आधा सिलिण्डर कथा - सरगम भट्टराई

 


-  सरगम भट्टराई . 

तीन दिन भो चुल्हो नबलेको,काठमांडौंको डेरावाल जिन्दगी, त्यसमाथि सानो वच्चा। काँचो चाउचाउ चपाउदा चपाउदा दाँत दुखिसके। जाडो मौसममा तातो पानी तताईरहनुपर्ने, घरबेटीले आगो बाल्न नदिने।

ए हजुर! सुन्नुस न! हैन बुलेट त आएको आयै छन त ! हिजो मात्रै ३० वटा बुलेट नेपाल भित्रिएका रे ! समाचारमा पनि ग्याँसको आपूर्ति सहज भनिराछ त !  हैन यसो भनसुन गरेर भए पनि ल्याउनुस न ! हैन तपाई हामीले भोट दिएका पार्टीहरु नै सरकारमा छन त, जाँबो एउटा सिलिण्डर पनि किनेर ल्याउन सक्नुहुन्न? यत्रो बर्ष ज़ागिर गरेको के काम भयो र?

       हो त नि जाँबो एउटा सिलिण्डर ल्याउन त कसो नसकिएला र ! मैले पनि दुईचार जना त चिनेको छु नि ! भित्र भित्रै जंगिएँ म । सानु ! ए सानु ! अलि चेपारो पार्दै सबितालाई बोलाउदै भान्सा देखि अर्को कोठामा गएँ म ।  मनमा एउटा अठोट लिएँ आज त एउटा सिलिण्डर नल्याई घरै आउदिन म ।

ल दराज़ देखि अलिकति पैसा निकालेर देऊ त, म ग्याँस लिन जान्छु । आज त छोरोले एउटा सिलिण्डर नलिंई कोठामा आउदैन यार । बडो दृढ़ताका साथ मैले ज्याकेट लगाउँदै सबितासंग फूर्ति लगाएँ ।

ल लिनुस छ हजार रुपैयाँ म संग सुको छैन अब ! तलब ल्याउन अझै १५ दिन बाँकी छ !  घरमा दाल चामल तरकारी केहि पनि छैन, एक छाक मासु नखाएको पनि पन्ध्र दिन भैसक्यो, यहि ग्याँस र क्यास नभएकै बेला भोंक पनि कति लाग्या हो कुन्नि ! तर के गर्नु ,तातो पानी समेत पिउन पाईएन हैन अरु ज़ागिर गर्नेहरुको त राम्रो ब्यबस्था छ त के हो हाम्रो मात्रै ? गाउँमा बरु कति आनन्दको जिन्दगी थियो ।
        ए ल ल भो नकराऊ ! अब नाकावन्दी हुनुमा मेरो के दोष भो त मैयाँ? मधेसमा आन्दोलन गर्ने पनि म हैन क्यारे ! ल ल आज ग्याँस आउछ, चामल, दाल तेल सबै आउछ, ल त्यतिन्जेल सम्म यसो चिउरा भुजा चपाउदै गर्नू!

          घर बाट फटाफट निस्कनु उचित ठानेँ, जति अबेर गर्यो उति सबिताको कचकच सुन्नुपर्ने। मोटरसाइकलमा पेट्रोल नभएको पनि २ महिना भईसकेको थियो, अरुले यो नाकावन्दीमा मोटरसाईकल कार चलाउँदा पनि यस्तो लाग्यो कि कुनै अर्कै ग्रहदेखि आएका मान्छे हुन जस्तो।
आज अफिस छुट्टीको दिन  ग्याँसको डिलरमा हिडेरै पुगेँ, बस चढूँभने माथि तल कतै खुट्टा राख्ने ठाउँ थिएन। ग्याँस डिलर साहुलाई सकेजति निहुरेर नमस्कार गरेँ, उनले एउटा हात सम्म माथि नउठाई यसो टाउको हल्लाए। भित्र भित्रै रिस त उठेको थियो तर खिस्स हाँसेर ग्याँस आयो साहुजी भनि सोधेँ।
      साहुजी यता उता फोन गरि खबर लिईरहेका थिए,यस्तो लाग्थ्यो कतै पहूँच भएकै मान्छे हुन क्यारे! बिहानै देखि रित्तो सिलिण्डर लाममा राखेर बस्नेहरुको लाईन आँखाले भ्याएजति भन्दा लामो थियो। कतै अगाडि छिर्न पाईन्छ कि भनेर यसो नजर लगाएँ तर त्यसो गर्न मनले मानेन, पछाडि लाईनमा सिलिण्डर  राखेर यसो परिबेश बुझ्न यता उता गरिरहेँ।

