प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको तयारीः मन्त्री पाण्डे


बुटवल- उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै सातवटै प्रदेशमा कम्तीमा एउटा÷एउटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी सरकारले गरिरहेको बताए ।


बुटवल उद्योग वाणिज्य सङ्घले आज बुटवलमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा मन्त्री पाण्डेले एउटा प्रदेशमा कम्तीमा एक हजार बिगाहा जग्गा रहेको औद्योगिक क्षेत्र स्थापना गर्न अहिले जग्गाको खोजी तथा पहिचान भइरहेको बताउँदै झापा र रुपन्देहीमा जग्गा पहिचान भइसकेको र अन्य स्थानमा खोजी भइरहेको जानकारी दिए । 
रुपन्देहीको मोतिपुरमा सरकारले विगतका वर्षदेखिनै केही रकम छुट्याएर काम गरिरहेकाले त्यसको विस्तृत अध्ययन छ महिनाभित्र पुरा गरी यसैलाई ठूलो औद्योगिक क्षेत्रमा रुपान्तरण गर्ने पनि मन्त्री पाण्डेले बताए ।

मोतिपुर औद्योगिक क्षेत्रका लागि स्थानीय निकाय र सङ्घसस्थासँग समन्वय गरी गरेको कामले अहिले सरकारलाई जग्गा पहिचान र जनस्तरमा छलफल गर्न सजिलो भएको पनि उहाँले बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसहित आजै प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको अवलोकनसमेत गर्नुभएका मन्त्री पाण्डेले उच्च प्राथमिकताका साथ औद्योगिक क्षेत्र घोषणाका लागि तयारी गर्न औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतलाई निर्देशन दिए ।

कार्यक्रममा अध्यक्ष बस्नेतले दुई वर्षदेखि सरकारले बजेट विनियोजन गरेको भएपनि खासै काम अघि नबढेकाले अहिले सरकारी तवरबाट धैरै काम भइरहेको र सरकारको योजनालाई लिमिटेडले पुरा गराउने बताए  रासस