रातो पार्टी, कालो भबिश्य (कथा)



-सरगम भट्टराई

पुस २० को रात, आर्यनको घर छोड्ने रात, आफ्नो माटो, बाटो र मायालु परिवार  छोड्ने रात, अर्को तर्फ  सुनौला सपनाहरुको कोपिला लागेको रात, तर बेमेल र बेईमानी हुदै गईरहेको युद्दभूमि र भाट राजनीति छाडेर आफ्नै पसिनाको मोती फलाउन परदेश हिड्नु अघिको रात। मनमा अनगिंती आरोह अवरोहले निदाउन नसकिरहेको रात।

आर्यनको मानसपटलमा सबै घटना ताजै छन, बूढा बा आमा, अपांग भाइ, सुस्त मनःस्थितिकी बैनी अनि सम्पतिको नाममा एक हल गोरुको टारी खेत अनि र बले साहुको ऋण । गरीबीले थिचिएको ज़िन्दगी, बैंस नआउदै सुस्ताएका उसका बेचैन आँखा।

आर्यन कोल्टो फेर्छ,बिहान बेलुका घरको काम गरेर एक घन्टा पैदल हिडेर स्कूल जाँदै गर्दा भेट भएका एक जना राजनैतिक दलका नेता संगको जम्काभेट सम्झन्छ, ती नेताको कपडाले गाँठो पारी लगाएको तुना युक्त फाटेको चप्पल, झुत्रे कपडा तर उत्कृष्ट वाक्य शैली। अनि उनले बोलेको त्यो डायलग: 'वुर्जुवा शिक्षा हैन जनवादी शिक्षा आजको आवश्यकता हो', 'हामी गरीव र पिछडिएका वर्गका लागि लड्नुपर्छ', 'समाज परिवर्तनको लागि लाग्नुपर्छ, भ्रष्टहरुलाई जनकारवाही गर्नुपर्छ'...आदि आदि |

          त्यो बेलाको उम्लदो रगत, देशमा ब्याप्त असमानता र शासकहरुको भ्रष्ट प्रबृर्ति  र  आफ्नै गरीबी बिरुद्द उसले पनि लड्ने प्रण गर्यो | उसलाई लाग्यो यो बुर्जुवा शिक्षाको काम छैन | त्यो पुरानै धारको राजनीतिले काम छैन | यी पुराना संरचनाहरु काम छैनन | अवको लड़ाई अराजकता बिरुद्द हो, भ्रष्टताका विरुद्ध हो र ग़रीबीका बिरुद्द हो |

नयाँ नेपाल बन्दुकको नालले जन्मने कुरामा उ विश्वस्त भयो। मानौं उसमा एउटा वैचारिक कायापलट भयो।


देश र जनताको अगाडि परिवार केहि होईन,देश बने परिवार आफै बन्छ भन्ने मन्त्र घोकाईयो आर्यनलाई, उसले त्यो भत्किनै आँटेको घर छोड्ने भो, दीर्घ रोगी बाबा आमा छोड्ने भो, अनि निरीह भाइ र बहिनी छोड्ने भो, देस बदल्ने कसम खाएर आँफ्नो पढाईलाई बुर्जुवा शिक्षा ठानेर छोड्ने भो।

आर्यन सम्झन्छ ; जनयुद्दमा जनसेना भएको, रातारात डाँडाकाँडा छिचोल्दै जनकारवाहीमा हिडेको, कठोर मन बनाई युद्दको नाममा आफु जस्तै दाजुभाइको शिर छेदन गरेको, दुश्मनको सफाया भन्दै आफुजस्तै गरीबलाई संगीन रोपेको, र उनीहरुले एया बाबा भन्दै प्राण त्यागेको | सम्पति कब्जा गर्ने भन्दै बैंक तथा ब्यक्तिगत लूटपाट आदिमा बफादार सैनिक भई रात दिन खटेको पनि उसलाई हिजोजस्तै लाग्दछ ।

