लस एन्जल्समा एसियन अमेरिकन तथा प्यासिफिक आइल्यान्डरको सल्लाहाकार प्रधानसंग अन्तरक्रिया हुने


उपेन्द्र सापकोटा

अमेरिका, २३ जनवरी / लस एन्जल्सका स्थानीय सङ्घ-संस्थाहरूले आयोवा राज्यको मानव अधिकार विभागको एसियन तथा प्यासिफिक आइल्यान्डर सम्बन्ध हेर्ने कार्यालयको कार्यकारी प्रमुखका साथमा ओबामाको एसियन अमेरिकन तथा प्यासिफिक आइल्यान्डर सम्बन्धी सल्लाह मन्डलको सदस्यको रूपमा कार्यरत संजिता श्रेष्ठ प्रधानसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम ३१ जनवरी २०१६ का दिन पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गर्न गईरहेकाछन । 

कार्यक्रम नेपाल अमेरिका एकता समाजले लस एन्जल्समा क्रियाशील पशुपतिनाथ तथा बुद्ध मन्दिर, नेपाली जन सम्पर्क समिति, फ्रेन्ड्स अफ नेपाल, बौद्धिक संसार, अमेरिका नेपाल चेम्बर अफ कमर्स, नेवा: अर्गनाइजेशन, मगर समाज, गुरुङ समाज लगायतका सङ्घ-संस्थाहरुसंग मिलेर गर्न लागेको एकता समाजको अध्यक्ष शारदा श्रेष्ठले बताईन ।  

प्रधानलाई अमेरिकी राष्ट्रपतिको एसियन अमेरिकन तथा प्यासिफिक आइल्यान्डर सम्बन्धी सल्लाह मन्डलको सदस्यको रूपमा मे २०१५ मा राष्ट्रपति बाराक ओबामाबाट नियुक्त भएकी हुन । सङ्खुवासभा जिल्लाको चैनपुरमा जन्मेकी प्रधानले धरान बिजयपुर् बोर्डिंगबाट एसएलसि, कृषि क्याम्पस रामपुर चितवनबाट बि.एससि र आईआईटि इन्डियाबाट एमबिए गरेकीछन । 

आफ्नो पढाई पुरा गरेपश्चात जर्मन सरकारको GTZ मा प्राइभेट सेक्टर प्रोमोसन प्रोग्राममा कार्यरत प्रधान २००६ मा श्रीमान र तीन वर्षे छोरासंगै डी.भी. प्रोग्राम अन्तर्गत अमेरिका आएकी हुन् । समाज सेवाको भावले प्रिन्सिपल फाईनानशियलमा मार्केटिंग अधिकृतको जागिर छोडेर शरणार्थीलाई सेवा दिने संस्थाहरूमा स्वयंसेविकाको रूपमा काम सुरु गरिन । आप्रवासीहरुलाई पर्ने चुनौती र समस्याहरू स्वयबाट समेत अनुभूति गरेकी प्रधानले कामको दौरान शरणार्थीहरुलाई पर्ने विविध प्रकारका समस्याहरू नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुका साथै समाधान समेत गर्दै गएकी छिन । 

सहज जीवन यापनको लागि अमेरिकी मुलधारमा शरणार्थी तथा आप्रबासीहरुको सामाजिकीकरण आवश्यक छ भनी महसुस गरेकी प्रधान सक्रिय रूपमा उनीहरूको जीवनस्तर सुधार्ने कार्यमा आफूलाई समर्पित गराएकी छन् । प्रधानले नेपाली समुदायले आफू र भावी सन्ततिको उज्ज्वल भविष्यको लागि समेत अमेरिकी मूलप्रवाहमा लाग्न उत्प्रेरित गराईरहेकीछिन् । समाज सेवाको भावले अन्य सङ्घ-संस्था र एजेन्सीहरुमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै उनीहरूको प्रतिनिधि भएर सार्वजनिक सेवा तथा राज्य सत्तामा समावेशिताको निमित्त समेत आवाज उठाउदै आएकी प्रधान अमेरिकी मुलधारमा स्थापित प्रथम नेपालीको रूपमा परिचित अनुहार हो ।

बेलुकी ७ देखि ९ बजे सम्म सञ्चालन हुने कार्यक्रममा सबैलाई उपस्थित भई जिज्ञास राख्न र अनुभव बुझ्नको लागि अनुरोध गरेकाछन ।

,