चलचित्र 'तान्द्रो' अन्तराष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर हुँदै



काठमाडौं : १० वर्षे माओवादी जनयुद्धमा आधारित  छापामार गंगाबहादुर लामा ‘कोशिस’ले लेखेको पुस्तक ‘स्मृतिका डोबहरु’माथि निर्माण भएको फिल्म ‘तान्द्रो’ ढाका अन्तराष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर हुने भएको छ । निर्देशक साम्देन भुटियाले निर्देशन गरेको फिल्म आगामी माघ ४ मा ढाका अन्तराष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर हुने भएको हो।

सिक्किमका नेपाली निर्देशक साम्देन भुटियाले निर्देशन गरेको फिल्म आगामी माघ ४ मा ढाका अन्तराष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर हुँदैछ। महोत्सव आगामी पुस ३० देखि माघ ८ सम्म चल्नेछ ।

तान्द्रोको पटकथा भुटिया र कबड्डी सिरिज लेखक उपेन्द्र सुब्बाले संयूक्त रुपमा लेखेका हुन्। फिल्ममा दयाहाङ् राईले गंगाबहादुर लामाको भूमिका निभाएका छन्। त्यसैगरि फिल्ममा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, बुद्धि तामाङ, अरुणा कार्की, कमलमणि नेपाल, मणिराम पोखरेल, सृजना अधिकारी, जुनु विष्ट, शारदा अधिकारी, आर्जेश रेग्मी, शान्ति लामा, सुरज यादव, सपना खत्री, सुदाम सिके, सम्रान्त थापा, सुरेश कार्की र प्रनिशा खड्का लगायतले पनि अभिनय गरेका छन्।आधा सुरको संगीत रहेको फिल्मलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर्स र सतिश गौतमले निर्माण गरेका हुन्।


फिल्मलाई ब्ल्याक हर्स पिक्चर्स र सतिश गौतमले निर्माण गर्न लागेका हुन्। महोत्सवमा ‘तान्द्रो’ प्रिमियर सहित ‘सुनाकली’,’टकिङ टु द ऐयरु’ र ‘कमारो’ सहभागि हुँदैछन् । मोहमद मलास, एलिन टाक्सियन, यदोल्ला समादी, हैदर रिज्भि र गुल्बरा तोलोमसोभा महोत्सवका निर्णायकको रुपमा रहेका छन् ।

यो महोत्सवको तेह्रौं संस्करण हो । महोत्सव अन्तर्गत सिनेमा अफ वल्र्ड, नर्डिक फिल्म सेसन, चिल्डेन्स् फिल्म, सर्ट एन्ड इन्डिपेन्डेन्ट फिल्म, वमन फिल्म मेकर र स्प्रिक्चोल फिल्म्स् सेसन विधामा फिल्महरु प्रतिस्पर्धा गर्दैछन् । जर्मनी, हङकङ, कोसोभो, इरान, भारत, फिनल्यान्ड, ब्राजिल, अमेरिका, स्पेन, बेलायत, अष्ट्रिलिया, फिलिपिन्स् र हंगेरी लगायत ६० देशका एक सय ७० फिल्महरु महोत्सवमा प्रदर्शन हुँदैछन् ।