बेला बेलामा हुने प्रशिक्षण र सैन्य तालिममा आर्यनले गरेको वफादारिता र लगनशीलताको संगठनमा चर्चा हुन्थ्यो | पटक पड्कदा डराउने आर्यनको कोमल मन अब  बिध्वंसबाटै नयाँ नेपाल बन्छ भन्नेमा बिश्वस्त भएर लागेथ्यो । यदाकदा उसको मन मष्तिष्कमा आउने परिवारको यादलाई अव जिम्मेवारी र प्रतिज्ञाले बिषयान्तर गर्थ्यो |  उसको मायालु मन अब फ़ौजी चरित्रको भो, कठोर भो अर्थात कठोर बनाईयो।

           धेरै पल्ट बाल बाल बच्यो आर्यन | कहिले छातीकै छेउ भएर गोलीहरु हावामा उडे त कहिले हात खुट्टामा एम्बुसहरु पड्किए त कहिले उसप्रति लक्षित गरिएका हवाई फायरहरु अन्तै ठोकिए | जेहोस एकसरो ज्यानले शास फ़ेर्न पाईरह्यो, गोलीका छर्राहरु त उसका लागि सामान्य नै लाग्ने भए। एक दशकसम्म प्राण हत्केलामा राखेर एउटा बफादार सैनिक स्वतन्त्रताको नाममा अबिछिन्न लडिरह्यो...|

               एक दशकपछि राजनीतिले अर्कै मोड लियो । आर्यन लगायत योद्दाले लडेको लडाईको विराम हुने भो, अव फेरि आफुजस्तै दाजुभाइलाई एम्बुसहरु थाप्नु नपर्ने भो, शत्रुको सफाया भन्दै छप्काउनु नपर्ने भो । आर्यनले देखेको समानताको उषा आयो | विजयका ध्वनिहरु सुरिलो स्वरमा सुनिईरहे। आम मान्छेहरु समेतमा एउटा उमंगको संचार भयो, संविधान सभाको चुनावपछि आर्यनकै सहयोद्दाहरुले सरकारको बागडोर संहाले । परिबर्तनको एउटा जीवित साक्षी हुन पाउदा तिनताका आर्यनको चालढाल नै फरक थियो |

       आर्यनका घाउमा माम्री बस्न थाले, खुईलिएका घुँडाहरुमा छाला मासु पलाउन थाल्यो | त्योभन्दा बढि मन र मष्तिष्कमा नयाँ नेपालका नयाँ सपनाहरु पलाउन थाले। संमृद्द नेपालको नक्शा उसकै आँखा अगाडि नाँचिरह्यो। उसमा एकाएक मातृपितृ प्रेमको बाढी आयो, सेना समायोजनका प्रमाणीकरणका लागि अव ऊ सहितका साथीहरु लडाकु शिविरमा बस्नुपर्ने भो, शिविर जानु अघि घर जाने निधो गर्यो।

      आर्यन घर नजिकको चौतारो पुग्यो | चारैतिर संन्नाटा थियो, मान्छेहरु उसलाई देख्दा तर्सदै थिए, मानौं ऊ काल बनेर आईरहेको छ | मान्छेहरुलाई युद्द विराम भएको भनेर बिश्वाश भै रहेको थिएन । जे होस घर त जानु नै थियो, आर्यन घर पुग्यो। पिढीमा बुढा बा दमको रोगले थलिएका थिए, आमा सकि नसकी अगेनामा खोले पकाईरहेकी थिईन | सुस्केरा हाल्दै पिढीमा  झोला बिसाउदै आफ्ना बाबालाई ढोग गर्छ र भन्छ : बा म आएँ ! नौलो बिहानी लिएर आँए, अब गरीबका दिन लिएर आएँ, अब गरीबका दिन आए।

आमा ए आमा!  आस्था ! ए आस्था, अमन ए अमन हैन कता गयौं? म आएँ अब ! अब म आएँ नौलो बिहानी लिएर आएँ, कता गका तिमीहरु? एकै शासमा यती सबै भन्न भ्याएको थियो आर्यनले। उसको अनुहारमा चमक स्पष्ट देखिन्थ्यो।

   भित्रबाट आमा निन्याउरो मुख लिएर आर्यन सामु आउछिन, आमाको मनिलो अनुहार देखेर आर्यन हडबडाउछ, हैन  खो....... I खोई आस्था ? खोई अमन ? खोई माली गाई ? विरामी बाबुको आँखाबाट झरेका अविरल आँशुका धारा र थलिएकी, गलिएकी आमाको भक्कानोले शुभ संकेत गरेकै थिएन | कुनै अनर्थ भएको हुनुपर्छ भन्ने ठहर भो उसको। त्यसैले केही बोल्न सकेन आर्यन ।

