कैदी सरुवामा लाखौं खर्च !

काठमाडौं फागुन,३-जिल्ला कारागार मुगुमा कैदीबन्दी थुन्ने भवन नहुँदा अन्यत्र पठाउँदा लाखौ खर्च हुने गरेको छ । जिल्ला अदालतले विभिन्न मुद्दा तथा अभियोग लागेका व्यक्तिलाई पुर्पक्ष र कैद तोकेकाहरुलाई थुन्ने ठाउँ मुगुमा छैन ।
जिल्ला कारागार कार्यालय भए पनि कैदी र थुनुवा राख्ने भवन नभएपछि यहाँका थुनुवा र कैदीलाई अन्य जिल्ला चलान गरिने गरिएको छ । सोही क्रममा ठूलो रकम खर्च हुने गरेको कारागार कार्यालयले जनाएको  छ ।१५ जना क्षमता रहेको घ श्रेणीको मुगु शाखामा थुनुवा र कैदी राख्ने भवन नभएपछि जिल्ला अदालत र अन्य निकायबाट कैद तोकिएका र थुनुवालाई अन्य जिल्लाका कारागारमा चलान गर्नु पर्दा मुगु कारागारले वर्षेनि लाखौं रुपैया खर्च गर्नुपरेको हो ।
कारागारका लागि कार्कीबाडा गाविस ६ को कित्ता नम्बर १ सय १५ मा १०३६.२५ क्षेत्रफल जग्गा भए पनि कारागार व्यवस्थापन विभागले भवन निर्माण नगरिदिएपछि कैदी सरुवा गर्नु परेको हो ।