किन भएन संयुक्त पत्रकार सम्मेलन ?

काठमाडौं फागुन, १३– प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ । नयाँ संविधानको व्याख्यामा साझा शब्द राख्न भारतले नसक्दा र दुई देशबीचको असमझदारी हटेको भन्ने शब्द राख्न भारतले नमान्दा संयुक्त वक्तव्य नै तयार भएन ।
नेपाली अधिकारीहरुले संशोधनपछिको संविधानलाई स्वागत गर्दै बाँकी विषय पनि छलफलबाटै समाधान हुने भाषा प्रयोग गर्न प्रस्ताव गरेका थिए । तर, भारतीय पक्षले ८ फागुनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिलाई उल्लेख गर्नुपर्ने अडान राखेको थियो । मोदीले नयाँ संविधान उल्लेखनीय उपलब्धी भएको र यसको सफलता दुबै पक्षको आवाज समेट्दा मात्रै हुने भन्दै संवाद र सहमति गर्न आग्रह गरेका थिए । तर, भारतीय पक्ष अन्तिमसम्म सहमत नभएपछि संयुक्त व्यक्तव्य नआएको कुटनीतिक स्रोतहरुले बताएका छन् ।