उजेलीलाई चिट्ठी

सरगम भट्टराई .


प्यारी बहिनी उजेली,

मुटु भरिको माया !

उजेली ! तिमीलाई प्रतिनिधि पात्र बनाएर सबै भुकम्पले थलिएका तन मनहरुलाई यो पत्र लेख्ने शाहस जुटाएको छु ।कहाँबाट शुरु गरुँ थाहा छैन मलाई |

तिम्रो निन्याउरो अनुहार, त्यो अबोधपन तर तिम्रो महान सोँचप्रति नतमस्तक हुदै तिमी र तिम्रा आफ्नाहरुप्रति केहि सान्त्वना, केहि सद्भाव र राज्यको गैरजिम्मेवारी प्रति केहि आक्रोसका हरफहरु कोर्दैछु । तिमी र तिमी जस्तै अध्यारोका उजेलीहरुसम्म यो पत्र कुनै आत्मीय मनले अवश्य पुर्याईदिनेछ भन्ने बलियो अपेक्षा छ मेरो ।

हो, मनहरु भाँचिने रहेछन, आशाहरु थिचिने रहेछन | भुकम्पमा थिलो थिलो भएर भाग्यले बाँचेका ज्यानहरु पुस माघको जाडोमा अरुले ल्याईदिने न्यानो कुर्दै  बेचैन भएका आँखाहरुमा आँशु देख्दा, अनुहारमा शोक भोक र रोग देख्दा कसको मन नरोईरहन कसरी सक्थ्यो र ? मेरो मन पनि द्रविभूत भयो | साझा सवालको यो कार्यक्रम हेर्ने सबैका आँखाबाट आँशु खसेजस्तै मेरा आँखाबाट पनि आँशु खसे |

एकाएक सारा जमिनले चचहुँई खेल्दा म पनि तिमीले जस्तै धर्तीसँग पौठेजोरी खेलेको व्यक्ति हुँ | पाँच महिनाकी गर्भवती श्रीमती र सत्तरी नाघेकी सुगर रोगले गलेकी बिरामी आमालाई दुईतिर च्याँपेर यताउता पछारिँदा बाँच्छु भन्ने त कहाँ लागेको थियो र ?  सबैभन्दा पहिले आफ्नै जीवन प्यारो लाग्ने रहेछ। भाग्यले बाँचेकोमा खुशी हुनु नै पर्ने रहेछ।
हामीलाई भुकम्पले दर्फ़राएको पनि दश महिना भईसकेछ, हाम्री छोरी कृष्मा समेत पाँच महिना पुरा गरिन् । यसै बीचमा च्यातिएको त्रिपालको मुनि कैयौं नानीबाबुहरुले आकास ओढेर मृत्युसंग लड्नु परेको कुरा मेरो मानसपटलमा झलझली आईरहेको छ।

हो उजेली ! यस्तो बिपदको बेला सरकारले न्यानो पार्नु पर्ने हो, संस्थाहरुले उज्यालो पार्नु पर्ने हो, हितकारी मनहरुले मन खोलेरै सहयोग गर्नुपर्ने हो तर सबै प्रयासहरु समुन्द्रमा एक लोटा पानी खन्याएसरी भएका छन । कतै कनिका छरेजस्तै छ त कतै केहि पुगेकै छैन ।

त्यसैले त तिमी जस्ता धेरै उजेलीहरु अझै पनि अध्यारोमा छौ | अशिक्षाको भुमरीमा छौ | तर पनि, तिमीले जस्तै पबित्र मन लिएर आफ्नो देश र समाजको हितका लागि आँशु बगाएका छौ | त्यसैले त ती अध्यारोका उजेलीहरु सिंहदरवारका भारदारभन्दा प्रिय र पूजित छौ र हुनेछौ।

तिमीलाई थाहा छैन उजेली तिमी जस्ता भुकम्प पिडितका नाममा देश बिदेशबाट कति सहयोगको बर्षा भयो अनि यो कुरा पनि थाहा छैन कि तिम्रै भागको राहत खाएर कैयौं स्वनामे समाजसेवीहरु मोटाएका छन। पूर्वप्रधानमन्त्री प्रचण्डकी नातिनीलाई भुकम्प पिडित बनेर चीनको भ्रमण गर्ने अवसर मिल्यो तिमीलाई धरहरा पल्टिएको सूचना समेत पाएकी रहिनछौ |

दलगत स्वार्थले चुर्लुम्म डुबेका हनुमानहरुले कतै त्रिपालहरु निले | जस्तापाता, राशन, लत्ता कपडा, औषधि, पैसा के आएन तिम्रा नाममा ?  तर ति सबै मिलिभगतमा हजम भएका छन् | पुनर्निर्माणको नाममा सरकारी ढुकुटीमा नाङ्गो रजाईं गर्नेहरु पैसाको ब्यबस्थापन कसरी गर्ने भनेर चिन्तित छन् | तिम्रो बस्ति भने आफ्नै भोटको शक्तिले मन्त्री बनेको महानुभावको साक्षात उपस्थित हुदा पनि उनलाई चिन्न पनि सक्दैन।

