फोटोसहितको मतदाता नामावली संकलन अभियान हुने

भक्तपुर फागुन,४ – जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही फागुन १४ गतेदेखि भक्तपुरका ६ वटै नगरपालिकामा फोटोसहितको मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ ।
कार्यालयले मंगलबार गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत उमेश अधिकारीले फागुन १४ गतेदेखि २५ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
अभियानमा विगतमा संकलन गरिएको नामावलीमा भएको त्रुटी सच्याउने, नयाँ नामावली संकलन गरी फोटो खिचेर मतदाता परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि कार्यालयले ६ वटा नगरपालिकामा ३५ वटा मतदाता नामावली संकलन केन्द्र कायम गरेको छ ।
जसमा सबभन्दा धेरै भक्तपुर नगरपालिकामा ११ वटा, मध्यपुर थिमि नगरपालिकामा ८ वटा र अनन्तलिङ्गेश्वर, नगरकोट, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको संयुक्त वडा कार्यालयहरुमा ४˗४ वटाका दरले केन्द्र कायम गरेको छ ।
कार्यालयले तीन वटा टोली बनाएर १४ गतेदेखि १७ गतेसम्म अनन्तलिङ्गेश्वर नगरपालिका, चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकामा, १८ गतेदेखि २१ गतेसम्म सूर्यविनायक नगरपालिका, १८ गतेदेखि २५ गतेसम्म मध्यपुरथिमि नगरपालिकामा  र १८ गतेदेखि २५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न वडाहरुमा मतदाता नामावली संकलन गर्ने भएको छ ।
नामावली संकलन १४ गतेदेखि २५ गतेसम्म भएपनि प्रत्येक केन्द्रमा एक दिन मात्रै नामावली संकलनको काम गरिने भएकाले छुटेकाले अर्को दिन नजिक रहेको केन्द्रमा वा जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा विदाका दिन बाहेक १० देखि ५ बजेसम्म फोटो खिचेर मतदाता परिचयपत्र बनाउन सकिने व्यवस्था गरेको छ ।
२०६७ सालदेखि फोटोसहितको मतदाता परिचय पत्र बनाउने अभियान सुरु भएकोमा संविधानसभा निर्वाचनमा भक्तपुरमा एक लाख ५७ हजार फोटोसहितको मतदाता नामावली संकलन भएकोमा ८५ प्रतिशतले मतदान गरेका थिए ।