वैदेशिक रोजगारीमा अंग्रेजी भाषाको महत्व -प्रकाश श्रेष्ठ


कुनै पनि व्यक्तीले आफ्नो भावना , विचार, धारणा, अनुभव आदीको अभिव्यक्ती अर्को व्यक्ती वा अर्को पक्षलाई दिनको लागी लिखित , सांकेतिक वा मौखिकरुपमा व्यक्त गर्ने माध्यम भनेकै भाषा हो । जवसम्म दुई पक्षहरुको विच आपसमा विचारहरुको आदान प्रदान गर्ने वा संचार गर्ने माध्यम /साधन भाषाको दोहोरो बुझाई स्पस्ट हुँदैन तव सम्म भन्न खोजीएको कुरा सहजै बुझ्न र प्रतिकृया दिन कठिनाई हुने गर्दछ|

 तसर्थ कुनै पनि व्यक्तीले भनेको कुरा सोही मुताविक अर्को पक्ष वा सरोकारवालाले बुझ्नको लागी दुवै पक्षले सजिलै बुझ्ने साझा भाषा हुनु जरुरी हुन्छ । आज दुनियामा यती धेरै भाषा छन् चर्चा गरेर साध्य छैन । नेपालमा समेत आदिवासी , जनजातीहरुले बोल्ने उनीहरुको मातृभाषाहरु निकै धेरै छन् तर पनि नेपाली भाषालाई एउटा सबैले बोल्न र बुझ्न सक्ने साझा भाषा , सम्पर्क भाषा , राष्ट्रिय भाषा, अफिसियल भाषाको रुपमा प्रयोग गरिन्छ |

जसले गर्दा एकथरी भाषा बोल्ने नेपालीले अर्को थरी भाषा बोल्ने नेपाली विच कुराकानी गर्दा नेपाली भाषाको प्रयोग गर्न सकिन्छ जस्तो की नेवारी बोल्ने व्यक्ती र मगर भाषा बोल्ने व्यक्ती विच कुराकानी गर्दा , संदेशको आदान-प्रदान गर्दा नेपाली खस भाषाको प्रयोग गर्न सकिन्छ । यसले दुवै जना वीच आफ्ना भनाई र विचार सजिलै राख्न र बुझ्न सजिलो हुन्छ ।
         त्यसैले हामी भन्न सक्छौ की भाषा निकै शक्तिशाली अस्त्र वा साधन हो यसको उचित ज्ञान र प्रयोगको अभावले विभिन्न असमझदारीहरु, समस्याहरु , कठिनाईहरु उत्पन्न हुन सक्छ तसर्थ सक्भर कुराकानीको सन्दर्भमा सजिलो , सरल र जनजिव्रोले बोल्ने भाषा, दोहोरो अर्थ नलाग्ने शव्दको प्रयोग भएको भाषालाई प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ । प्रत्येक देशमा आफ्नै राष्ट्रिय भाषाहरु प्रचलनमा रहेका हुन्छन् तापनि अहिलेको विश्वव्यापिकरणको युगमा विशेषगरी आफ्ना भाषा सँगै अंग्रेजी भाषाको ज्ञान र बोलीचालीमा अंग्रेजीलाई प्रयोग गर्न सके विश्वका जुनसुकै देशमा पुगे पनि भाषागत समस्याबाट भोग्नु पर्ने कठिनाई र असमझदारीहरुलाई सुल्झाउन सजिलो पर्ने हुन्छ ।

अझै बेलायत , अमेरिका , क्यानडा , अष्ट्रेलिया , न्युजिल्याण्ड लगायत सम्पन्न मुलुकमा रोजगारी, भ्रमणको शिलशिलामा जानुपर्दा अंग्रेजी भाषा बोलीचालीको रुपमा राम्रो सँग प्रयोग गर्न नसक्ने हो भने निकै ठुलो समस्यामा पर्न सकिने , जागिरमा राम्रो सँग काम गर्न नसकिने , राम्रो जागिर पाउन कठिनाई हुने र बसाईको क्रममा , दैनिक जीवनमा भाषागत समस्या आउन सक्दछ ।

हुन त चीन , जापान, कोरिया , रुस लगायत केही मुलुकमा अंग्रेजी भाषालाई विश्वविद्यालयमा अध्ययन -अध्यापनमा त्यती धेरै महत्वका साथ प्राथमिकतामा राखिदैन तापनि आजकल बढ्दो अन्तराष्ट्रीय व्यापार र विश्व सम्पर्क भाषाको रुपमा अंग्रेजी भाषालाई लिईने हुँदा यी राष्ट्रहरुमा समेत अंग्रेजी भाषालाई केही मात्रामा प्राथमिकता दिन थालिएको पाईन्छ । छिमेकी देश भारत कै कुरा गर्दा कतिपय प्रान्तहरुमा र लोकसभा(संसदमा ) समेत अंग्रेजीलाई चलन चल्तीको भाषाको रुपमा प्रयोग गरेको पाईन्छ ।

