रंगमञ्च : हँसाउँदा–हँसाउँदै रूवाउने ‘दाँतको डोब’

काठमाडौँ, ७ फागुन-उमेर एउटा डुंगा हो, जसले आफ्ना पाइला कहिल्यै नदेखिने गरी मेट्दै हिँड्छ । तर मानिसको मन यस्तो क्यामेरा हो, जसले हरेक पाइलाको तस्बिर खिचेर एल्बम बनाइराखेको हुन्छ । र, त हामी हरेक फुर्सदमा तिनै एल्बम पल्टाउँछौं र विगतको ‘नोस्टाल्जिया’मा डुब्छौं । भलै त्यो समय कहिल्यै फर्केर नआओस्, त्यसको मधुरतामा आनन्दित हुन्छौं र अमिलोमा अमिलिन्छौं ।
थिएटर भिलेजमा २८ माघदेखि मञ्चन भइरहेको नाटक ‘दाँतको डोब’ त्यस्तै नोस्टाल्जिक एल्बम हो जीवनको । हुन त यो एल्बम लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको व्यक्तिगत हो । तर त्यसमा सप्पै दर्शकले कतै न कतै आफ्नो जीवनको रंग मिसिएको पाउँछन् । आफ्नो अनुभूतिमा सार्वभौम रंग घोलेर नाटकमा उतार्न खगेन्द्र कति खप्पिस छन् भन्ने अर्को उदाहरण हो ‘दाँतको डोब’ ।
नाटकको कथा सामान्य छ । शत्रुवत् सम्बन्ध भएका दुई स्कुले किशोर र तिनीहरूबीचको प्रेम नै नाटकको मूल कथ्य हो । स्कुले जीवनमा बाँडिने खाजा, खेलिने खेल र गरिने चकचकको चित्र नाटकमा जीवन्त छ । बलको आडमा गर्ने दादागिरी र त्यसबाट उत्पन्न हुने त्रासदीको कथा पनि उत्तिकै आएको छ । देउसीभैलो, पटका पड्काउनेजस्ता बालसुलभ उत्सवले पनि नाटकलाई बालापनको रंग दिएको छ । नाटकको कथा सामान्य छ, तर महत्वपूर्ण छ भन्नका लागि नाटकभित्रै कथा बुनिएको छ । मूल कथामा प्रवेश गर्नुअघि जोडिएको कथाले एउटा सन्देश दिन्छ– स–साना घटना पनि मन छुने नाटकको विषय बन्न सक्छ । त्यसमा एउटा प्रश्न देखिन्छ– विदेशी नाटककै पछि लागिरहनुपर्ने आवश्यकता के छ र ? नेपाली थिएटरलाई नेपाली नाटक खोज्न उत्प्रेरणा पनि हो यो ।
उमेरदार कलाकारले स्कुले किशोरको भूमिकामा पनि सुहाउने अभिनय गरेका छन् । केन्द्रीय पात्र लोकनाथको भूमिकामा अनोज पाण्डे र हरिप्रसादको भूमिकामा प्रकाश दाहालको अभिनयले प्रभाव छोड्छ । अनोजले घटनाकाल र कथावाचनकालको चुनौतिपूर्ण दोहोरो भूमिकालाई न्याय गरेका छन् । प्रकाश दाहालले आफ्नो अब्बल अभिनय क्षमता गज्जबले प्रस्तुत गरेका छन् । निर्माणको चापमा राजेश सिटौलाको मिहिनेत कम भएको हो कि भन्ने लाग्छ । भूमिकाअनुसारको भाव परिवर्तनमा उनले केही मिहिनेत गरे अझ प्रभाव देखिन्थ्यो । कमल देवकोटा र सुनु राईलाई नृत्यले बढी चम्काएको छ । शिशिर शिवाकोटी र रोहित पौडेल ‘नोटिसेबल’ छन् । रोहितबाट अझै मिहिनेत आशा गर्न सकिन्छ । दीपिका ढकालले आमा र साथी तथा विनिता थापामगरले निर्देशक र साथी दुवै भूमिकामा प्रभाव छाड्छन् । हरिप्रसादका आमाको भूमिकामा रेनुका कार्कीको अभिनय जीवन्त छ । समग्रमा कलाकारले नाटकको जीवनलाई रहरलाग्दो बनाएका छन् । विकेक भट्टराईको संगीतले नाटकमा संवेदना तीव्र बनाउँछ । कम ‘प्रप्स’ प्रयोग गरेर निर्माण गरिएको मञ्चमा पनि ग्रामीण परिवेशको अनुभूति दिन सक्नु नाटकको अर्को बलियो पक्ष हो । नाटक यथार्थवादी छ, त्यसैले विम्ब सीमित देखिन्छन्, तर जति प्रयोग गरिएका छन्, ती प्रभावशाली छन् । लोकनाथको घमण्डको सिङलाई नाटकमा जसरी ‘भिजिबल’ बनाइएको छ, त्यसको बलियो प्रभाव पर्छ । तुलसीको मठ, बग्गी खेल, पाइपको मोटर आदिको प्रयोगलाई पनि बिम्बको कोणबाट व्याख्या गर्न सकिन्छ । प्रकाशलाई भने अझै प्रभावकारी बनाउने ठाउँ छ ।
हँसाउँदै–हँसाउँदै अन्तिममा रुवाउनु ‘दाँतको डोब’को प्रभावशाली पक्ष हो । बालापनको सम्झना र उट्पट्याङमा रमाउँदै बसिरहेका दर्शकलाई नपत्याउने तालले गम्भीर पारेर हलबाट निकाल्छ नाटकले । तर नाटकको कमजोरी पनि यसैभित्र छ, खगेन्द्रले नाटकलाई संवेदनशील बनाउने घटनामा बढी ध्यान दिएका छन् । तर घटनाको कारण खोज्नेतिर असाध्यै कम लागेका छन् । नाटक हेरिसकेपछि दर्शकको मनमा केही प्रश्न उठ्छन् । जस्तो कि, लोकनाथ र हरिप्रसादबीच सत्रुताको खास पृष्ठभूमि के हो ? हरिप्रसाद किन दिल्ली भागेर जानुको खास कारण के हो ? उसलाई कसरी गम्भीर रोग लाग्यो ? यी प्रश्नका उत्तरको घुर्मैलो संकेतमात्रै नाटकमा छोडेका छन् खगेन्द्रले । जसले अरू त केही होइन, नाटकको ‘कन्टेन्ट’माथि हुने बहसबाट खगेन्द्र थाहा नपाउने चालले भागेका छन् । एउटा कोणबाट हेर्दा यसमा उनको सफलता देखिन्छ, अर्को कोणबाट हेर्दा कमजोरी । तर नाटक हेरिसकेपछि मनमा लाग्ने कुराचाहिँ फेरि पनि त्यही हो– साना लाग्ने घटनामा पनि मन छुने नाटक बन्दो रहेछ ।

त्यसो त उनका अरू नाटक र सिनेमाले पहिल्यै प्रमाणित गरिसकेको तथ्य हो यो । उनको पटकथा र अभिनय रहेको सिनेमा ‘पशुपतिप्रसाद’ले पाएको चर्चा अझै सेलाइसकेको छैन । त्यही तातोमै उनले दिएको यो नाटकमा पनि दर्शकले त्यो ‘खगेन्द्रत्व’ पाउँछन् । उनको निर्देशकीय क्षमताबारे अनजानका लागि यो एउटा अवसर पनि हो ।