तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, सबैको मृत्यु

कास्की, फागुन १२ – हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दाना–१ काभ्रे गाउँबाट चार घण्टा उकालोमा पर्ने सुर्खे पाटन भन्ने ठाउँमा भेटिएको स्थानीय बासिन्दा कविन तुलाचनले बताउनुभयो ।
विमानमा आगो लागिरहेको उहाँले बताउनुभयो । विमान दुर्घटनाग्रस्त क्षेत्र वरपरको जंगलमा पनि आगलागी भएको छ । घटनास्थलमा स्थानीय बासिन्दा र प्रहरी पुगेको छ ।
दुर्घटनामा परि विमानमा रहेका सबै यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विमानका यात्रुको शव क्षतविक्षत अवस्थामा रहेको र कसैको पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मौसमको खराबीका कारण हेलिकप्टरमार्फत तत्काल शव ल्याउन सकिने अवस्था नरहेको र हिँडेर ल्याउन ६ ७ घण्टा लाग्ने म्याग्दी प्रहरीले जनाएको छ ।
कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको कल साइन ९एन–एएचएच विमान हराएको थियो ।
बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमानमा १८ जना नेपाली र दुई विदेशीसहित २० जना यात्रु तथा चालक दलका तीन सदस्य गरी २३ जना थिए । यात्रु मध्ये दुई जना बालबालिका रहेको पोखरा विमानस्थलका प्रमुख पौडेलले बताए ।