 हो ! उजेली तिमीलाई थाहा थिएन धरहरा ढलेको, अब त धरहरा साथै यो देशमा ईमान र स्वाभिमान पनि ढलेको छ | मानवता र हार्दिकता पनि तिम्रो हाम्रो घरजस्तै ढलेको छ | तिमी जस्ता कैयौ उजेली भुकम्प, रोग, भोक र अशिक्षाले थिलोथिलो हुँदा देशको लागि केहि माखो नमारेका भ्रष्ट भूतपूर्वहरुको सुबिधा देशको ढुकुटीको रित्तिने गरि बढाईरहँदा लाज समेत मान्दैनन उजेली ! त्यसैले अब तिमीले त्यो अधेरीमा उजेली बनेरै ज्योति छर्नुपर्छ | आँखै अगाडी ढलेका ती दलिनहरु ठाडो पार्न र आफन्तहरुको आत्मा शान्त पार्न पनि तिमीहरुले बोल्नु पर्ने हुन्छ ।

आज म बिद्रोहका हरफहरु लेख्दैछु, बिमतिका दफाहरु लेख्दैछु | किन लोकतन्त्रको आँखाले तिमी जस्ता उजेलीहरु देख्दैन ? किन दैब जस्तै लोकतन्त्र निष्ठुरी बनिरहन्छ ? किन लोकतन्त्र, गणतन्त्रले आश्वाशन मात्र बाँड्छ ? अचेल शहरमा दिनदिनै ठूला मान्छेहरुको भ्रष्टताको मुख्य समाचार बन्छ | राहतको राशनको निर्लज्ज बेचबिखनको समाचार चर्चित हुन्छ तर उजेली, यहाँ तिम्रो नाम भजाएरै मान्छेहरु मोटाएका छन, तर तिमी हामी जस्ताको हालत कसैले बुझ्दैन, तिमी हामीहरुको जलेको मुटुमा कोहि किन शितल हावा बनेर आउदैन?

उजेली तिमीले नदेखेको काठमांडौ पनि यस्तै छ | भारतले लगाएको नाकावन्दीले तहस नहस छ | आधा सिलिण्डर ग्याँसको लागि शास धानेर लामबद्द छन मान्छेहरु | डिजेल पेट्रोलको लागि मान्छेहरु बाटोमै बास बसिरहेछन | मधेसमा आन्दोलनको आगो बालिएको बालियै छ | सरकार मति हराएजस्तो कहिले के भन्छ कहिले के भन्छ ! नेताहरुले आफ्नै दल सम्हाल्न सकेका छैनन् | सरकारलाई सिंहदरबार कै भागबन्डा मिलाउन हम्मेहम्मे भएको छ |

यसो भनेर लोकतन्त्र खराबै हो भन्ने होईन उजेली | दुई चार जना खराब निस्कनाले ब्यबस्थै खराब हो कि भन्ने धेरैलाई लागेको छ अहिले। समय ढल्दै जाँदा सबै ठिक होला तर त्यतिन्जेल बाँच्ने पो कसरी हो र ?

प्यारी उजेली, मलाई थाहा छ तिमी र तिम्रा आफन्तहरुको त्रिपाल हिउँले पुरिएको छ | न्यानो लुगा छैन, खाने अन्न छैन, गाउँमा कतिखेर खाद्यान्न आउँछ र खाउँला भन्ने आसमा आँखाहरु थाकिसकेका होलान| जाडोले भुन्टी र च्यान्टीहरु निष्लोट भए होलान | तिमीले भनेजस्तै तिमी र तिम्रा गाउँमा सुख आउने छाँटकाँट छैन तर हरेश नखानू | कालो रात पछि अवश्य उज्यालो दिन आउने छ | बिहानी उषाको लालीले तिमी र तिमी जस्तै अध्यारोका उजेलीहरुका भबिष्य उज्ज्यालो बनाउने छ।

सुन्दैछु तिमीलाई कुनै हितकारी मनले काठमांडौ ल्याउदै छन रे ! उनीहरुलाई धन्यवाद दिनु | काठमांडौ आउदैमा तिमी पनि नवभारदारहरुको ललिपपमा काठमांडौ खाल्डोमा नहराउनू ! तिमी काठमांडौमा चेतना र बिकासको जूनकीरी बनेर उदाउनु | निदाएकाहरुलाई झकझक्याउनु | निदाएको बहाना गरेकाहरुको चेतनालाई सिस्नो लगाउनु | तिमी झिलिमिली बजारमा आएपनि अझै कैयौ उजेलीहरु तिम्रै बाटो कुरेर त्यही अँध्यारोमा बसिरहेका छन | उनीहरुलाई कमसेकम तिमीले चाहि नबिर्सनु ल !

- भृकुटी न. पा. -६ कपिलवस्तु

,