त्यत्तिकैमा खेमु  काका आईपुग्छन, अमनलाई दाजु युद्दमा लागेको भनि सेनाले अनाहकमा यातना दिएर मारेको र आस्थालाई विद्रोहीको बहिनी भनेर निर्वस्त्र गरी सामुहिक बलात्कार गरेपछिको  पीडा सहन नसकी आत्महत्या गरेको खबर आर्यनलाई कुनै चलचित्रको कथा जस्तो लाग्छ। आफ्नो परिवारको यो विचल्ली सुन्दा उसले आफैलाई दोषी ठान्छ, एकचोटी चिच्याउन खोज्छ तर आवाज निस्कदैन।

भोलिपल्ट आर्यन ब्यारेक फर्कन्छ, लडाकुहरुको प्रमाणीकरण चलिरहेको हुन्छ | जे हुनु भैगो अब देश नै युद्दमा फँसेको बेला मेरा जस्ता हजारौं भाइ बहिनीको यस्तै हाल भयो, अब त लोकतन्त्र आईसक्यो, अब कसैले मर्नु पर्दैन भन्ने कुरामा बिश्वस्त हुन्छ।

परिस्थितिले कोल्टे फेर्छ, आर्यन लडाकुमा अयोग्य ठहरिएपछि घर फर्कन्छ, घर फर्कने बेला सम्म उसको बैंस र हिम्मत दुबै आफ्नो बाटो लाग्ने बेला भईसकेको थियो।  अभावको र रोगको ज़िन्दगी बाँचिरहेका बुबा र आमाको जिन्दगीमा हरियाली ल्याई अब घरजम गर्ने प्रण गर्यो आर्यनले । गाउकै रीतासंग बिहे गर्ने प्रस्ताव गर्यो।

यसै विच देशमा ठूलो राजनैतिक परिवर्तन भयो, सहयोद्दा नेताहरु सरकारमा गए, युद्द ताका आफ्नो प्यारो भाइ बैनी गुमाएको आर्यन काठमांडौ जान्छ | हिजोको संगीन घडीमा संगै लडेका सहयोद्दाहरुसंग आफ्नो पीडा पोखेर केही राहतको लागि अनुनय गर्ने सोच बनाउँछ।

       समय फेरिएछ, हिजो चप्पलमा कपडाको तुना बनाएर संगै लड्नेहरु आज चिल्ला कारमा सुट बूटमा सजिएका, अघि पछि दलबल, अनि तिनका पछि हनुमानहरु ! बडो अचम्मको दृश्य देख्दा  उसलाई कुनै उत्साह हुदैन। सहयोद्दा नेतालाई भेटेर  कुरा राख्न खोज्दा उनका पि. ए. ले ल तपाईको समस्या भन्नुस हामी मन्त्रीज्यूसम्म पुर्याईदिन्छौ भन्दा लाचार भएर मन नलागी नलागी समस्या टिपोट गराई  हतार हतार निस्कन्छ आर्यन।

थकित र गलित मन लिएर बाटो काट्दै गर्दा हिजो उसलाई बुर्जुवा शिक्षा नपढ्न सल्लाह दिने नेताहरुका छोरा छोरी बिदेसबाट पढेर फर्किदा चिल्ला सरकारी गाडीमा हुईकिएको देख्छ, संगै लडेको अर्को साथीको कुममा अड्केको गोलीको छर्रा निकाल्न नसकिरहँदा, आफ्ना बाबु आमाले सामान्य सिटामोल सम्म नपाउदा पार्टीका नेताहरु सिंगापुर र थाईल्यान्ड उपचार गराउन गएको समाचार अनि पत्र पत्रिकामा भ्रष्टाचारको समाचार देख्छ, काला बजारी , महँगी र सोर्स फ़ोर्स देख्छ, आम जनताहरु उस्तै दुरुस्तै देख्छ।
          आफ्नो जिन्दगीको सबैभन्दा उर्जाशील समयमा आफ्नो लागि केही नगरी संगठनको पछि लाग्दै परिवर्तनको लागि भनेर निर्दोष सेना पुलिसलाई मारेकोमा ग्लानी हुन्छ उसलाई । हिजोका कंगाल नेताहरुको आजको भड्किलो जीवनशैली देख्दा उ धिक्कार्छ आफैलाई।

