महतो र भारतीय विदेश मन्त्री स्वराजबीच भेट, के भयो कुरा ?

काठमाडाैं-भारतीय विदेश मन्त्री सुषमा स्वराज र उपचारका लागि दिल्लीमा रहेका मधेसी मोर्चाका नेता राजेन्द्र महतोबीच भेट भएको छ। उक्त भेटमा भारतीय विदेश सचिव एस जयशंकर र नेपाल डेस्क प्रमुख सह सचिव अभय ठाकुर पनि साथै थिए।

मोर्चा सम्बद्ध दल सद्भावनाका अध्यक्ष समेत रहेका महतो एक्लै स्वराजसँग भेट्न पुगेका थिए।

उपचारका क्रममा दिल्लीमा रहेका नेपाल सद्भावना पार्टीका अध्यक्ष एवं मधेशीमोर्चा सम्बद्ध नेता राजेन्द्र महतो र विदेश मन्त्री स्वराजबीच शुक्रबार अपरान्ह जवाहर भवनमा भेटवार्ता भएको थियो ।
भेटका क्रममा मधेस अान्दोलन, नाकाबन्दी र सरकारसँग चलिरहेको सहमतिको प्रयासकाबारे विस्तृत छलफल भएको महतो निकट श्रोतले बतायो। विदेश मन्त्रालयमा भएको भेटमा विदेश मन्त्री स्वराजले सरकार र मोर्चाबीचको वार्ता र निरन्तर समन्वयबाट अहिलेको गतिरोध हट्ने विश्वास व्यक्त गरिन्।

नाका अवरोध हटाउनेबारे नेता महतो सकारात्मक देखिएनन्। उनले सरकारले मागको सुनुवाइ नगरे नाकामा झनै कडा अबरोध गर्ने बताएको महतो निकट श्रोतले बतायो।

महतोले सीमांकनसहित अाफ्ना माग पूरा नभएसम्म आन्दोलन नराेक्ने बताएका थिए।