कमेडी नाइट विद कपिलकी पलक पक्राउ

एजेन्सी – भारतीय हाँस्य अभिनेता किकू शारदा अर्थात पलकलाई प्रहरीले पक्राउ गरेको छ । चर्चित भारतीय टेलिभिजन कार्यक्रम कमेडी नाइट्स विद कपिलमा पलकको भूमिकामा अभिनय गर्ने गरेका शारदालाई धार्मिक गुरु गुरमित राम रहिम सिंहको नक्कल गरेकोमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई हरियाणा प्रहरीले मुम्बईबाट पक्राउ गरेर अदालतमा पेश गरको थियो । अदालतले किकुलाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । धार्मिक गुरु राम रहिमका समर्थकले किकु विरुद्ध धार्मिक भावनामा आघात पुर्‍याएको भन्दै रिट दायर गरेका थिए ।
गएको वर्षको डिसेम्बर २७ मा प्रशारण भएको कमेडी नाइट विद कपिलमा किकु राम रहिमको रुपमा प्रस्तुत भएर उनको नक्कल गरेका थिए । त्यसपछि ३१ डिसेम्बरमा राम रहिमका समर्थकले किकु विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
किकुले आफ्नो ट्वीटरमा राम रहिमको नक्कल गरेकोप्रति माफि मागेका थिए । किकुले आफ्नो उद्देश्य दर्शकलाई मनोरञ्जन प्रदान गर्नु मात्रै रहेको र आफूले कुनै पनि धार्मिक भावनामा ठेस पुर्‍याउने उद्देश्यले नक्कल नगरेको बताएका छन् ।