धुर्मुस सुन्तली नमुना बस्तीमा प्रधानमन्त्री दंग


काठमाडौँ जनवरी ३०। प्रधानमन्त्री के पी शर्मा ओलीले सगुन डटकमको सहकार्यमा निर्मीत धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीको अवलोकन गरेका छन् । भूकम्प गएको ३ महिनामै निर्माण सम्पन्न भएको काभ्रे डाँडा गाउँ स्थीत पहरी बस्तीको करिब नौ महिना पछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् । बस्ती अवलोकन पश्चात प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीको सामाजीक कामको प्रशंसा गरेका छन् । सरकारले पनि पुनः निर्माणको काम छिट्टै थालनी गर्ने उनले बताएका छन् ।

नाकाबन्दीको समस्या समाधानको संघारमा रहेको जिकिर गर्दै उनले नाका सहज पछि पुनः निर्माणमा पनि सहज हुने बताएका छन् । धुर्मुस सुन्तली एकिकृत बस्ती रहेको जमीन गुठीको नाममा रहेकाले घरधनीको स्वामित्वमा ल्याउनका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । एकिकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । त्यहाँका बासीन्दाले बाँकी रहेका पहरीहरुको लागि पनि त्यस्तै किसीमको घर बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । यस विषयमा पनि आफुले सक्दो सहयोग गर्ने प्रधानमन्त्री ओलीले संकल्प गरेका छन् ।

भूकम्प पश्चात अमेरिकामा रहेको कार्यक्रम छाडेर स्वदेश फर्किएका धुर्मुस सुन्तलीलगायतका कलाकार आफैँ खटेर ७७ दिनमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन् । अल्प संख्यक र पिछडीएको जाति पहरीहरुको दयनीय अवस्था रहेकाले २० परिवारलाई धुर्मुस सुन्तलीले घर निर्माण गरिदिएका हुन् । नमुना बस्ती निर्माणमा ठूलो खर्च लाग्ने भएपछि उनीहरुले सगुन डटकम लगायत विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगको अपिल गरेर सो कार्य सम्पन्न गरेका थिए ।

धेरैले अवलोकन र प्रशंसा गरेका एकिकृत बस्तीका हरेक घरमा धारा र शौचालय छन् । भूकम्पबाट सुरक्षित बस्तीमा बायोग्याँस, डिस होमलगायतका सुविधा पनि जडान गरिएको छ । एउटै शैलीका घरले निर्माण भएको बस्ती हेर्दामा पनि निकै राम्रो देखिन्छ । आफुहरुले भूकम्प गएको चार महिना नबित्दै भूकम्प प्रभावित पहरीहरुलाई बस्ती निर्माण गरीदिए पनि सरकारले अहिले सम्म काम अघि बढाउन नसकेको सिताराम कट्टेल (धुर्मुस) ले दुख व्यक्त गरेका छन् ।

भूकम्प प्रभावितहरुको दयनीय स्थीति रहेको भन्दै उनले पुन निर्माणका लागि निकै ढिलाई भईसकेको बताएका छन् । सक्रियता जनाउने हो भने भूकम्पले क्षतिग्रस्त हरेक बस्तीलाई नमुना बस्ती जस्तै बनाउन सकिने उनको दृढता छ । एक जोडी कलाकारले एउटा उदाहरणीय बस्ती निर्माण गरेर बाटो देखाईसकेकाले सरकारले चाहेमा यस्ता बस्ती सजीलै निर्माण गर्न सक्ने कुञ्जना घिमिरे सुन्तलीले बताएकी छिन् ।

निर्माण थालनी पश्चात धेरैले सहयोगी मन देखाएकाले नमुना बस्ती बनेको सम्झना गर्दै सबैको सहयोग रहेमा अन्य बस्ती निर्माणको नेतृत्व लिन पनि आफुहरु तयार रहेको उनको भनाई छ । गरिबी र पिछडीएको समुदाय आफुहरुको प्राथमीकतामा रहेको बताउँदै उनले महोत्तरीको मुसहर बस्तीलाई पनि नमुना बस्ती बनाउने चाहना रहेको सुनाएकी छिन् ।
 स्रोत: हाम्राकुरा डटकम