घर पुग्छ , लामों सुस्केरा हाल्छ, बृद्द बाबु आमाको मनले धिक्कार छोरा भनेजस्तो लाग्छ |  भाइ र बैनीको भित्तामा झुन्ड्याएको फोटोले खुच्चिंग भनेजस्तो लाग्छ | के पाईय भनेजस्तो लाग्छ,लड़ाई अझै सिद्दिएको छैन भनेजस्तो लाग्छ।

लामों सुस्केरा हाल्छ, उफ! अब कस्तो लड़ाई लड्ने? कस्का लागि लड्ने? किन लड्ने? गोठमा माली गाई कराएको जस्तो सुन्छ, तर माली गाई त उहिल्यै बले साहुको भैसकेको हुन्छ। बिरालोले म्याँउ गरेपछि उसको तन्द्रा भंग हुन्छ।

           रीतासंगको बिहे पक्का हुने भो  आर्यनको, बिहे भनेपछि केहि खर्च त हुने नै भो, गाउका छिमेकी र साथी भाइ ईष्टमित्र त बोलाउनै पर्यो, युद्द ताका जस्तो जनवादी बिहे गर्न मन लागेन उसलाई। ब्यारेकबाट घर फर्किदा पाएको सानों रकम बिहेमै खर्च भो। अव बिरामी आमा बुवा सहित अर्को दायित्व थपियो। तीन जनाको परिवार चार पुग्यो।

   तीस नाघेको जीवन अहिल सम्म केहि गर्न नसकेको, घरमा जस्ता पाता लाउने बाबाको सपना, शिरफूल लाउने बूढी आमाको धोको अनि श्रीमती लाई एकसरो  गहना जस्ता न्यूनतम कुरा समेत असंभव थियो। गरीबीले ढपक्क ढाकेको आर्यनको जीवनमा वसन्त आउने छाँट थिएन। बाँच्नकै लागि केहि अवष्य गर्नु थियो ।

 आर्यनलाई फेरि नेताको गुलामी गर्न मनले दिएन, सत्तासीनहरु आ-आफ्नै दुनो सोझ्याउन ब्यस्त थिए, नातावाद घुसखोरी र महंगी त्यसमाथि कालाबजारीले एक प्याकेट नूनलाई समेत पचासको हाराहारी पर्न थाल्दा खोलेमा नुन हाल्न पनि धौ धौ पर्ने बेला भैसकेको थियो।

तर आर्यनलाई आफु यो हालतमा पुगेकोमा कुनै गुनासो थिएन, लूटको धनमा बाँच्न र बेईमानहरुको हनुमान बन्नुभन्दा त्यही गरीबीमा स्वतन्त्रता थियो, त्यसैमा आत्मसम्मान थियो। गुनासो यत्तिमा थियो कि उसले कहिल्यै नफर्कने गरी गुमाएका भाइ र बहिनीको अनाहकमा गुमाएको ज्यान र कैयौं निर्दोष दाजु भाइलाई मार्न गरेको निर्देशलाई लाचार भएर पालन गरेकोमा।

      जे भए पनि बाँच्नै पर्थ्यो, गाउँमा गरिखाने जेथा थिएन, ज़ागिर थिएन, अनि उ संग कुनै सोर्स फ़ोर्स थिएन, अझ तितो सत्य के भने उसंग कुनै शैक्षिक योग्यता पनि त थिएन। त्यसैले एक पटक खाडी मुलुकमा श्रम गर्न जाने निधो गर्यो।

रीतासंग वल्ल वल्ल अनुमति पाएपछि त्यो कठोर निर्णय बुढा भैसकेका बाबा आमालाई सुनाउदा उनीहरुको मनमा उठेका ज्वारभाटाहरु कुनै सुनामी आँधी भन्दा के कम थिए होलान र ? अब छोराले गरिसकेको निर्णयमा खुरुक्क मनले ल्याप्चे लगाउनुको बिकल्प नै के थियो र ? बुढेसकालको टेक्ने लौरो भाँचिदा ती बा आमाको मन कति रोए होला!

