महाधिवेशन प्रतिनीधि विवादले कांग्रेसका शुभेच्छुक संस्थामा भाँडभैलो




रमेश पोखरेल 

काठमाडौँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागि हुने महाधिवेशन प्रतिनीधिका बिषयलाई लिएर नेपाली कांग्रेसका शुभेच्छुक संस्थामा भाँड भैलो मच्चिएको छ । १७ वटा शुभेच्छुक संस्था मध्ये अधिकांशमा महाधिवेशन प्रतिनीधिका बिषयलाई लिएर भाँड भैलो मच्चिएको छ ।

डेमेक्रेटिक लर्यस एसोसियसन र टे«ड युनियन कांग्रेस बाहेक सवैमा भाँड भैलो भएको बताइएको छ । यी दुई संस्था बाहेका कुनैले विवादका कारण महाधिवेशन प्रतिनीधिको नाम पठाउन  सकेका छैनन् भने शिक्षक संघ, प्रेस युनियन, नेपाल लोकतन्त्रवादी प्राध्यापक संघबाट पठाइएको नामावलीका बिषयमा पार्टी नेतृत्व र केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ ।

नेपाल सांस्कृतिक संघ, नेपाल प्रजातन्त्रवादी इन्जिनियस एसोसियसन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रजातन्त्रवादी चिकित्सक संघले अहिले सम्मपनि नाम पठाउन  सकेका छैनन् ।

नेपाल लोकतन्त्रवादी प्राध्यापक संघका तर्फबाट काँग्रेसको महाधिवेशनका लागि सिफारिस गरिएका प्रतिनिधिको नामावली बदर गर्न संघकै नेताले माग गरेका छन् ।

संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद गौतमको नेतृत्वमा गएको संघका पदाधिकारीसहितको टोलीले गलत तरिकाबाट प्रतिनिधिको सिफारिस गरिएको भन्दै बदर गर्न माग गरेको हो । पार्टीका कावा सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता दिलेन्द्रप्रसाद बडू लगायतलाई ज्ञापनपत्र बुझाइएको संघका कोषाध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

त्यस्तै प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल सहितका प्रेस युनियनका पदाधिकारीहरुले केन्द्रीय समितिलाई बाइपास  गरि पठाइएको नामावली खारेजीको माग  गर्दै केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरिएको छ । प्रेस युनियनले केन्द्रीय समितिको बैठक तत्काल आह्वानका लागि समेत अध्यक्षलाई बद्रि सिग्देललाई भेटेर आग्रह गरेको सचिव खिला कार्कीले जानकारी दिए । नेपाल  प्रेस युनियनको महिला बिभागले समेत समेत महाधिवेशन प्रतिनीधिको नामावली समावेशी नभएको भन्दै बदरको माग गर्दै उजुरी गरेको छ ।

त्यस्तै शिक्षक संघमा समेत समावेशी नभएको भन्दै महाधिवेशन प्रतिनीधि बदरको माग गर्दै उजुरी परेको छ । उपाध्यक्ष बिष्णु पाण्डेका अनुसार सिमिति व्याक्ती बसेर एक जना पनि महिलालाई सहभागि नगरिएको भन्दै उजुरी परेको हो ।

काँग्रेसको विधानको परिच्छेद ४, दफा १५, उपदफा दुईको ‘ग’मा शुभेच्छुक संस्थाको महाधिवेशनबाट पार्टीको महाधिवेशन प्रतिनिधि छान्नुपर्ने व्यवस्था छ । विधानको व्यवस्थानुसार महाधिवेशनबाट नछानिएको अवस्थामा केन्द्रीय समितिको पूर्ण बैठकले छनोट गर्नुपर्ने मान्यता भए पनि अध्यक्षहरुले एकलौटी तरिकाले महाधिवेशन प्रतिनीधि छान्न थालेपछि भाँडभैलो भएको हो ।


,