        विश्वका अधिकांश देशहरुमा अंग्रेजीलाई कामकाजको भाषाकै रुपमा लिईने गरिन्छ । बेलायत, अमेरिका, क्यानडा लगायत करिव ६७ देशहरुमा अंग्रेजीलाई मुख्य कामकाज , बोलीचालीको एवं अफिसियल भाषाको रुपमा र करिव २७ देशहरुमा सहायक(Secondary) अफिसियल भाषाको रुपमा प्रयोग गरेको पाईन्छ साथै करिव एक विलियन(One billion) भन्दा बढी मानिसहरुले आपसमा कुराकानी वा संचार सम्बन्ध राख्दा यसलाई प्रयोगमा ल्याएको अनुमान गरिएको छ ।

यसरी हेर्दा विभिन्न देशहरु वीच अन्तराष्ट्रियस्तरमा विभिन्न सम्बन्ध स्थापित गर्दा एवं विचारको आदान -प्रदान गर्दा, आयात -निर्यात व्यापार लगायत पर्यटकिय भ्रमण, अन्तराष्ट्रियस्तरका सभा, सेमिनार , सम्मेलन , गोस्टी आदीमा समेत अंग्रेजीलाई नै सम्पर्क भाषाको रुपमा प्रयोग गरिन्छ । विश्वका अधिकांश देशहरुमा अध्ययनको लागी जाने विद्यार्थीहरुले समेत अंग्रेजीमा TOEFL , IELTS जस्ता विशेष दक्षता जाँचिने परिक्षाहरु राम्रोसँग उत्तिर्ण गर्नु पर्ने अनिवार्यता रहन्छ । यतीसम्म की अमेरिका जानको लागी DV फर्म भर्दा न्यूनतम १२ कलास सरह अनिवार्य  उत्तिर्ण गर्नु पर्ने , क्यानडामा PR को लागी नेपाल लगायत विभिन्न मुलुकबाट अनलाईन आवेदन दिदाँ समेत सकभर डिग्री तहको अध्ययन हुँदा PR पाईने criteria मा पर्न सकिने सम्भावना बढी रहन्छ ।

 यसको अर्थ पनि मुख्यरुपमा अंग्रेजी भाषा जानेको , अंग्रेजीमा लेखपढ गर्न सक्ने , सजिलै वार्तालाप गर्न सक्ने व्यक्तीलाई छनौट गर्न सकियोस् , कुनै व्यक्ती ती देशमा गईसके पछि भाषागत समस्याबाट कुनै काम गर्दा कठिनाई महशुष नगरोस् भन्ने नै हो । अत: दिन प्रतिदिन अंग्रेजी भाषाको ज्ञान र बोलीचालीमा यसको प्रयोगको आवस्यकता बढ्दै गएको पाईन्छ ।

           मानौ तपाई अमेरिका, क्यानडा, बेलायत लगायत देशहरुमा रोजगारीका लागी जादै हुनुहुन्छ भने पहिला राम्रोसँग अंग्रेजीमा कुराकानी गर्न सक्ने , अंग्रजी बुझेर सजिलै वार्तालाप गर्न सक्ने हुनै पर्दछ यसको लागी अंग्रेजी भाषा सिकाउने राम्रो भाषा एकेडमी , भाषा सेन्टरबाट तालीम लिएर निपुर्ण हुनु आवस्यक छ तत्पश्चात आवस्यक सिप सम्बन्धी तालीम लिदा झन् राम्रो हुन्छ । कोरा हात र मुठ्ठी लिएर यी ठाउँहरुमा जाँदा तपाईलाई विभिन्न भाषागत समस्याले गर्दा सोचे जस्तो काम र तपाईले जानेका कुरा र सिपलाई प्रदर्शन गर्न नसक्ने अवस्था आउन सक्दछ जसले गर्दा तपाईले लिएको विश्वविद्यालयका सर्टिफिकेटहरुको भ्यालु कागजको खोस्टो शिवाय केही हुँदैन र आफैलाई आफ्नो पढाई र सिप प्रति धिक्कार्नु पर्ने अवस्था अनि आत्मगलानी एवं हिनातावोध समेत हुनसक्छ । तसर्थ यी देशमा नयाँ जाने व्यक्तीहरुले यी कुराहरुमा समयमै ध्यान पुर्याउनु जरुरी हुन्छ पछि गईसकेपछि पछुताएर कुनै अर्थ हुँदैन ।

