प्रमुख दल र मोर्चा सहमति नजिक, सोमबार लिखित सम्झौता हुने

काठमाडौँ-प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चा सहमतिको नजिकै पुगेका छन्। सिंहदरबारमा अाइतबार बसेको कार्यदलको बैठकमा मधेसी मोर्चा राजनीतिक समितिमार्फत प्रदेशको सीमा निर्धारणलगायतका विषयमा सहमत भएपछि अब सम्झाैता हुने करिव निश्चत भएको छ ।

बैठकपछि नेताहरुले सहमतिको एकदमै नजिक रहेको प्रतिक्रिया दिँदै आ–आफ्नो पार्टी र शीर्ष नेतासँग थप संवाद गरेर सोमबार नै सबै विषयलाई टुङ्गो लगाइने बताएका छन ।

मोर्चाका तर्फबाट पेस भएका ११ बुँदामा नै सहमतिको नजिक पुगेको जानकारी दिँदै नेताहरूले भोलि (सोमबार) साँझसम्म सकारात्मक निष्कर्षमा पुगिने उल्लेख गरे ।

नेपाली काँग्रेसका नेता एवम् कार्यदल सदस्य महेश आचार्यले सहमति हुने आधार एकपछि अर्को गर्दै तयार भएको उल्लेख गरे । नेता आचार्यले एकअर्काको धारणा र भनाइलाई अभिलेखीकरण गरिएको र साझा धारणा बनाउने प्रयत्न भइरहेको भन्दै सोमबारसम्म सहमति हुनसक्ने विश्वास व्यक्त गरे ।

एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले विगतको भन्दा ठोसरुपमा नै वार्तामा प्रगति भएको जानकारी दिए ।
“वार्ता एकदमै सकारात्मक भएको छ । व्यवस्थापिका–संसद्को अधिवेशन यही माघ ५ गते बोलाइएको सन्दर्भमा सो अगावै सहमति हुने आधार बनेका छन् । दुवै पक्ष समस्या समाधानप्रति गम्भीर देखिएका छन्”महराले भने ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले एकदमै सकारात्मक ढङ्गबाट छलफल भएको र सहमतिको नजिक पुगिएको प्रतिक्रिया दिए । उले पार्टी नेतृत्वसँग छलफल गरेर भोलि पुनः ३ बजे बैठक बस्ने र ठोस खाका तय गरिने बताए ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने “राजनीतिक समितिको अधिकार क्षेत्रको विषय र वैधानिकताको विषयमा लामै छलफल भयो । कार्यदल सहमतिनजिक पुगेको छ । पार्टीगत रुपमा नै छलफल गरेर भोलि टुङ्गो लगाउँछौँ ।”