जातिवाद होइन मानवतावाद -- अनिल राई

प्रिय मित्र टि आर एच
सेवाके (नमस्कार) ।
मित्र, केही समयदेखि तपाईंले मलाई फेसबुकमा ‘आफूलाई कुलुङ भन्न लाज नमानौं र आफ्नो जात कुलुङ लेखौं’ भन्नेजस्तो ‘पोस्ट ट्याग’ गर्नुभएको हुनाले मैले पनि आफ्नो कुरा यहाँ लेखौं कि भन्ने चेष्टा गर्दै छु । पहिले त मैले केही पनि प्रतिक्रिया नदिने विचार गरेको थिएँ तर बारम्बार त्यहीखाले ट्याग भइरहेपछि म पनि केही नलेखी रहनै सकिनँ । म हरहमेशा प्रतिक्रिया जनाइहाल्न उचित सम्झिन्न ।

हुन त तपाईंको पनि आफ्नै विचार र बुझाइ होला । त्यसको सम्मान गर्छु । तथापि लोकतन्त्रको आजको युगमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ र त्यही स्वतन्त्रताको सदुपयोग गरेर आफ्नो कुरा राख्दै छु ।  मित्र, कहिलेकाहीं इष्टमित्र वा आफन्तजन भेट हुँदा कतिजना कुलुङ भाषा बोल्दछन् । मलाई पनि सोध्ने गर्छन् । कुलुङ भएर कुलुङ कुरा –भाषा) पनि आउँदैन ? धेरैजस्तो अवस्थामा म उत्तर नदिई शान्त बस्न नै उपयुक्त ठान्छु । आज म उत्तर दिन चाहन्छु । तर, त्यसका लागि मेरो पुर्खातिर जानुपर्ने हुन्छ । कृपया यसलाई आत्मलाप नबुझियोस् ।

मभन्दा सात पुस्ताअगाडि मेरो पुर्खा ठिङ्मेभाक आजभन्दा लगभग दुई सय वर्षअगाडि सोलुखुम्बु जिल्लाको बुङबाट भेडागोठ लिएर अहिलेको भोजपुर जिल्लाको खाटाम्मा गाविस–३ को लिमखिममा आएर बास बसेछन् । खास नाम लुङ्खिम हो भनिन्छ । कुलुङ भाषामा ‘लुङ’ को अर्थ ‘ढुङ्गा’ अनि “खिम” को अर्थ “घर” हुन्छ रे। पछि त्यो नाम अप्रभंश भएर लिमखिम हुन गएको भनिन्छ । यही भनाइअनुसार, सपना राम्रो देखेको हुनाले त्यही ठाउँमा घर बनाएर स्थायी रूपमा बस्नुभएको थियो रे । पछि तल्लोगाउँको साम राईको छोरी बिहे गरेर शाखा–सन्तान फैलिएको इतिहास छ । तसर्थ, आमा अर्कै जातको परेकाले छोराछोरीले आफ्नो  भाषा बिर्सिएको हुन सक्छन् ।

हाम्रा पुर्खामध्ये धेरै कमैले मात्र कुलुङ नै बिहे गरेको इतिहास छ । म पनि लिम्खिम पुगेको छु । अहिले पनि त्यहाँ एकाध व्यक्तिबाहेक पर्वते कुरा (नेपाली भाषा) नै बोल्छन् । कुलुङ कुरा गर्ने चाहिँ बिहावारी भएर आएको कुलुङ बुहारीमात्रै हुन् । अहिलेको भूमण्डलीकरणको युगमा समय र सोचाइ परिवर्तनशील छ । संसारमा मानिसका दुई जाति, नारी र पुरुष मात्र छन् भन्ने सोच आएको छ । अरू जातजातिबीच पनि बिहेवारी स्वीकार गरिसकिएको अवस्था हो ।  मलाई जति गर्व छ, आफू कुलुङ हुनुमा, त्यति नै गर्व आफ्नो पुर्खाप्रति छ । मेरा पुर्खा ठिङ्मेभाकले एकपटक राणाको कर्मचारी भोजपुरको दोभानेमा आउँदा दिउँसै राँको बालेका थिए रे । अनि राणाका कर्मचारीले किन दिउँसै राँको बालेको ठिङ्मेभाक ? भनेर प्रश्न गर्दा ‘मैले न्याय खोजेको’ भनी ठाडो उत्तर दिँदा त्यतिखेरको समयमा पाँच रुपैयाँ जरिवाना गरेका थिए रे ।

