वार्ता र नाका दुबै बन्द

काठमाडौं, २८ जनवरी, प्रमुख तीन दल र मधेसी मोर्चाबीच ५ माघ यता संवाद टुटेको छ । बालुवाटारमा तीन दल र मोर्चाबीच शीर्ष तहको वार्तामा प्रधानमन्त्री केपी ओली आक्रोशित रुपमा प्रस्तुत भएपछि वार्ता भाँडिएको थियो ।
प्रधानमन्त्री ओली र तमलोपा उपाध्यक्ष हृदयश त्रिपाठीबीच भनाभनसमेत भएको थियो । त्यसपछि वार्ता भएन, दलहरुले ९ माघमा संविधान संशोधन गरे । संविधान संशोधन भएपछि पनि न मधेसीले नाका खोले, न प्रधानमन्त्रीले वार्ता बोलाए।

‘संविधान संशोधनपछि मोर्चासँग संवाद भएको छैन,’ उपप्रधानमन्त्री तथा सरकारी कार्यदलका सदस्य भीम रावलले भने, ‘तर, हामी संवाद नै गर्न नसक्ने अवस्थामा पुगेको भने होइन ।

मध्यस्थकर्तामार्फत् वार्ता सुरु गर्ने मनस्थितिमा मोर्चा र सरकार छन् । तर, अविश्वासको वातावरण बढ्दै गएको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।