  रातभरि कोल्टे फेर्दैमा भाले बास्यो, अब बिदा हुने बेला भो। रीताको कपाल सुमसुम्याउदै आर्यनले भन्छ : सानु केहि गरी म मरेँ भने अर्को बिहे गर्नु ल! यसो भनिरहँदा रीताले मुख थुनेर रुदै भन्छिन:छि के कुरा गर्नु भएको हजुर त यत्रो युद्द जितेको मान्छे, त्यसमाथि लड्न जाने हो र?

          बा आमाले बिदाईको टिका लगाउँदा बगेको अश्रु धाराले गलवन्दी पूरै निथ्रुक्क थियो। प्रियतमा रीताको आँशुको त के कुरा गरौं र रातभरि रुँदा रुँदा गला सुकिसकेको र आँशु रित्तिसकेको प्रतित हुन्थ्यो।

      धेरै पर सम्म बिदाईको हात एक आपसमा हल्लाईरहे, मसाने डाँडाले नछेकुन्जेल परस्पर हातहरु हल्लिरहे...|
    रोएर मात्र के पुग्थ्यो र? बुढा सासु ससुराको रेखदेख र घरको कामले भ्याईनभ्याई हुन्थ्यो रीतालाई। मेहनत मजदुरीले जसोतसो जिन्दगी चलिरह्यो...|

    आर्यन क़तार पुग्यो, केहि दिनमै काम शुरु भो | घरमा फोन गरी आफु सकुशल आई काममा लागेको कुरा सुनायो। आफ्नो देशको बिकराल परिस्थिति, अबिकास, बेरोज़गारी र भ्रष्टाचार देखेको मान्छे खाडी मुलुकको मरुभूमिमा भएको बिकास  देखेर आर्यन दंग भयो | कठै मेरो देश आज रोईरहेछ, हजारौं शहिदले बगाएको रगतको अपमान भैरहेछ। लामो शास फेर्छ, अनि ती निकम्मा नेताहरु प्रति अझ घृणा जागेर आउँछ।

           चारैतिर अग्ला अग्ला घरहरु, आकासै छेड्लाजस्तो लाग्ने अग्ला घरहरुले मरुभूमि माथि एक छत्र राज गरिरहेका । घरहरुको बिचमा आफुलाई नितान्त एक्लो महशुस गर्छ, गैरी गाउको सल्लाघारी र देउरालीको चिसो पानी सम्झन्छ। त्यो ब्यस्त शहरमा आफ्ना सपनाहरु पसिनाले साट्न आतुर छ आर्यन।

  ५० डिग्री सेन्टीग्रेड सेरोफेरोको तापक्रममा दैनिक  दश घन्टा काममा जोतिनु युद्दकालमा ब्यारेक हाने भन्दा कम त थिएन तर यो लडाई पनि लड्नै पर्ने भो आर्यनका लागि! बाउन्न  तला अग्लो महल,गाउँको तारे भिर भन्दा अग्लो थियो, बाउन्न तल्लाको बाहिर पट्टि पेन्टिंग गर्नुपर्ने,कम्मरमा बाँधेको रसीलाई सारा ज्यान सुम्पेर समर्पण गर्दा सधैजसो नास्तिक हुने मनले सारा भगवान पुकारिरहेको थियो: हे भगवान! मेरो रक्षा गर।

     जे होस, आर्यनका रंगिन सपनाहरु फूल्न खोज्ने चेष्टा गर्दै थिए,काँडाहरुकै मध्यबिन्दु भएरै भए पनि। उसको कडा मेहनत र मुसुक्क मुस्काउने अनुहारले सबैको प्रिय भएको थियो काममा पनि।

  मेहनतको शिलशिला चलेकै थियो, हत्केलाका ठेलाहरु भित्र जमेको पानीले पीड़ा भन्दा खुशि बढि दिएको थियो, गगनचुंबी घरहरुको भित्ता पोत्दै गर्दा आफ्नो गरिबीलाई पनि पोत्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुने दिन आए आर्यनकोका।म सपनाको खेती गर्दिन,मैले भोगेको अतितले सचेत गराउनु पर्छ मलाई, बेला बेलामा आफैलाई खवरदारी गर्थ्यो आर्यन।

     त्यसैबेला ठूलो पहिरो आयो, भएभरको बढारेरै लग्यो, निर्जन त्यो अज्ञात ठाउँमा आर्यन र उसका सारा सपनाहरु पहिरो संगै पुरिए, त्यो भीमकाय पहिरोमा पुरिएको आर्यनमा दैवी शक्ति प्रबाहित भयो, आर्यन जुरुक्क उठ्यो र चिच्यायो : री..ऽऽऽऽऽऽऽ...ता...!!

          उफ!कति नराम्रो सपना पो देखेछु, टेबलमा रहेको एक बोतल पानी एकै शासमा पिएपछि घडी हेर्छ, रातीको एक बजेको हुन्छ। भोलि बिहानै सात बजे फेरि भित्ताहरुसंग लड्नु छ | ह्या म पनि के सपना देख्या होला! सपना भनेको सपनै त हो! फेरि पापी मन हो गाउँमा कतै पहिरो गयो कि? कतै बूढा भएका बाले संसार पो छाडे कि, कतै आमा वा रीतालाई पो केहि भयो कि? रातभरि निन्द्रा परेन,बिहानै घर फोन गर्यो आर्यनले।घरमा सबै ठिकै सुनियो, ढुक्कको लामो शास फेर्यो।

                परदेशी जिन्दगी न हो दिन दिनै उस्तै दैनिकी,खाली पानाहरु जति पल्टाए पनि उस्तै। आज काममा जाने मन छैन तर नगई भाछैन, घरमा सबै ठिकै छ भन्ने कुरा पनि पत्यार छैन, मन भर्र उडिरहेको छ।
       बाउन्न तला माथिको काम,केहि तल माथि हुँदा बित्तिकै सबै सपनाहरुको एकैपटक समापन हुने, तल हेर्यो आँखा रिंग्याउने, माथि हेर्यो आकासले गिज्याउने,ताता भित्ताहरुको एकतर्फी सहारा अनि कम्मरमा बाँधेको रसीको भर।

        खल्तीको मोबाईलमा नेपाली अनलाईन रेडियो बजिरहेको छ बिहानको ९:५० बजेको थ्यो होला अरबमा। रेडियोमा फत्तेमानको गीत बजिरहेको हुन्छ: मर्न बरु गाह्रो हुन्न,तिम्रो मायाँ मार्नै गाह्रो भो...|

      मध्यान्हको बाह्र बजेको नेपाल खबरमा समाचार आयो: नेपालमा भर्खरै ७.९ म्याग्निच्युटको शक्तिशाली भुकम्प गयो, हजारौं मान्छे हताहत भएको आशंका। आर्यनका नौनाड़ी गले, आँखा धमिला भए, चारैतिर अध्यारो लाग्न थाल्यो, कतै आड लाग्ने ठाउँ छैन, खस्छु खस्छु लाग्यो उसलाई, तर के नै गर्न सक्थ्यो र एकै छिनमा सबै साथीहरुलाई त्यो कारणिक ख़बर सुनायो, सबैका मुटुका धड्कन जोड जोडले धड्किए।

        सबैजना तल झरे, आ-आफ्नो घरमा फ़ोन डायल गर्न थाले, सबै सम्पर्क बिच्छेद भएको अवस्था थियो, कसैको घरमा पनि सम्पर्क भएन,सबैले बेचैन अनुहारले घरमा सबैको कुशलताको कामना गरिरहेका थिए। रेडियोले जे जे भन्छ त्यहि सुनेर आफ्ना आफन्तको कुशलताको अनुनय बिनय गर्नु मात्र एउटा बिकल्प रह्यो सबैसंग । केहिबेरपछि फेरि काममा तल्लीन हुनुपर्ने भो,मनभरि आँधि हुरी लिएर फेरि भित्ताहरुसंग साक्षात्कार गर्न जुट्यो आर्यन।

           जे होस, भोलि पल्ट घरमा सम्पर्क भयो, बा, आमा र रीतालाई केहि भएको रहेनछ, घर बाहिर भएकोले सबै जना बाँचेछन। बडो आस्तिक जस्तो भएर पशुपति नाथलाई सम्झन्छ आर्यन। त्यहि महाभुकम्पमा ८००० बढिको ज्यान जाँदा उसको परिवारमा कसैलाई केहि नभए पनि त्यो पुर्खौली घर भत्किएछ आर्यनको।

           त्यो बेलाको झरी, बाहिर पालमुनिको बसाई, अलि अलि भएको अन्नपात पुरिदा कति कष्ट भो होला ती बृद्द बा आमा र रीतालाई! उफ़ ! के गर्ने मर्नेहरु पनि त छन नि ! मेरा त कमसेकम बाँचेका छन नि है ! चित्त बुझाउछ आर्यन। बा पिर नमान्नु बा टिनले छाएको घर बनाउँला नि बा, अब झरी लाग्दा छाता ओढ्नु पर्दैन बा, केहि दिनमा नयाँ घर बनाउने पैसा पठाईदिन्छु बा।

       ज्यान मात्रै न अरबमा थ्यो, आर्यनको सबै मन त त्यहि भत्केकै घरमा थियो, हरेक क्षणहरु बा आमा र अर्द्धांगिनीसंगै थियो, यो संकटको घडीमा संगै भएको भए,यो आँशु र रगत बगेको बेला आफ्नै माटोमा भएको भए...... कमसेकम संगै रुन त हुन्थ्यो!

           यस्तै सुर्तामा डुबेको बेला आर्यनको कम्मरमा बाँधेको रसी दैव संयोगले टुट्छ, नजिकैको झ्यालमा एउटा हात गएर अड्किन्छ, आर्यन चिच्याउँछ: मलाई बचाओ! म बाँच्न चाहन्छु, मलाई मर्न मन छैन |  बूढा बालाई संझन्छ, आफूले गरेको बाँचा सम्झिन्छ | आमा सम्झिन्छ | बिहे गरेको केहि दिनमै छोडेर आएकी अर्द्धांगिनी संझन्छ।
 
    ५२ तलाको घर, माथि हेर्दै टाउको बंग्याउनु पर्ने, तमासा हेर्नेहरु धेरै भए तर बचाउन सक्ने कोहि भएनन, आर्यन चिच्याई रहेको थियो, अनि मनमनै सोचिरहेको थियो,बा! मलाई माफ गर्नू है ,मैले हजुरको टिनको घरमा बस्ने ईच्छा पुरा गर्न सकिन, आमाको बुलाकी र शिरफूल लाउने रहरसम्म पूरा गर्न सकिन, भर्खरै बिहे गरेकी श्रीमतीको एउटा तिलहरी लाउने रहर पूरा गर्न सकिन, म मर्ने भएँ आमा म मर्ने भएँ।

  एउटा हातको त्यो पनि झिनो सहारा न थियो, बाँच्ने सबै संभावनाहरु सकिए। उद्गार गर्न मिल्ने ठाउँ पनि थिएन,चार औलाले कति नै धान्थे र, आख़िर जे नहुनु भै गयो, हेर्न सक्नेहरु तमासा हेरिरहे, नसक्नेहरु आँखा चिम्म गरिरहेका थिए | एकै छिनमा ठूलो आवाज़ आयो, डुम्मऽऽऽ ! आमाऽऽऽ ! भन्न नपाउदैं प्राण पखेरु उड्यो आर्यनको |

  उता भत्केको घर नजिकै फाटेको मन टाल्दै त्रिपालमुनि बसेर सपनाहरु बुन्दै गरेका तीन जना परिवारले राहत लिएर आएको हेलिकोप्टर एक टकले हेरिरहेका थिए।
   
 केहि दिन पछि गाउँमा आर्यनको लाश रातों बाकसमा आईपुग्छ,कुनै संस्थाले दिएको त्रिपालमुनि बसेर ८० बर्षे बाबुले र २५ बर्षे श्रीमतीले किरीया गरेको हेर्न  कारुणिक दृश्य हेर्न आउनेको लामै भीड़ थियो । सबैले भन्थे : बिचरा !देश बनाउछु भन्थ्यो आज आफ्नो घर सम्म बनाउन नपाई मरेछ,नयाँ नेपाल भन्थे यस्तो पो रहेछ!

भृकुटी न.पा-६ कपिलवस्तु