भुकम्प पिडितको रकम हिनामिना नगरेको विष्टको भनाई


नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले संस्थाका बिरुद्धमा आएका हल्लाहरुप्रति आफ्नो ध्यान आकर्षण भएको भन्दै प्रेस बिज्ञप्ति निकाल्नु भएको छ  | भुकम्प पिडितलाई उठाएको चन्दा आफुहरुले हिनामिना नगरेको पनि उहाँले स्पष्ट पार्नु भएको छ | विष्टले जारी गर्नु भएको प्रेस बिज्ञप्ति यसप्रकार छ :



प्रेस विज्ञप्ति 
मिति: जनवरी २७, २०१६ | 
विगत केही दिन यता कतिपय अनलाइन समाचार माध्यम,सामाजिक संजाल र नेपालबाट समेत प्रकाशित हुने साप्ताहिक पत्रपत्रिकामा नेपाली जनसम्पर्क समिति,अमेरिकाको नाम जोडेर प्रकाशित भएका समाचारप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ | 

भ्रामक र कपोलकल्पित समाचार विना सोधपुछ जे जसरी प्रकाशित भएका छन्,त्यसका बारे समाचार प्रकाशित गर्ने सम्बन्धित संचार माध्यम र प्रकाशन गृहका संचारकर्मीहरुलाई खोज र अनुसन्धान गर्न समिति विनम्रतापूर्वक आग्रह गर्दछ | अन्यथा यस्ता स्तरहीन र कसैको चरित्र हत्या गर्ने किसिमले प्रायोजित ढंगका समाचार प्रकाशन गरेर जिम्मेवार संचार माध्यमले आफ्नो विश्वसनीयता मात्र गुमाएका छैनन्,राज्यको चौथो अंगको रुपमा सम्मानित पेशाकाप्रति समेत प्रश्न उठाउने अवस्था सिर्जना गरिदिएका छन् | यसरी प्रकाशित भएका समाचारमा कुनै सत्यता नरहेको समिति प्रष्ट पार्दछ | 
जहाँसम्म भूकम्प पीडितलाई उठाएको रक़म हिनामिना गरेको भनि यस संस्थाका जिम्मेवार व्यक्तिहरूलाई मुछेर लगाइएको आरोप अत्यन्त कपोलकल्पित र आधारहीन छ । उक्त सन्दर्भमा उठाइएको रक़मको हिसाब अत्यन्त पारदर्शी ढंगबाट संस्थाले राखेको हुनाले यस बारे सार्वजनिक भएको गलत आशयको समाचारको म घोर निन्दा गर्न चाहन्छु । समाजमा यस्ता भ्रम फैलाउनेहरूसँग सजग रहन र यस्ता दुराशयपूर्ण समाचारका बारे संस्थाले आवश्यक क़ानूनी क़दम चाल्न समेत सक्ने ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।
समिति पत्रकारिता पेशामा आवद्ध सबै संचारकर्मीहरुको योगदानको उच्च सम्मान गर्दछ | यस्तो सम्मानित पेशामा आवद्ध केही व्यक्ति विशेष र संचार माध्यमका गलत क्रियाकलापले गर्दा कतिपय अवस्थामा सम्पूर्ण पेशाका प्रति नै प्रश्न उठ्ने गरेको छ | तसर्थ यसतर्फ यस पेशागत संगठनको नेतृत्व तहमा रहने सबै संघ,संगठन र अग्रज संचारकर्मीहरुले गम्भीरतापूर्वक ध्यान दिनु हुनेछ भन्ने समितिको विश्वास छ | हरेक पेशाका आफ्नै अनुशासन र सीमा हुन्छन् | पेशागत आचरण,व्यवहार र निर्देशिका मात्र नभएर आचारसंहिता समेत हुने गर्दछ | तर सही र गलत के भन्ने नबुझी अनुमानका भरमा कोही कसैले कुनै निहीत स्वार्थबाट प्रेरित भई बदनियतपूर्ण तवरले प्रेषित गरेको समाचार समेत भन्न नमिल्ने सामाग्रीलाई प्रकाशन गर्नु कुनै पनि जिम्मेवार मिडियाको दायित्व नहुनुपर्ने हो | साथै यस्तो तथ्यहीन,भ्रामक समाचार प्रेषित गर्ने र यस्ता गलत हर्कतलाई प्रोत्साहित गर्ने गरी सामाजिक संजालमार्फत शेयर गर्ने सबैखाले गतिविधिका प्रति समिति निन्दा गर्दछ | यसमा समितिभित्रैका केही व्यक्ति विशेष र जिम्मेवार सदस्यहरुको नाम जोडिनु अर्को घोर निन्दनीय छ  | लोकतन्त्रको सुन्दर पक्ष भनेको आन्तरिक असहमतिका विषयहरुलाई आपसी छलफल र संवादका मार्फत सहमति निर्माण गर्नु र सोही अनुसार अघि बढ्नु हो भन्ने हेक्का यस्ता व्यक्ति विशेषलाई पनि हुनुपर्ने हो | तसर्थ म समितिको सभापतिको हैसियतले यसै विज्ञप्ति मार्फत यस्ता निन्दनीय र गलत अफवाह फैलाउने कार्य तत्काल बन्द गर्न सम्बन्धितहरुलाई आग्रह गर्दछु | 
नेपाली जनसम्पर्क समिति,अमेरिका अमेरिकामा रहेका नेपाली काँग्रेसमा वैचारिक आवद्धता राख्ने वाक एवं अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, लोकतन्त्र र मानव अधिकारको हितका पक्षमा निरन्तर क्रियाशील सबै आस्थावान व्यक्तिहरु सदस्य रहेको एक मुनाफारहित सामाजिक संस्था हो | समिति लोकतन्त्र,मानव अधिकारको हक,हित र वाक एवं अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लविङ्ग गर्ने अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो संस्था पनि हो,जो अमेरिकाको कानुन अनुसार विधिवत दर्ता भै संचालित छ | तसर्थ यसका सबै गतिविधिहरु पारदर्शी छन् र यसका हरेक सदस्यहरुलाई समितिका गतिविधि बारे जानकारी लिने अधिकार सुरक्षित छ | तर समितिलाई बद्नाम गरेर आफ्नो निहीत स्वार्थ पुरा गर्न सल्बलाई रहेका केही व्यक्ति विशेषले सिर्जना गर्ने यस्ता आधारहीन,अत्यन्त तल्लो स्तरको हर्कतहरुका कारण समितिका आम शुभेच्छुक,सदस्य र सहयोगीहरुलाई पर्न गएको अन्यौल चिर्नु हाम्रो जिम्मेवारी हो | तसर्थ केही व्यक्ति विशेषले सिर्जना गर्न खोजेको भ्रमका पछि नलाग्नु हुन समिति सबैमा आग्रह गर्दै मिडियाकर्मी मित्रहरुलाई समेत कर्तव्यवोध गर्दै र पेशागत छबीमा आँच पुग्न नदिनेतर्फ सचेत रहन आग्रह गर्दछ | 
धन्यवाद,

जय नेपाल |

(आनन्द विष्ट)
सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका


,