​जिनेदिन जिदान रियल मड्रिडको नयाँ प्रशिक्षक

काठमाडौं : स्पेनी क्लब रियल मड्रिडले आफ्ना प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकमा पूर्व खेलाडी जिनेदिन जिदानलाई नियुक्त गरेको छ।

रियलकै टिम बी को प्रशिक्षक रहेका फ्रान्सेली नागरिक ४३ वर्षका जिदानलाई बढुवा गर्दै पुरै टिम सम्हाल्ने जिम्मेवारी दिइएको हो। रियलकै पूर्व खेलाडी जिदानले प्रशिक्षक नियुक्तिपछि भनेका छन् 'म यो काममा मेरो पुरै मन मुटु लगाउनेछु जसले गर्दा सबै काम राम्रो हुनेछ।'

७ महिनाअघि रियलको प्रशिक्षक नियुक्त भएका बेनिटेजको अन्तिम खेलमा रियल आइतबार भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएको थियो। रियल अहिले स्पेनिस ला लिगा फुटबलको तेश्रो स्थानमा छ र उसको अंक पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिडको भन्दा ४ अंक कम छ।

फ्लोरेन्टिनो पेरेज क्लबको अध्यक्ष भएको १२ वर्षको रियलले जिदानलाई ११ औं प्रशिक्षकको रुपमा पाएको हो। क्लबसँग उनको सम्झौता अवधि भने खुलाइएको छैन। जिदानको प्रशिक्षणमा रियलले आउँदो शनिबार ला लिगामा आफ्नै घरेलु मैदानमा डिपोर्टिभो ला कोरुनासँग खेल्नेछ।

रियल मड्रिडले प्रशिक्षक बेनिटेजको बर्खास्तीको कारण खुलाएको छैन। बेनिटेजको प्रशिक्षणमा रियलले खेलेका २५ खेलमध्ये ३ वटामा मात्र हारे ब्यहोरेको छ। त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि पुग्न सफल भएको छ।

रियलले गएको हप्ता ला लिगामा रायो भ्यालेकानोलाई १०-२ को फराकिलो अन्तरले हराएको थियो। रियलले १९६० पछि पहिलोपटक यसै खेलमा दोहोरो अंकको गोल संख्या पुर्‍याउन सकेको हो। त्यस्तै रियलले घरेलु मैदानमा भएको खेलमा माल्मोलाई ८-० ले हराएको थियो। यी खेलहरु बेनिटेजको पालामा भएका उत्कृष्ट खेल मानिन्छन्। तर गएको नोभेम्बरमा रियल मड्रिड घरेलु मैदामा वार्सिलोनासँग ४-० ले पराजित हुन पुग्यो। यो खेलबाट प्रशिक्षक बेनिटेजको रक्षात्मक रणनीतिको आलोचना भएको थियो।