‘धैर्य गर्नुहोस् सरकारले काम गरेर देखाउँछ’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित भएको १०० दिन पुरा भएको छ । ओली गत असोज २४ व्यवस्थापिका संसदबाट ३ सय ३८ मत लिएर प्रधानमन्त्रीमा निर्वाचित हुदैं आम जनताले आशाका नजरले हेरेका थिए । तिव्र संकटको बीचमा प्रधानमन्त्रीमा निर्वाचित भए पनि ओली निकै उत्साही थिए । भनेका थिए, ‘युद्धस्तरमा काम गर्छु ।’ तर, सय दिन पुग्दै गर्दा ओलीको आलोचना सुरु भएको छ । ‘ओली बोलीमै खुम्चिए’ भनेर सञ्चार माध्यममा आलोचना जारी छ । के ओली बोलीमै खुम्चिएका हुन् त ? प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालसँगको कुराकानी प्रस्तुत छ :-



प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रुपमा हेर्दा कस्तो रह्यो सरकारको सय दिन ?

– सरकार गठन हुनु अघि नै तराइ मधेसमा आन्दोलन चलिसकेको र सीमा नाकामा आपूर्ति व्यवस्था असहज हुने गरी नाकाबन्दी लागिसकेको थियो । त्यसकारण यस अवधिमा सरकार यिनै चुनौतीहरुसँग जुध्दै अघि बढेकोले सयदिन चुनौतीपूर्ण रह्यो ।

एकदमै सामान्य नागरिकको रुपमा हेर्दा यो सय दिन कष्ट र पीडाको रह्यो नी है ?

– मैले भनिहाले नि संविधान जारी हुनुअघि देखि नै मुलुकमा जुन वितण्डता मच्चाइयो, त्यसबाट स्वाभाविक रुपमा आम नागरिक र सिङ्गो मुलुकले कष्ट र पीडा व्योहर्नु पर्‍यो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली बोलीमै खुम्चिए’ भन्ने टिप्पणी सुरु भएको छ, अहिलेसम्मको अवस्था हेर्दा यो टिप्पणी ठिकै हो होइन ? 

-प्रधानमन्त्रीले यो देशको समृद्धिका निम्ति जुन सपना देख्नु भएको छ, त्यसलाई उहाँले बोलीमा होइन व्यबहारबाटै प्रमाणित गरेर देखाउनु हुन्छ भन्ने मेरो विश्वास छ । सरकारको देश बनाउने कार्ययोजनालाई सबैले मिलेर सघाउने हो भने देशले फड्को मार्छ । अब कसले के निचोड निकाल्यो, त्यो तिनैले जान्ने कुरा हो । मेरो निश्कर्ष के हो भने यो सरकारले काम गरेर देखाउँछ । केही समय धैर्य गरे हुन्छ । व्यबहार मै देखिने छ ।

अब कसले के निचोड निकाल्यो, त्यो तिनैले जान्ने कुरा हो । मेरो निश्कर्ष के हो भने यो सरकारले काम गरेर देखाउँछ । केही समय धैर्य गरे हुन्छ । व्यबहार मै देखिने छ ।



शहरको चिया पसलमा चर्चा हुन्छ, ‘प्रधानमन्त्री ओलीले हसाउने बाहेक अरु काम गरेनन्’ तपाई आफै चाहिँ प्रधानमन्त्रीको घोषणाले कति हास्नुहुन्छ ?

-प्रधानमन्त्रीलाई असफल बनाउन एकथरि कथित बुद्धिजीवी, कथित व्यवसायिक सञ्चारकर्मी र सोसल मिडियाका केही कथित बाहकहरु छन् जसले प्रधानमन्त्रीको भनाइलाई उडाउने गर्छन् । प्रधानमन्त्रीले सामान्य मानिसले बुझ्ने गरी आफ्ना योजनाहरुलाई सार्वजनिक गरिरहँदा कसैलाई हाँसो उठ्छ भने त्यसबाट उसको मानसिकताको मापन गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले यसविचमा यस्ता धेरै घोषणा गरे, तर त्यो घोषणा आम मान्छेका लागि पनि ‘हाँसी मजाक’को बिषय बन्यो । तपाईको बुझाईमा नेपालीको मनोदशा नै निराशातर्फ उन्मुख हो या प्रधानमन्त्रीले यथार्थ बाहिरको कुरा गरेँ ?

– विगत लामो समयदेखि नेपालीको मनोदशालाई निराशातर्फ उन्मुख गराइएको छ । अहिले यसमा करेक्सन गरेर जनतालाई आशावादी बनाउने प्रयत्न भइरहेको छ । जनतालाई सपना देख्न र देखाउन कोसिस भइरहेको छ ताकि जनताले देशका लागि, आफ्ना लागि केही गर्न सकून् ।

यसमा प्रधानमन्त्रीले भविष्यप्रति आशा जगाउने कोसिस गरिरहनु भएको छ । हिजो राजनीतिक अधिकारका निम्ति दलहरु, नेताहरु र जनता संघर्ष गरे । अहिले संविधानसँगै त्यो प्राप्त भइसकेको छ । अब मुलुकको विकासका निम्ति प्रधानमन्त्रीले केही घोषणा गर्नुभएको छ । त्यसलाई अन्यथा लिनु हुन्न । उसोभए राजनीतिक अधिकार प्राप्त भइहाल्यो , अब के सुतेर बस्ने त ?

प्रधानमन्त्रीको हरेक जसो घोषणा खासगरी सामाजिक सञ्जाल र सञ्चार मध्यममा ठट्टाको बिषय बनिरहेको छ, कतै घोषणा सही हुँदा–हुँदै पनि तपाईँहरुले जनतालाई बुझाउन नसक्नुभएको हो कि ?

– यसमा यथार्थ छ । प्रधानमन्त्रीले गर्नुभएका घोषणाहरु सोच विचार गरेरै आएका हुन् । घोषणा गर्नु अघि त्यसबारेमा विज्ञहरुसँग परामर्श भएका छन् । त्यसका कार्यतालिकाहरुको तयारी भइरहेको छ । यी सबै कुरा हामीले आमरुपमा बुझाउने सम्बन्धमा केही कमजोरी भएका होलान तर जब घोषणा गरिएका योजनाहरुको कार्यान्वयनको चरण प्रारम्भ हुनेछ त्यसबेला सबैले ‘ए हिजो प्रधानमन्त्रीलाई हँसीमजाकको पात्र बनाउनु गलत रहेछ’ भनेर जिब्रो चपाउने छन् ।


प्रधानमन्त्रीको घोषणालाई एकदमै उडाइरहेको बेला एक वरिष्ठ सञ्चारकर्मी फेसबुकमा लेखे, ‘होइन हौ एमाले पत्रकारहरु कहाँ लुकेछन् ? नियुक्त लिनमा मात्र व्यस्त छन् की क्या हो ? उनका नेता विरुद्ध गलत ढङ्गले प्रहार हुँदा पनि ती एमाले पत्रकार कानमा तेल हालेर कि बसेका छन् ? किन जवाफ दिन सक्दैनन् ? कहाँ छन् सञ्चार सल्लाहकार ? उनको यो आलोचनाप्रति तपाईको धारणा ? 

-त्यो त मैले भन्ने कुरा होइन । प्रधानमन्त्रीले भन्नु भएका यी कुराहरु सम्भव नभएको होइन । त्यसैले उहाँहरू जस्ता पत्रकारहरुले पनि खोजीखोजी यस्ता विषयहरुमा कलम चलाउनु भयो भने जनता लाभान्वित हुने थिए ।

यो सरकारले गरेका राम्रो काम बारे बताइदिनु न जो सबै जनताले थाहा पाएनन् ?

– मूल कुरा यो सरकारले देश सानो होस वा ठूलो होस, कुनै पनि देशको सार्वभौमिकता समान र सम्मानजनक हुन्छ भन्ने कुरालाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमै स्थापित गर्न सफल भएको छ । राजनीति र राष्ट्रियताको मामिलामा यो सबैभन्दा महत्वपूर्ण उपलब्धी हो । अघिल्लो सरकार कै पालामा सुरु भएको मधेस आन्दोलन र नाकाबन्दीलाई सरकारले सहज बनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माण महाअभियानको सुरुवात भएको छ । संविधान अनुकूलका कानूनहरुको सुधारका लागि सरकारले संसदमा विधेयक दर्ता गराएको छ । कानुनमा सुधार हुनासाथ संविधानले प्रत्याभूत गरेका हक अधिकारको प्रभावकारी कार्यान्वयनको बाटो खुल्छ । संविधानबारे फैलाइएका भ्रमहरु चिर्न सरकार सफल भएको छ । तत्काल सुधारका कार्ययोजनाहरु अघि बढेका छन् ।

Source: http://www.nayapage.com/oped/52987