एक महिनाभित्रै चीन भ्रमण हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं फागुन,३ - प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्रै चीन भ्रमणमा जाने बताएका छन्। राजधानीमा आयोजित इन्टरनेश्नल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीजको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण सकेलगत्तै चीन भ्रमणमा जाने बताएका हुन्।
प्रधानमन्त्री ओली ७ गतेदेखि भारत भ्रमणमा जाँदैछन्। भ्रमणमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने ओलीले बताए। 'देशमा जारी विसम परिस्थितिका कारण दुई देशबीच केही तिक्कता उत्पन्न भएको थियो। त्यसलाई सुधार गर्न भारत भ्रमणमा जान लागेको हो। यसले दुई छिमेकी देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिएका छौं,' उनले भने।
उनले आन्दोलनका कारण गरिएको भारतका विभिन्न नाकाको अवरोध हटिसकेको स्मरण गराउँदै भारत भ्रमण फलदायी बनाउने बताए।
कार्यक्रममा एसियका विभिन्न देशका प्रतिनिधिहरु सहभागी छन्। कार्यक्रममा कम्बोडियाका उपप्रधानमन्त्रीको पनि सहभागिता छ। त्यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल पनि कार्यक्रममा सहभागी छन्।