डाक्टर र नर्स निदाएपछि बिरामिको ज्यान गयो

वीरगन्ज – नारायणी उपक्षेत्रीय अस्पतालमा डाक्टरको लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको छ । मधुमेह रोगको उपचारका लागि अस्पतालमा भर्ना भएका वीरगन्ज १९ नगुवाका ६३ वर्षीय वीरबहादुर कुर्मीको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले हेलचेक्र्याइँ गरेका कारण बिहीबार राति ज्यान गएको हो । कुर्मी उपचारका लागि गत शनिबार अस्पताल भर्ना भएका थिए ।

डाक्टर मनोज गुप्ताले कुर्मीको शरीरमा रगत चढाउने भनेपछि कुर्मीका आफन्तले वीरगन्ज रक्तसञ्चार केन्द्रबाट बिहीबार अपराह्न चार बजे नै एक पोका रगत अस्पतालमा ल्याएका थिए । सन्ध्याकालीन सिफ्टमा अस्पतालको सर्जिकल वार्डमा सिएमए रामेश्वरप्रसाद कुर्मी र स्टाफ नर्स दिवा देवकोटा ड्युटीमा थिए । ब्लडबैंकबाट रगत ल्याइसकेको जानकारी सर्जिकल वार्डका स्वास्थ्यकर्मीले गराए पनि उनीहरुले चासो नदेखाएको कुर्मीका छोरा कन्हैया पटेलले बताए ।

‘राति आठ बजे रगत चढाउने भनेका थिए,’ मृतक कुर्मीका पत्नी चन्दादेवीले भनिन्, ‘रगत ल्याएपछि डाक्टर र नर्स कोही आएनन् । अकालमा मेरो लोग्नेको ज्यान गयो ।’अन्नपूर्ण पोस्टबाट।