सिरियामा अस्थायी युद्ध विराम लागु

एजेन्सी फागुन, १५ – सिरियामा अस्थायी युद्ध विराम लागु भएको छ । अमेरिकासहितका शक्ति राष्ट्रको पहलमा सिरियामा अस्थायी युद्ध विराम लागु भएको हो । यसअनुसार हिंसात्मक आक्रमण रोकिएमा सिरियामा गएको पाँच वर्षदेखि चलिरहेको संघर्ष पहिलो पटक रोकिने छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्व समुदायले निगरानी गरिरहेको भन्दै सिरिया सरकार र रुसलाई अस्थायी युद्ध विरामको उल्लंघन नगर्न चेतावनी दिनुभएको छ । रुसी लडाकु विमानले शुक्रबार सिरियामा हवाई आक्रमण तीब्र पारेका थियो ।
तर बिद्रोही संगठन इस्लामिक स्टेट आइएस र अलकायदा सम्बद्ध नुसरा फ्रन्ट भने यसमा सामेल छैन । उच्च स्तरीय वार्ता कमिटि एचएनसीमा रहेका एक सय भन्दा बढी विपक्षी समूह प्रस्तावमा सहमत भएका छन् ।
सिरियामा गएको पाँच वर्षदेखि चलिरहेको द्वन्द्वका कारण दुई लाख ५० हजार भन्दा धेरैको ज्यान गएको छ । यस क्रममा १० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफान डी मिस्टुराले युद्ध विराम प्रभावकारी भए सोमबारदेखि सिरिया सरकार र विपक्षीबिचको शान्तिावार्ता सुरु हुने बताउनुभएको छ । युद्ध विराम लागु हुनेमा आशंका रहेको तर कुनै पनि कुरा असम्भव भने नरहेकाले आशावादी रहेको उहाँको भनाई छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अमेरिका र रुसको मध्यस्थतामा अस्थायी युद्ध विरामको प्रस्ताव तयार गरेको हो । यो प्रस्ताव अनुसार सबै पक्षले मानवीय सहायता आवश्यक परेको क्षेत्रसम्म राहत सामग्री पु¥याउन दिइने छ । प्रस्तावमा सिरिया सरकार र विपक्षी समूह राजी भएका छन् ।