मेरा पुर्खाले मेरो गोठमा एक रातमा पचास भेडा ब्याउँछ, त्यति हर्जाना मलाई केही पनि होइन भनेका थिए रे । ठिङ्मेभाकका नातिहरू मेरा पुर्खा शंकरसिंह र पिर्तसिंहले कुलुपङ्खुमा बनाएको माने बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र आजपर्यन्त त्यही ठाउँमा छ । उहाँहरूले नै बनाएको इर्खवाखोलामाथिको फलामे साँघु धेरै समयसम्म प्रयोग भएको थियो रे । त्यो साँघु भएको चिन्न धेरै समयसम्म पनि थियो भन्ने कुरा मैले मेरो बडाबुवा, बुवा, काका र फुपूहरूबाट सुनेको हुँ । मैले योलगायत सबै मेरा पुर्खाको इतिहास मेरा परिवार र आफन्तसँग सोधेर उहाँहरूलाई थाहा भएको कुरा लिपिबद्ध गरेर राखेको हुँ, किनकि मलाई यसप्रति गर्व छ । यो इतिहास म पुस्तान्तरण गर्न चाहन्छु र यसलाई सधैं जीवन्त राख्न चाहन्छु ।

मित्र, म मेरो नाम अनिल राई भनेर लेख्ने गर्छु । यो देखेर केही कुलुङ जातिका अगुवा तथा केही चिनारु आफ्नो नामको पछाडि ‘राई’ को सट्टा ‘कुलुङ’ लेख्न सुझाउँछन् । यसमा पनि म केही नभनी शान्त बस्छु । आज मनका कुरा भन्न चाहन्छु । लगभग दस वर्ष अगाडि काठमाडौँ  छँदाको कुरा हो । म नजिकको आफन्तसँग हाम्रो जातिको हकहितका लागि खोलिएको संस्था पुगेको थिएँ । जान मन लागेर होइन, आफूभन्दा ठूलोको कुरा काट्न नसकेर । खै कुन दूतावासको सहयोगमा हो, त्यस संस्थामा केही प्रोजेक्ट सञ्चालनमा थिए । कार्यक्रमका लागि मनकारी कुलुङ समुदायको सहयोग पनि थियो होला ।

त्यतिखेर पनि मलाई आफ्नो नामको पछाडि ‘कुलुङ/तोमाछाङ’ कुलुङभित्रको पनि तोमाछाङ भन्ने थर हो । लेख्नुपर्छ भनेर त्यस संस्थाका अगुवाले भनेका कुरा याद आउँछ । त्यतिखेर मैले हाँसेर टारिदिएँ । तिनै अगुवा चार-पाँच वर्ष पछि भेट्दा उनको बोलीवचन, रहनसहन, लवाइखुवाइमा आकाश–जमिनको फरक देखें । प्रश्न उसको परिवर्तित शैलीको होइन, प्रश्न उनले कुलुङ जातिका लागि के–कति गरे भन्ने हो ।

दूतावासबाट आएको र सहयोगी हातले दिएको पैसा सही ठाउँमा सदुपयोग भयो कि भएन, कि उनको मात्र विकास भयो ? यसपटकको भेटमा पनि उनले मलाई आफ्नो डाइरी अगाडि सारेर मेरो सम्पर्क टेलिफोन नम्बर लेख्न आग्रह गरे । मैले मेरो नाम अनिल राई र सम्पर्क नम्बर लेखिदिएँ । यसपटक पनि उनले पहिलेझैं कुलुङ रतोमाछाङ भनेर लेख्न सुझाए, अनि यसपटक पनि मैले फिस्स हाँसेर टारिदिएँ । यदि एउटा पिछडिएको संस्थाको अगुवामात्र मोटाउनलाई हो भने किन त्यस्तो संस्था चाहियो र ? यति भन्दाभन्दै पनि असल कामका लागि खुलेका संघ–संस्थाप्रति मेरो सधैं इज्जत नै छ ।

अहिले सामाजिक सञ्जालको युग छ । तपाईंले फेसबुक पेजमार्फत कुलुङलाई गोलबद्ध गर्न खोज्नुभएको छ । रोग लागेर उपचार गर्न असमर्थ दुई कुलुङ दाजुभाइका लागि फेसबुकमार्फत सहयोग जुटाउन खोज्नुभएको छ । त्यसमा सफल पनि हुनुभएको छ । कुलुङ तथा गै कुलुङ जातिले पनि सहयोगी हात बढाउनुभएको छ । यस पुण्य कामका लागि म हजुरलाई नमन गर्न चाहन्छु, इज्जत गर्छु । म तथा मेरो परिवारबाट सकेको सहयोग भइरहनेछ ।

