोरहेछ | त्यहाँका प्रसिद्ध समाजसेवी माधब ढकालले हाम्रो सुन्दर संसार थियो गीत आफुलाई अति नै मन पर्ने भनेर मलाई एउटा कार्यक्रममा गाउन आग्रह नै गर्नुभयो | ओहायोमा पनि एक जोडी भेटिनु भयो जो संग मेरा पुराना दुईवटा क्यासेट थिए | दर्शकले केहि पपुलर गीत सुन्न खोज्नु एउटा कुरा हो तर उहाँहरुले चर्चामा कम रहेका मेरा गीतहरुको बारेमा पनि चासो दिदै सुन्न खोज्नु भयो | आफ्ना यस्ता फ्यानहरुका बीचमा पुगेर कार्यक्रम गर्न पाउदा र प्रत्यक्ष रुपमा एक अर्कालाई भेट्न पाउदा साह्रै नै खुशी र गौरबको महसुश भएको छ | मैले संगीतमा लागेर कमाएको साँचो सम्पत्ति त्यहि नै हो |

बिदेशी रोए

यसपटक एउटा कार्यक्रममा बिदेशी पनि रोए | इन्डियाना पोलिस भन्ने राज्यको एउटा कार्यक्रममा यस्तो भयो | मिचेल भन्ने एक जना महिला थिईन |  नेपाल आवत जावत गर्ने महिला रहिछन | नेपाललाई माया गर्ने र नेपाल बुझेकी | श्रीमान सहित आएकी थिइन् | पछि उनले मेरो बारेमा सोधखोज गरिछन | अरु गीत पनि सुनिछन र मलाई इमेल गरेर तपाईका गीतहरु म फेसबुकमा शेयर गर्छु है भनेर सोध्दै थिईन | उनलाई मेरो गीत र गायकी राम्रो लागेछ |

सान डियागोको कार्यक्रममा मलाई एउटा हार्मोनियम चाहियो | स्थानीय आयोजक साथीहरुले लिएर आउनु भयो | त्यो त एकजना अमेरिकन महिलाको रहेछ | उनले हिन्दु धर्म मान्ने र सत्संगमा गीत गाउने रहिछन  | नेपाली श्रीमान भएर हो की भनेर सोधें उनले त हिन्दु धर्मको प्रसंशा गरिन र सत्संगले आफुलाई शान्ति मिलेको पो बताईन |

हिउँको मज्जा

इण्डियानाबाट ओहायो क्लिभल्याण्डको कार्यक्रममा जाँदा पहिलो हिउँ पर्यो | म रोमान्चक हुदै थिएँ तर बाटोमा  ४० /५० ठाउँमा गाडी दुर्घटनामा परेको देखे | पछि हिउँ हिउँका बाटो छिचोल्दै धेरै कार्यक्रममा गएँ | दशकौंपछि अमेरिकामा परेको हिउँको मज्जा लिन पनि पाईयो | अमेरिकाको जाडो के हो भन्ने राम्रोसंग भोगें |

अमेरिकामा नेपाली कलाकारसंग भेट

यो पटक धेरै समय बसेको र धेरै स्टेटहरुमा कार्यक्रम लिएर गएकोले होला अमेरिकामा रहनु भएका धेरै नेपाली कलाकारहरुसंग भेट्ने मौका मिल्यो | लामो समयपछि गायक साथी यम बरालसंग भेट भो | नेपाली कला र संस्कृतिको प्रबर्दनका लागि सुमन बुढा मगर भाई र यम जीहरु मिलेर अमेरिकामा नेपाली अमेरिकन कलाकार संघको स्थापना गर्नु भएको रहेछ | मलाई सम्मान पनि गर्नुभयो | म रोयल्टी समाज नेपालको  संस्थापक अध्यक्ष पनि हुँ | रोयल्टी र कलाकार हक हितका लागि सहकार्य गर्ने बिषयमा छलफल भयो | मैले सदस्यता पनि लिए |  आशिर्बाद फिल्म गर्दा भेट भएकी नायिका जल शाहसंग युटाहामा भेट भयो |  उहाँ र राजेन्द्र होजु मिलेर त्यहाँ एउटा भब्य कार्यक्रम आयोजना गर्नुभएको थियो | राजेश हमाल पनि आउनु भएको थियो | अरुणिमा लम्साल, दिलिप रायमाझी लगायतका कलाकारहरुसंग भेट भो | उता भन्ने कलाकार मात्र हो भेट कमै हुन्छ | यहाँ भेट्दा र नेपालको आफ्नो प्रोफेसनका बारेमा छलफल गर्दा धेरै नयाँ नयाँ विचार आउदो रहेछ |

योगी दाईभाउजुको माया

सान डियगोमा एउटा जोडी हुनुहुन्छ जसले मलाई सार्है सहयोग गर्नु भो | गोपाल योगी दाई र मनिता योगी भाउजु |  उहाँहरु हामी जस्तै हो आर्थिक हिसाबले तर मन साह्रै ठुलो रहेछ | मेरो त्यहाको कार्यक्रमको लागि भनेर साउण्ड सिस्टम किन्नु भयो | पाच / छ बर्ष अगाडी भेट भएको कार्यक्रम मै | यो पटक पनि बोलाउने भयो | त्यहाँ संघसंस्था छैन, उहाँहरु सबै जनासंग मिलनसार भएकोले आफै संस्था जस्तो हुनुहुन्छ | त्यताको कार्यक्रमको सबै ब्यबस्था गर्नु भयो | हिड्न अफ्तेरो भएकोले ठुलो मर्सिडिज गाडी नै किन्नुभयो | सान फ्रान्सिस्कोबाट उटाहासम्म ड्राइभ गरेर लैजानु भयो | मेरो लागि एक हप्ता कामबाट बिदा नै लिनु भएछ | योगी दाई भाउजुको सहयोग बिर्सन नसकिने छ | आन्मा / नासाका माधब ढकाल, बिशाल भारती,  शिव विस्टलगायत सबै पदाधिकारीहरुप्रति पनि कृतज्ञ छु | अरु धेरैले सहयोग गर्नु भएको छ आजका दिनमा म सबैलाई सम्झिरहेको छु |

पीडामा कलाकार 

देशको समस्याले नेपाली कलाकारहरुलाई धेरै पिडा दिएको छ | सबैभन्दा बढी मारमा हामी कलाकारहरु भएका छौं | बिदेशमा रहेका नेपालीहरुले कार्यक्रम आयोजना गर्नु भएको छ र हामीलाई धेरै सहयोग बएको छ | हामीले पनि विदेशमा रहेका नेपालीलाई बेलाबेलामा आएर देशको झल्को दिन पाएका छौं | यसरी साथ समर्थन र सहयोग पाईरहेमा देश मै बसेर नेपाली कला संस्कृतिको श्रीबृद्धिमा लागिरहन हौसला मिल्छ, हामी कलाकारहरुलाई |

धन्यवाद 
यति टाढा पनि यति धेरै दर्शक र यति ठुलो क्रेज देख्दा जीवनमा केहि राम्रो काम गरेछु जस्तो लागेको छ | यो सबै माया, प्रेम, सद्भाव र आतिथ्यका लागि यो यात्रामा भेटिएका सबैलाई तपाईको लोकप्रिय अनलाईन मार्फत सबैलाई धन्यवाद ब्यक्त गर्दछु | म फेरी आउदैछु, यो पटक आउन नमिलेका ठाउँमा अर्को पटक आउनेछु |











photo source: Facebook.

,