काम गर्नका लागि सभापतिमा उम्मेदवारीः पौडेल



काठमाडौँ: नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले कार्यकर्ताको भावनाको कदर गर्दै आफूले पार्टीको सभापतिका लागि उम्मेदवारी दिन लागेको बताएका छन् ।

शनिबार विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै उनले पार्टीमा आफू विजयी भए सबै कार्यकर्ताको भावनालाई मूर्त रुप दिने प्रतिबद्धता व्यक्त गरे । भने, ‘म काम गर्ने व्यक्ति हुँ, काम गर्न पद चाहिने भएकाले मात्र मैले पदका लागि सभापतिमा उम्मेदवारी दिएको छु, तपार्इंहरु ढुक्क हुनुहोस्, म सबैको भावनालाई पूरा गर्नेछु ।’

नेता पौडेलले अहिलेको राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएकाले उम्मेदवारी दिन आवश्यक रहेको प्रस्ट पारे । उनले १३औँ महाधिवेशनले पार्टीलाई नयाँ जीवन्तता दिने खालको नेतृत्व चयन गर्न सक्नुपर्ने भएकाले सबै प्रतिनिधिलाई कसैको दबाबमा नपरीकन जिल्लाबाट आउँदा जे निर्णय लिएर आउनुभएको छ त्यही निर्णयमा अडिग रहन आग्रह गरे ।

अहिले कांग्रेसका सामु आफ्नो पार्टीको मात्र अभिभारा नभई देशको विद्यमान परिस्थितिलाई सम्हाल्ने अभिभारा पनि थपिएकाले कांग्रेसको अधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताए । रासस

,