बाटोमै यसो टोलाईरहेको बेला रघुजी आईपुगे टुप्लुक्क । भर्खरै किनेको नयाँ हाईलक्स कार मेरै अगाडि झ्याप्प रोके।

नमस्कार ! के छ हालखबर? संचै राम्रै हुनुहुन्छ? अचेल त्यति देख्दिन नि मैले, काठमांडौमै हो कि बाहिर सरुवा हुनु भो? एकै शासमा रघुजी बोल्दै थिए।नमस्ते हजुर ! ठिकै छ भनौं, हैन यतै छु। मैलै अलि जाँगर नलागेसरी उत्तर दिएँ।

       हैन ग्याँसको लाईनमा त होईन तपाईं? कहाँ लाईनमा लागिरा ? मैले त साल्ट ट्रेडिंगको हाकिम संग कुरा मिलाएर एउटा भर्खरै ल्याएँ । घरमा त्यस्तो समस्यै भए लग्दा हुन्छ नि, म संग अझै छ घरमा।
             रघुजी संग एकपटक ठेक्का पट्टाको बोलकबोल गर्ने क्रममा अलि ठाक ठुक भएको थियो, मैले त्यहि परिदृश्य झल्याँस्स संझेँ, आफूलाई कमजोर ठानेर सम्झौता गर्न सकिन, भोलि उनको यहि सहयोग बापत मैले कतै शिर निहुराउनु पर्ने भय जागृत भो मलाई।
          हैन हैन आज ग्याँस आएको छ अब केहि छिनमा बाँड्ने तयारी हुँदैछ, सम्झेर भन्नु भो, धेरै धेरै धन्यबाद।  मैले बडो कृतज्ञताका साथ अस्वीकार गरेँ। रघुजी आफ्नो बाटो लागे।
             मनमा अनेक तरंगहरु तरंगित भए,मनको एउटा कमजोर पाटोले रघुजी संग संझौता नगरेकोमा मलाई दुत्कार्दै थियो भने अर्को पाटोले भित्र भित्रै स्वाभिमानको लडाई लडेकोमा गर्व गर्दै थियो। तर हातमै आएको सिलिण्डर आफ्नै कारणले गुम्नुमा मेरै स्वाभिमान ज़िम्मेवार थियो,मेरै हठ ज़िम्मेवार थियो।

ग्याँसको लाईनमै छु म । सबितालाई फोन गरेँ, निकै बेर सम्म ब्यस्त देखियो, रघुजीको अफरबारे बताउन चाहेको थिए तर फोन ब्यस्त भएपछि मेरो के लाग्थ्यो र?

ग्याँसको सिलिण्डर झर्ने पक्का भो तर मैले पाउने कुरामा शंकै थियो। लाममा पनि पछि थिएँ म अनि सोर्स फोर्समा पनि। झिनो आस लिएर म लामबद्द रहेँ।

कुर्दा कुर्दै रात पर्यो, धुलोले लुगाको रंग अर्कै भएको थियो भने भोकले पेटमा बबण्डर मच्चाईरहेको थियो तर त्यो भन्दा पनि एक सिलिण्डर ग्याँसको तलतल अब्बल थियो। तर आज ग्याँस पाउने गुन्जायस देखिएन। भोलि बिहान फेरि ग्याँस बाँड्ने आश्वासनले पेट भरेर किर्तिपुरको उकालो चढ्ने बेलामा शरदजी भेटिए।

नमस्कार बासुजी। हजुर नमस्कार ! मैले पनि भएभरको तागत लगाएर अभिवादनको जवाफ फर्काएँ : नमस्कार ! संचै हुनुहुन्छ?  केहि बेरको भलाकुसारी पछि शरदजीले यसो चिया पिउने प्रस्ताव गरे, भोकले ब्याकुल भएको बेला उनको प्रस्ताव त ढुंगो खोज्दा देउता मिलेजस्तो भो।

आज शरदजीको मूड फ़्रेश रहेछ। एउटै तहको ज़ागिर भएपनि उनको घरको तारतम्य धेरै राम्रो थियो। काठमांडौमा घर, चितवनमा जग्गा र नाम चलेका जलबिद्दुतमा शेयर, नयाँ मोडलको गाड़ी यस्तै यस्तै....। आज उनले सोलमारी जाने प्रस्ताव गरे। सोलमारी ? हैन कहाँ हो यो? रात पनि पर्यो,घर जानुपर्यो नि! मैले उत्तर दिएँ।

