देउवाको सम्झनामा सुशील कोइराला




२३/२४ सालतिर एउटा कार्यक्रममा सहभागी हुन म बनारस गएको थिएँ । भर्खरै जेलबाट छुटेको थिएँ । कार्यक्रममा मैले पहिलोपटक सुशील कोइरालालाई भेटेको थिएँ ।

 त्यसपछि बिपीलाई भेट्न काठमाडौं आउँदा उहाँसँग दोस्रो भेट भयो । उहाँ गिरिजाबाबुसँगै आउनुभएको थियो । त्यसपछि भने भेटघाट अलि बाक्लिन थाल्यो । केही समयपछि प्लेन हाइज्याकिङ काण्डमा उहाँलाई जेल हालियो । आममाफी पाएर उहाँ ३६ सालमा भारतीय जेलबाट नेपाल फर्कनुभयो । जनमतसंग्रह सकिसकेको थियो ।

त्यतिवेलादेखि नै उहाँ गिरिजाबाबुको सहयोगी भएर काम गर्नुहुन्थ्यो । उहाँले गिरिजाबाबुको एकदमै निकट रहेर काम गर्नुभयो ।

उहाँ अत्यन्तै सौम्य, शालीन र भलाद्मी नेता हुनुहुन्थ्यो । राम्रो कुरा गर्नुहुन्थ्यो । पहिलो भेटमै मलाई उहाँ भलाद्मी लागेको थियो । लोभलालच गर्नुहुन्नथ्यो । जीवनभर उहाँको स्वभाव, व्यवहार र दैनिकी एकनासको रह्यो ।

उहाँ पनि बिपी र गिरिजाप्रसादलाई निकै मान्नुहुन्थ्यो । ३९ सालमा बिपीको निधनपछि गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाबाबु तीनजना नेता हुनुहुन्थ्यो । सुशीलजी र मैले पनि उहाँहरूसँगै काम गर्‍यौँ । भावनात्मक रूपमा उहाँसँगको सम्बन्ध कहिल्यै नराम्रो भएन । सँगै राजनीति गर्दा पनि गिरिजाबाबुसँगै हामी धेरै कुरा सोध्थ्यौँ । उहाँ पहिलेदेखि नै अलि कम बोल्ने स्वभावको हुनुहुन्थ्यो ।

पछि कांग्रेस सभापति र प्रधानमन्त्री हुनुभयो । उहाँकै त्याग र योगदानबाट संविधान पनि आयो । यो नेपाल, नेपाली र कांग्रेसका लागि खुसीको कुरा हो । बिपी र गिरिजादेखिको सपना पूरा भएको छ ।

उहाँको निधनले पार्टीलाई मात्र होइन, देशलाई नै अपुरणीय क्षति भएको छ । संविधान ल्याउन उहाँको महत्त्वपूर्ण योगदान थियो । तर, संविधान कार्यान्वयन गर्ने वेलामा उहाँको निधन भयो । उहाँले देख्नुभएको संविधान कार्यान्वयनको सपनालाई हामीले पूरा गर्नुपर्छ । उहाँले छाडेर गएको छापलाई पनि पूरा गर्नुपर्छ । उहाँको शोकलाई शक्तिमा बदल्नुपर्छ । सबै मिलेर अघि बढ्नुपर्छ ।

मृत्यु हुनुभन्दा तीन–चार दिनअघि उहाँसँग भेट भएको थियो । उहाँको निवासमा बैठक भयो । म महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा अघि बढ्दै थिएँ । उहाँ पनि सभापतिको उम्मेदवार बन्नुहुन्छ भन्ने लागेको थियो मलाई । म पनि अधिवेशनका काममा लागेको थिएँ । उहाँ पनि आफ्नै तयारीमा हुनुहुन्थ्यो । त्यसैले अन्तिम अवस्थामा हामीबीच धेरै भेटघाट भएन । हामीबीच संविधान कार्यान्वयन गर्ने र कांग्रेसलाई सबल बनाउनेबारे कुराकानी हुन्थ्यो ।

माघ २६ गते बिहान साढे २ बजेतिर उहाँको निधनको खबर पाएँ । मीनेन्द्र रिजालले फोन गर्नुभएको थियो मलाई । खबर आएलगत्तै म महाराजगन्ज पुगेँ । उहाँलाई रुघाखोकी लागिरहन्थ्यो । अरू ठूलो रोग लागेकोबारे थाहा थिएन । तर, उहाँ बिदा हुनुभयो ।