राजधानीमै पानीको नली छोएको निहुँमा दलित महिलामाथि कुटपिट




विजय थापा

वाशिंगटन डिसी ।

काठमाडौमा पानीको नली छोइएकै निहुँमा दलित महिलामाथि निर्मम कुटपिट भएको छ । टोखा, चण्डेस्वरी, कोटाल-६ निवासी कमला नेपालीमाथि यस्तो घटना हुन पुगेको छ ।

टोखामा पीडित नेपाली लामो समयदेखि जग्गा खरिद गरी आफ्नै निवासमा छोरा, बुहारी, नाति, नातिनीसँग बस्दै आएकी छिन् भने उनका पति रोजगारको सिलसिलामा मलेसियामा छन् । फागुन ३ गते ४:३० बजे सोही गाउँका शान्ता केसीसँग पानीको निहुँमा भनाभन भएपछि घटनाले ठूलो रुप लिन पुग्यो ।

शान्ता केसीले कमला नेपालीलाई जग्गा बेचेकी थिइन् ।  घर भूकम्पले क्षति भएपछि निज केसी कमला नेपालीसँगै नजिक घर बनाई बसेकी थिइन् ।  केसीहरुले प्रयोग गर्न पानीको नलीबाट चुहिएको पानी कमला नेपालीको परिवारले प्रयोग गर्दै आएका थिए ।  तर पछिल्लो समयमा शान्ता केसीले आफ्नो धाराको नलीको पानी तल्लो जात दमिनी भन्दै नदिने भन्ने गरेकोले बेला बेलामा भनाभन भइरहन्थ्यो ।

उक्त दिन यही विषयलाई लिएर केसीहरुले कमला नेपालीकै घरमा आएर कुटपिट गरेका थिए । पीडकका पति सादुराम केसीले पत्नीलाई झनै उक्साएका थिए । त्यसपछि शान्ता केसी कमलालाई बेहोस हुने गरी कुटेकी थिइन् । त्यसपछि पीडितको परिवारले कमलालाई टोखा प्रहरी चौकीमा लगे लगत्तै ग्रान्डी हस्पिटलमा भर्ना गरी उपचार गराएको छ ।  पीडक शान्ता केसी र निजका पतिलाई टोखा प्रहरी चौकीले उक्त घटनाकै दिन सामान्य सोधपुछसँगै छाडेको थियो ।

पछि दलित तथा महिला अधिकारकर्मी सरु सुनारको पहलमा पीडितका आफन्त र परिवारले चक्रपथ प्रहरी चौकीमा फागुन ४ गते चक्रपथ प्रहरी निरीक्षक टंक प्रसाद भट्टराईलाई न्यायको माग गर्दै घटनाको विवरण जानकारी गराए ।  त्यसको लगत्तै पीडक दम्पतिलाई पक्राउ गरी न्यायिक प्रक्रियामा बढ्ने गरी हिरासतमा राखिएको छ ।

सरु सुनारका अनुसार कमला नेपालीलाई बाहिर ठूलो देखिने घाउ नलागेको, कम्मरमा सामान्य चोट लागेको र घाँटीनिर पूरा सुन्निएको छ ।  यसै गरी टाउकोमा भित्र चोट लागेको हुँदा धेरै बोल्दा, सुन्दा चक्कर आउने, टाउको उठाउन र फर्काउन गाह्रो भएको सरुले बताइन् ।

चिकित्सकको परामर्शअनुसार टाउकोको रिपोर्ट आउन अझै २-३ दिन लाग्ने र आराम जरुरत भएको हुँदा अस्पतालमै भर्ना भएर बस्नुपर्ने अवस्था छ ।

आफू अपमानित हुँदा कुटाइ खाँदा पनि आफ्नो समुदायको साथ पाउँदिनँ कि भनी निराश भएको बताउँदै कमला नेपालीले समुदायको साथ पाउँदा अब त यस्तो कुटाइ खानु पर्दैन कि भनी आशा व्यक्त गरिन् ।  अब पीडकहरु पनि सचेत हुन्छन् होला भन्दै उनले अब कुनै पनि दलितले यस्तो पीडा भोग्न नपरोस् भन्नाका खातिर दलित समुदायलाई एकजुट हुन सुझाव दिइन् ।

स्रोत: ईसमताडटकम


,