शरदजी गलल हाँसेर भने: म आज तपाईलाई अंग्रेज़ी बोल्ने बनाउछु। मैले बल्ल कुरा बुझें ।सोलमारी जाने भनेको त रक्सी पिउने ठाँउ पो रहेछ। मैले अडान लिएँ : हैन मैले आजसम्म रक्सी पिएको छैन र पिउदिन पनि। ल त्यसो भए तपाईं कोक मात्र पिऊनुस न त म चाहिं यसो हार्ड ड्रिंस लिन्छु। उनले वेटरतिर हेरेर आँखा झिम्काए,मैले खासै मतलब गरिन, सोंचे पहिले देखिको चिनाजानी होला मज़ाक़ गरेको।

अन्तत:,अर्डर तयार भो। फ्राई मासु, सलाद, कोकाकोलाको ग्लास र शरदजीले मगाएको ब्ल्याक लेवलको शिसी। मलाई भने भोकले प्लेट नै निलौं जस्तो भएको थियो। मैले संकोच नमानी भने: शरदजी बरु यसो ग्रेबी संग भुजा मगाउनुस न  यार, म त बिहानदेखि ग्याँसको लाईनमा थिएँ । कुर्दा कुर्दा नपाएर फर्कदै थिएँ, तपाईंसंग भेंट भो।

        वेटरले अर्डर गरे अनुसार मासु भुजा ल्याईदियो, मैले एक प्लेट एकैछिनमा लाप लुप खाई हालेँ। मेरो नजर मलाई भनेरै मगाएको कोकमा पर्यो, मैले एकै शासमा तुनुक्क पारेँ।अर्को ग्लास अझै मँगाऊँ भन्ने शरदजीको सोधाईको प्रतिक्षामा थिएँ म।  नभन्दै अर्को ग्लास पनि मेरो अगाडि आईपुग्यो।

   अब भने मेरो भोंक मरिसकेको थियो। मेरा आँखा तिरमिर पो गर्न थाले, टाउको हल्का भए जस्तो भो, आफ्नै ज्यान पनि उड्ला उड्ला जस्तो पो भो । धेरै भोंक लागेकोले गर्दा होला भनेर मनमनै आफूले आफैलाई उत्तर दिएँ। मासु अलि पिरो रहेछ बल्ल पो थाहा भो। अगाडिको ग्लासको कोकाकोला उठाएँ अलि तितो तितो पो लाग्यो।

हैन शरदजी यो कोक त अलि अर्कै छ त ? मैले नलजाई सोधेँ।

     शरदजी हाँस्न थाले, बासुजी यो कोकमा मैले सुटुक्क मैले पिएकै ह्विस्की मिलाउन भनेको थिएँ, यतिबेला सम्म त तपाईलाई ढिलपिल हुनुपर्ने हो ! हो मेरो यतिबेला सम्म बोली समेत थलबल भैसकेको थियो। मलाई मुखमा कहिल्यै नपरेको त्यो चिजले अलौकिक आनन्द पो आईरहेको थियो। हो मैले त्यो क्षण सबै कुरा भुलेको थिएँ। जे होस यो रक्सी भन्ने चिज चैं गजबको हुदोरहेछ भन्ने कुराको पक्का जानुफकार भएँ म ।
             जे होस म होसमै थिएँ यतिबेला सम्म। अब हामीहरु पहिले भन्दा बढि घनिष्ठ लाग्न थाल्यौ, ज़ागिर र जिन्दगीका लम्मेतान गफहरु भए, ख़ास गरी शरदजीले घुमाउरो पाराले मेरो ईमान्दारीता माथि प्रहार गरे, आफ्नो हिजोको दिन र आजको दिनको जीवनशैली बारे बताए र मैले केहि नबोली सुनि मात्र रहेँ।
            शरदजीले बताएका केही कुराहरुले मेरो मनमा ज्वारभाटाहरु ल्यायो, रक्सीको पक्षमा वकालत गर्दै उनले आफ्नो जीवनशैली यसैका कारणले बदलिएको जिकिर गरे। मैले उत्सुक भएर सोधेँ : कसरी बदलिन्छ रक्सीले मान्छेको स्टाटस? रक्सीले त मान्छेहरु बर्बाद भएको देखेको छु मैले!

