कांग्रेस बैठकमा मोर्चाको अवरोध

जनकपुर, माघ १३, नेपाली कांग्रेसको क्षेत्रीय बैठकमा मधेसी मोर्चाका कार्यकताले अवरोध गरेका छन्। क्षेत्रीय अधिवेशनको तयारीबारे छलफल गर्न बसेको बैठक मोर्चा कार्यकर्ताले बिथोलेका हुन्। पार्टी महाधिवेशनको अन्तिम तयारीमा रहेको कांग्रेस पार्टीका गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको तीब्र तयारी चलेको छ।

क्षेत्रीय अधिवेशन तयारीका लागि झिटकोहियामा बैठक बसेको बेला मधेसी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष प्रमोद यादवसहितको समूहले अभद्र शैलीमा बैठक बिथोलेको हो।

बैठकमा केन्द्रदेखि क्षेत्र स्तरका गरी करिब चार दर्जनको संख्यामा काँग्रेस कार्यकर्ताको सहभागीता थियो। सोही संख्यामा पुगेको आन्दोलनकारीको समूहले कांग्रेस विरुद्ध चर्का नारा लगाउँदै अवरोध सिर्जना गरेको थियो। पहिले नै अधिवेशनलगायत पार्टीका सार्वजनिक कार्यक्रम नगर्न सचेत गराएपनि त्यसको वास्ता नगरेकाले बैठकस्थलमै पुगेर नारावाजी गरेको यादवले जनाए ।