दुई चोटी किरिया, मान्छे भने जिउंदै



 पानीट्याङ्की (मोरङ): मर्यो भनेर दुईपटक किरिया गरिसकेपछि पनि ज्युँदै फर्केर आएका मोरङको आइतबारेका एक युवकलाई नयाँ जन्म गराउन आफन्तले भकारीमा लुकाएर राखेका छन्।

मरेको भनेर किरिया गरिसकेको मान्छेलाई त्यत्तिकै घरभित्र छिराउँदा धार्मिक दोष लाग्ने भन्दै गाउँले र धर्मशास्त्रीले दिएको सल्लाहअनुसार आफन्तले पुस २९ देखि ९ दिनसम्मका लागि कसैले नदेख्ने गरी भकारीभित्र लुकाएर राखेका हुन्।

पथरी शनिश्चरे–५ आइतबारेका सुस्तःमनस्थितिको अपाङ्गता भएका ९बोल्न नसक्ने० १८ वर्षीय भूपाल अधिकारी आठ महिना पहिले अचानक हराएका थिए। त्यसको केही हप्तापछि पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वनमा रहेको डम्पिङ साइटमा एक मानव कङ्काल फेला परेको थियो। त्यो कङ्काललाई नै गाउँले र आफन्तले हराएका भूपाल नै हुन् भनेर लुगाका आधारमा होमा हो मिलाउँदै पुष्टि गरेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय पथरीका तत्कालीन निरीक्षक रुद्र चुँडालले जलाएर नष्ट नगर्ने गरी माटोमा गाडेर मात्र अन्त्येष्टि गर्न कङ्काल आफन्तको जिम्मा लगाएका थिए। त्यसपछि भूपालका ठूलो बुबा रुद्र प्रसादले पहिलोचोटि मरेको भनेर भूपालको किरिया गरेका थिए। छोराको मृत्यु भएको खबर सुनेर वैदेशिक रोजगारमा गएकी आमा मनमाया घर फर्केपछि फेरि उनले छोरा भूपालको काजकिरिया गरेकी थिइन्।

बाबु टेकबहादुर अधिकारी सधैँ रक्सीले मातेर हिँडिरहने र घरपरिवारको समेत वास्ता गर्ने गर्दैनन्। यसैले मर्यो भनेर दुई–दुईचोटि किरिया गरेका व्यक्ति आठ महिनापछि अचानक फर्केर आएपछि गाउँले र घरपरिवार छक्क परेका थिए। केहीले भूपाललाई भूत हो भन्दै गाउँमा बस्न दिनुहुँदैन पनि भनेका थिए। तर मर्यो भनेका भूपाल जीवित नै भएको पक्का भएपछि गाउँलेले भूपाललाई तीन दिनअघि इप्रकामा हाजिर गराएका थिए। फर्केको व्यक्ति भूपाल नै भएको पुष्टि भएपछि आफूहरुले घरमा लैजान दिएको र तत्कालको कङ्काल कस्को थियो भन्नेबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक रमेश बस्नेतले बताए।

आमा मनमायाले प्रहरीबाट बुझेर भूपाललाई घर लगेपनि गाउँले र पण्डितले शुद्धशान्ति नगरी घरमा राख्न नहुने भन्दै दबाब दिएपछि आफूहरुले पनि भूपाललाई मङ्गलबारदेखि भकारीमा कसैले नदेख्ने गरी लुकाएर नयाँ जन्म गराउन पूजापाठ गरिरहेको नातामा हजुरबुबा पर्ने भुवनेश्वर पोखरेलले बताए। उनले मर्यो भनेर किरिया गरिसकेको मानिस ज्युँदै फेला परे नौ दिन कसैले नदेख्ने गरी घ्याम्पोमा राखेर फेरि नयाँ जन्म गराएर मात्र घरमा शुद्धशान्ति गरी घरमा राख्न पाइने धर्मशास्त्रको नियम रहेको बताए।

स्थानीय पञ्चायत उच्चमाविमा रहेको सुस्तःमनस्थिति स्रोत केन्द्रमा पढ्दै गरेका भूपाल बेलाबेला खोलातिर बालुवा खन्न पनि जाने गर्दथे। सोही क्रममा उनलाई आफन्त र गाउँलेले ट्र्याक्टरले किचेर मारेको आशङ्का गरेपछि प्रहरीले एक ट्र्याक्टर चालकलाई तत्काल पक्राउ गरेर केहीदिन थुनामा राखे पनि मृत्यु पुष्टि नभएपछि छाडेको थियो।

हाल पथरीस्थित काकाको घरमा भकारीभित्र लुकाएर राखिएका छोरा भूपाललाई भकारीभित्रै शौच गराउने र खानापानी दिने काम आमा मनमायाले नै गरिरहेकी छन्। फर्केर आएका भूपाललाई इसारामा कसैले कहाँ गएका थियौ भनेर सोध्दा सिक्किम गएको थिएँ भनेर भन्ने गरेका छन्। तर उनी सिक्किम गएको नभई नेपालभित्रैका कसैले घरायसी काममा लगाउन लगेको हुनसक्ने स्थानीयवासीको शङ्का छ।

रासस