संयन्त्र गठन गर्न तीन बजे कार्यदलको बैठक

लहान–तीन महिनाभित्र सीमांकन विवाद सुल्झाउन कार्यदलको बैठक बस्दैछ। बुधबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको हो। भारत जानुअघि नै राजनीतिक संयन्त्र गठन गर्ने प्रतिबद्धता कार्यानवयन गर्न प्रधानमन्त्रीले मोर्चा र सरकारी कार्यदलस्तरीय बैठक बोलाएको मोर्चा स्रोतले जानकारी दिएको छ।

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओली यसअघि नै संयन्त्र बनाउने ठोकुवा गर्दै आएका छन्। राजनीतिक संयन्त्र गठन गर्ने लगायतका विषयमा छलफल गर्न बुधबार तीन बजे कार्यदलको बैठक बोलाइएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए। मोर्चाको कार्यक्रममा सहभागी हुन बुधबार विराटनगर आउने क्रममा महतोले भने,'बैठकमा मोर्चा सर्तसहित प्रस्तुत हुन्छ।'

उनले मधेसमा दुई प्रदेश बनाउन सहमत भएमात्र राजनीतिक संयन्त्रको अर्थ हुने बताए । 'राजनीतिक संयन्त्र गठन गर्नेमा मोर्चा तब मात्र सहमत हुन्छ जव संविधानको अनुसूचीमा मधेसमा दुई प्रदेश मात्र भनेर लेखिन्छ,' महतोले भने। मोर्चाले आन्दोलनको क्रममा भएका घटनाको आडमा मोर्चा कार्यकर्तामा माथि भएको धडपकड रोक्नु पर्ने, सहिद परिवारका लागि घोषणा गरिएको १० लाख राहत रकम सहिद परिवारसम्म पुग्नुपर्ने, आन्दोलनमा घाइतेहरुको उपचार खर्च उपलब्ध गराउनुपर्नेलगायतका सर्तहरु मोर्चाको तर्फबाट कार्यदलले बैठकमा सर्त प्रस्तुत गर्ने महतोले बताए ।