        हुनत अमेरिका लगायत विभिन्न मुलुकमा गईसकेपछि पनि अंग्रेजी भाषाका कक्षाहरुमा सहभागी भएर पनि उक्त भाषा सिक्न सकिन्छ तर ती देशमा गईसकेपछि कामको समय मिलाएर भाषा कक्षा लिन कतिपय अवस्थामा समयानुकूल नहुन सक्छ । जस्तो की अमेरिकाको सन्दर्भमा कुरा गर्दा अंग्रेजी भाषा सिक्न चाहनेहरुले प्रत्येक स्टेटमा रहेका सामुदायिक स्कुलहरु(कलेजहरु) बाट प्रायः  निःशुल्करुपमा सहभागी हुन पाईने सामान्य ESOL (English for speakers of other languages) कक्षाहरुमा भर्ना भएर (आफ्नो क्षमतानुसारको तहमा ) अंग्रेजी भाषा बोल्ने , लेख्ने क्षमतामा अभिवृद्धी गर्न सकिन्छ र एड्भान्स लेभलको ESOL कलास लिएर आवस्यक क्रेडिट हासिल गरि कलेज तहको पढाईमा समेत प्रवेश गर्नलाई मार्ग प्रशस्त गर्न सकिने हुन्छ ।

यसरी हेर्दा अंग्रेजी भाषालाई नेपालमा समेत सार्वजनिक स्कुलको सानै तह देखि राम्रो सँग पठनपाठन गर्ने र क्याम्पस तहमा अनिवार्यरुपमा अंग्रेजी भाषा नै पठनपाठनको मुख्य माध्यम बन्न सक्ने र अफिसियल कामकाजमा समेत Secondary Official भाषामा अंग्रेजीलाई प्रयोगमा ल्याउन सकेमा आउँदो भावी पुस्ताहरुलाई भाषाकै कारणले विश्व श्रम बजार लगायत विदेशी विश्वविद्यालयको अध्ययन- अध्यापनमा समस्या देखापर्ने थिएन ।

        नेपालमा सार्वजनिक/ सरकारी विश्वविद्यालयमा नेपाली माध्यमबाट स्नातक , स्नातकोत्तर तह उत्तिर्ण गरेर वेलायत, अमेरिका लगायतका मुलुकमा गएका व्यक्तीहरुले समेत भाषाकै समस्याले सामान्यस्तरका कामहरु जस्तै स्टोर, ग्याँस स्टेसन, फास्टफुड स्टोर, होटल- रेष्टुरेन्टमा क्यासियर, क्लर्क , वयटर, कुकम्यान/सेफको रुपमा काम गर्नु पर्ने बाध्यतामा अल्झिएका छन् । नेपाली विश्वविद्यालयबाट राम्रै डिभिजन ल्याएर पास हुनेहरुले समेत पुन ती विकशित देशहरुका विश्वविद्यालयमा अध्यायनलाई निरन्तरता दिन , सरकारी कार्यालय , कम्पनीहरुमा अफिसियल काम गर्न नसक्नुको मुख्य कारण नै भाषागत समस्या नै ठुलो बाधक बनेको देखिएको र भोगिएको छ ।

अत: यस्तोखाले भाषागत समस्याबाट मुक्ती पाउन कि त स्कुलमा सानो तह देखि नै अंग्रजी भाषामा पाठनपाठन हुनु पर्यो जस्तो की नेपालमा निजी बोर्डिंग स्कुलमा यसकिसिमको व्यवस्था छ, कि त राम्रो, गुणस्तरिय अंग्रेजी भाषा सिकाउने भाषा स्कुल, तालीम सेन्टरमा गएर भाषा सिक्नु पर्यो । अर्को कुरा अंग्रेजी बाहेक विशेष भाषा कै आवस्यकता पर्ने देश जस्तो जापान, दक्षिण कोरिया, चीन, ताइवान, मकाउ, ईजरायल जस्ता देशहरु जाने हो भने जानु भन्दा पहिले त्यो देशको भाषा अनिवार्यरुपमा सिकेर जाँदा काम गर्न निकै सजिलो पर्न सक्छ ।

यसरी भाषागतरुपमा झेल्नुपर्ने सम्भावित समस्याबाट मुक्त रहन त्यही भाषामा दक्षता हासिल गर्नु नै समाधानको एकमात्र उपाय हो । हुन त ती देशमै गईसकेर भाषा क्रमश: सिक्न पनि नसकिने होईन, विस्तारै बोल्दै जाँदा सिक्न, जान्न सकिन्छ तरपनि यस्तो काम त्यती फलदायी र उपयुक्त हुँदैन किनकी भाषा सिक्न बढी समय बढी लाग्ने र भाषा सिकुन्जेल धेरै अवसरबाट बन्चित भईसक्नुपर्ने हुन्छ ।

   बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका