कांग्रेसमा सदस्यता विवाद, भण्डाफोर गर्ने देउवा पक्षको चेतावनी

काठमाडौं-महाधिवेशन आउन ५५ दिन बाँकी हुँदासमेत क्रियाशील सदस्यताको विवाद नटुंगिँदा कांग्रेसमा महाधिवेशन नै प्रभावित हुने आशंका गर्न थालिएको छ । महाधिवेशन प्रभावित गर्न सभापति सुशील कोइरालाले सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाउन आलटाल गरेको देउवा पक्षको आरोप छ ।

फरक मतसहितको प्रतिवेदनलाई कसरी लिने भन्ने विषयमा पनि विवाद देखिएको छ । संस्थापन पक्ष कार्यसमितिमा रहेको बहुमतको बलमा पेलेर एकलौटी रूपमा प्रतिवेदन उल्ट्याउने तयारीमा लागेको आरोप देउवा पक्षले लगाएको छ ।

समितिको कार्यविधिमा ‘समितिका सदस्यबीच मतैक्य भए संयोजकको निर्णय अन्तिम हुन्छ’ भनिएकाले संयोजकले हस्ताक्षर गरी बुझाएको प्रतिवेदन अब उल्ट्याउन नमिल्ने भनाइ देउवा पक्षको छ । केन्द्रीय समितिले प्रतिवेदन उल्ट्याउन खोजे भन्डाफोर गर्ने तयारीमा देउवा पक्ष लागेको छ । ‘बहुमतको बलमा प्रतिवेदन परिवर्तन गरियो भने ‘नोट अफ डिसेन्ट’ लेखेर हामी भन्डाफोरमा उत्रिन्छौँ,’ एक केन्द्रीय सदस्यले भने ।

यता, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले प्रतिवेदनलाई विवादित बनाउन देउवा पक्ष नै लागेको आरोप लगाए । ‘तीनजनाको समितिमा विवाद भएपछि त्यसलाई सभापति र महामन्त्रीको जिम्मामा दिइएको छ,’ बडूले भने, ‘निर्विवाद हुँदासम्म संयोजकलाई अन्तिम निर्णयको अधिकार हो, तर विवादित अवस्थामा उहाँहरूले नै पुर्‍याइदिनुभयो ।’