    शरदजीले भन्दै गए: हो रक्सीले गर्दा मेरो ठूला ठूला ब्यापारी, राजनीतिज्ञ र  पत्रकारहरु संग जमघट हुन्छ, यसैको सेरोफेरोमा मान्छेहरु एकअर्का संग नजिक हुन्छन, यो सिलसिला नमस्कार बाट शुरु भई धाप मार्ने सम्ममा पुग्छ अनि भोलिपल्ट कसैले कसैको कुरा काट्न सकिदैन, अनि हरेकका गतिविधि हरेकलाई जायज़ हुन्छन, यसले सबैलाई राम्रै हुन्छ। यो जागिरको एकसरो तलबले त रक्सी खान पनि पुग्दैन ।उनले थपे: तपाईँ पनि रक्सी नखाएरै अघि नबढेको हो ल आज देखि तपाईको पनि बाटो खुल्यो। अब बेला बेलामा बसिरहनु पर्छ है!  मैले केहि बोलिन, शरदजीका कुरा सुनिरहेँ, कुरा ठिकै जस्तो लाग्यो तर रक्सीकै कारणले यो सबै कुरा संभव भएको भन्ने चाहिँ लागेन।

         फेरि अर्को पेग थपियो, मैले साँच्चै अंग्रेज़ी बोल्न थालें। आई रियल्ली इन्जोईड, थ्यांक यु भेरी मच । मेरो जिब्रो लरबराएको म आफैलाई अनुभूति भयो। शरदजीलाई कुममा धाप मैले पनि मारेँ अनि थपेँ : अल्कोहल इज रियल्ली ग्रेट थिंग, इट मेक्स दि पोसिवल ह्विच इज इम्पोसिवल। शरदजीले पनि धाप मारे, एक अर्काका हत्केलाले अंकमाल गरे हाम्रा।

         त्यस पछि शरदजीले दोहोरी जाउँ भनेर प्रस्ताव गरे, मैले पनि नशाकै तालमा नाईँ भन्ने कुरै भएन, दोहोरीमा लडिबुडी गरि नाँचियो, त्यहाँ पनि मैले पक्कै थपेको हुनुपर्छ, त्यसपछि के भयो मलाई थाहा भएन, बिहान ब्युझिदा शरदजीको घरमा थिएँ। म छाँगाबाट खसेजस्तै भएँ, ग्याँस किन्न आएको मान्छे चौबिस घन्टा देखि गायब, सबितालाई फोन लगाउन फोन खोजेँ कतै भेटिएन, दोहोरी साँझमै हराएको ठहर भो। मलाई असाध्य लाज भो, छिटो छिटो आफ्नो कोठामा जान चाहेँ, शरदजीलाई उठाउन पनि उपयुक्त ठानिन, त्यसैले बिहानै उठेर कुलेलम ठोकेँ।

           घर बाहिर आएपछि मलाई आत्मग्लानि भो, सबितालाई फोन समेत नगरेकोमा बडो हीनताबोध भो, बिचरा के खाएहोलान आमाछोराले, कति फोन गरिहोलिन? अब के बहाना गर्ने होला?  जसरी भएपनि ग्याँस चैं लगेरै जान पाए बहाना बन्छ जस्तो लाग्यो त्यसैले सिधै ग्याँस पसल तिर लागेँ। बल्ल बल्ल बाह्र बजेतिर ग्याँस त पाईयो तर त्यो पनि आधा सिलिण्डर ।
                   अब भने यही आधा सिलिण्डर ग्याँस पनि हिराको टुक्रा जस्तो लागिरहेको थियो। लाहुरेले बाकस बोकेर हिडेजस्तै आधा सिलिण्डर बोकेर किर्तिपुरको उकालो लाग्दा आफूलाई महापुरुष संझिदै थिएँ, हिजो रातिको ह्यांगको पनि हेक्का भएन मलाई।
            हतार हतार कोठामा पुगेर सबितालाई आफ्नो प्रतिज्ञा पूरा गरेको खबर सुनाउनु र हिजो दुख पाएको बहाना बनाउनु थियो तर कोठा बन्द थियो। नजिकैको टेबलमा एउटा चिट्ठी थियो: घरमा श्रीमती र बच्चा भोकै छाडेर दोहोरी साँझमा रमाउने श्रीमानसंग बस्नु भन्दा बरु माईतीकै बोझ हुन बेस। तिम्रो लागि सबिता र बच्चा मरे भन्ने ठान्नू!

   मेरा नौ नाडी गले, के गर्ने नगर्ने ठम्याउनै सकिन, बाहिर पसलमा गएर सबितालाई फोन लगाएँ, सम्पर्क हुन सकेन। त्यहि बेला रेडियोमा अक्तियारको दुरुपयोग गरेकोमा अधिकृत सहित दस जना पक्राउ परेको समाचार आयो जसमा शरदजीको पनि नाम थियो। म अक्क न बक्क परेँ। बरु इमान्दार भएरै अभावको जिन्दगी बाँच्न ठिक ठान्दै सबितालाई लिन ससुराली तिर हान्निएँ।