बिदेशमा बस्नेलाई देशको के मतलब ?? - रामप्रसाद खनाल

कविता 
देश भित्रै बसेर
आमाको रगत चूस्न पल्केका
केही उडुस, किर्ना र जुकाहरु
पार्टी, नेता र तिनका दास बनेका
केही मुल्य बिहिन "सुका" हरु
नङ्रा खियाएर, खुन पसिना गरेर
परदेशमा आफ्नो पौरख पोखेर पनि
रेमिट्यान्स भित्र्याउने पौरखीहरुलाई
आफ्ना परिवारजन मात्र होइन
रगत, पसिना, जोबन सँग रेमिट्यान्स साटेर
देश चलाऊने देश प्रेमीहरुलाई
आजकल धारे हात लगाउँछन !
भूपु नेपाली भनेर बात लगाउँछन !
बिदेशमा बसेर नेपालको कुरा गर्ने ?? भन्छन
काम न काजका उडाइने "पाल" हरु
नचाइने कुरामा उर्लिने "छाल" हरु
खान मात्र जन्मेका खानका "काल" हरु
जता ततै चुहिने भएका "त्रिपाल" हरु !
के थाहा तिनलाई परदेशको पिँडा ??
के थाहा तिनलाई खुन र पसिनाको मूल्य ??
के थाहा ति जुकाहरुलाई रेमिट्यान्सको मूल्य ??
के थाहा तिनलाई बाध्यता र बिबशतामा बाँचेकाहरुको
बिदेशमा बस्दा पनि देशको माया मुटुमा सांचेकाहरुको
मर्म, बेदना र भावना, अहँ उनिहरु बुझ्दै बुझ्दैनन !
काम न काजका जोइटिंग्रेहरु
उनिहरु पनि बिदेशमा बस्ने पौरखीहरुलाई
डलर रुखमै टिप्छन भन्ने सोंचेका होलान
मस्ती गरेको छ भन्ने इर्श्याले
भूपु नेपाली भन्दै घोंचेका होलान
खोइ कुन्नी के के ! भनेर बुझेका होलान
तिनै दुवा तिर्किहरु ठुला ठुला कुरा गर्छन्
राजनीतिका नाममा आमा बेच्ने माग पुरा गर्छन्
लाज शरम पचेकाहरु
राजनीतिका नाममा आफ्ना स्वार्थ पुरा गर्छन्
लुट्छन देशलाई, भुट्छन आफन्तलाई
नेपाल आमाको बलात्कारमा रमाउँछन
राष्ट्रघातीहरुको झन्डा समाउँछन
र भन्छन !
तिमी बिदेशमा बस्नेलाई देशको के मतलब ??!!

भर्जिनिया, अमेरिका