आशा छ उठेको रकम र उपचारमा लागेको खर्चको हिसाब सबै सहयोगीको जानकारीका लागि पारदर्शी तरिकाले सामाजिक सञ्जालमा राख्नुहुनेछ । यसो गर्दा पछि पनि सहयोग गर्न सजिलो हुने ठानेको छु ।  मेरो आमा पनि कुलुङ नै हुनुहुन्छ । मैले उहाँबाट कुलुङ कुरा सिक्ने भरपुर कोसिस गर्दै छु । हामी कुलुङ जाति पनि अरूझैं अघि बढ्नुपर्छ, हामीसँग दोस्रो छनोट छैन । मैले कुलुङ हुनुमा सधैं गर्व गरेको छु र गरिरहनेछु ।

यो मेरो प्रण हो । तर, यति भन्दाभन्दै म यो पनि भन्न चाहन्छु कि म कहिले पनि राजनीतिक रोटी सेक्नका लागि अरू गैरजनजातिप्रति गरिने भद्दा र उत्तेजक गालीको पछि कहिले लागेको छैन । मेरो ज्ञान सम्हालेदेखि नै यस्ता कुराले मलाई कहिले पनि आकर्षण गरेन । गैरजनजातिप्रति उत्तेजक टिप्पणी गरेर कस्ता–कस्ता कट्टर हिन्दु धर्मावलम्बी जनजातिलाई दसैंको टीका बहिष्कार गराउन सफल गोरेबहादुर खपांगीमगर कालान्तरमा राजाको हातबाट टीका ग्रहण गरेको टेलिभिजनमा देख्दा मलाई घिन लागेर आएको थियो । गोरेबहादुरले टीका ग्रहण गरे भनेर होइन, उनी आफ्नो विचारबाट च्युत भएको देखेर हो । उनै खपांगीले आफ्नो भाषणको भरमा टीका छोडाउन सफल भएका मानिस त उनले राजाको हातबाट टीका लगाएको देख्दा लाजले रातोपिरो नै भए होलान् ।

जिन्दगी सरल नभए पनि म सधैं यसलाई सरल तरिकाले जिउने चाहना राख्छु र जिन्दगीमा सधैं यही प्रयत्नमा छु । म मानिसलाई उसको जात, रङ वा धर्मले भन्दा पनि उसको चरित्र र उसको मनको आधारमा व्यवहार गर्न रुचाउँछु । म आफूलाई जातिवादी होइन, मानवतावादी ठान्छु । तथापि, कहिलेकाहीँ जनजाति हो, केही जान्दैन भनेर हेप्न खोज्ने गैरजनजातिलाई सवक सिकाउन कहिले पनि हिच्किचाएको छैन । त्यस्तै एउटा घटनामा त्रिभुवन विमानस्थलको इमिग्रेसनको कर्मचारीलाई झन्डै हातपातमै ओर्लिएको एउटा घटना हो । तर, एकाध मानिसले त्यसो गर्‍यो भन्दैमा सारा जातिमै खोट देख्ने पक्षमा चाहिँ म छैन ।

अन्त्यमा, म फेरि दोहोर्याउँ कि ‘म कुलुङ हो’ भन्नमा मलाई कुनै संकोच छैन । आफ्नो नामको पछाडि राई वा कुलुङ जे लेखे पनि मेरो परिचय फेरिने होइन । राई लेख्दैमा म कुलुङ नहुने कुरामा मलाई एकरत्ति पनि विश्वास छैन । एउटा मान्छेका रूपमा म सधैं त्यही रहनेछु, असल हुने कोसिस सधैं जारी नै छ र रहिरहनेछ । कुनै व्यक्तिको कुलुङ नै थर लेख्ने इच्छा वा छनोट हो भने पनि म त्यसको सम्मान नै गर्छु । जसरी तपाईंको विचारको म सम्मान गर्छु, त्यसरी नै तपाईंले पनि मेरो विचारको सम्मान गर्नुहुनेछ भन्ने आशा गरेको छु । हाम्रो मित्रता अझै दिगो र बलियो रहनेछ भन्ने आशा गरेको छु ।

ओलन्व (धन्यवाद) ।
तपाईंको मित्र
म अनिल राई

source: nayapage