शिक्षामा व्यवस्थित ग्रेडिंग प्रणालीको महत्व -प्रकाश श्रेष्ठ




 शिक्षा प्रणाली समयसापेक्ष परिवर्तन हुनु आवस्यक छ । समाजिक , प्राविधिक परिवर्तनसँगै स्कुल र कलेज तहमा पढाईन प्रयोग गरिने  शिक्षण विधी समयानुकूल परिवर्तन हुनु जरुरी हुन्छ । शिक्षा एक गतिशिल पद्धतिमा आधारित छ, राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा आएको विज्ञान, प्रविधी, सामाजिक-आर्थिक, राजनैतिक, सांस्कृतिक , रितीरिवाज आदीले शैक्षिक प्रणालीलाई समेत प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । तसर्थ पुरानै शैली र मान्यतामा आधारित पठन -पाठनले समयको माग र विश्व शैक्षिक जगतमा आएको परिवर्तनलाई सम्बोधन गर्न सक्ने अवस्था नहुन सक्छ जसले गर्दा विभिन्न क्षेत्रमा ती पद्धतिबाट उत्पादित जनशक्तीले सम्भावित क्षेत्रहरुको आवस्यकता पुरा गर्न नसकेको हुन सक्छ ।

      हो अहिले नेपालमा विकशित देशहरुमा अवलम्बन गरिने शैक्षिक मुल्यांकन विधीलाई ग्रेडींग पद्धतिमा मापन गर्ने जुन चर्चाहरु आईरहेको छ । एस.एल.सी. परिक्षा, प्लास टु अर्थात् ११, १२ कक्षा, प्राविधिक शिक्षालयहरुको परिक्षाको नतिजालाई A,B,C,D जस्ता लेटरहरुमा व्यक्त गरि रेटिंग गर्ने अर्थात् ग्रेडमा छुट्टाउने न कि पहिला जस्तो पास र फेल तथा पासको डिभिजन विभिन्न बिषयमा  प्राप्त अंकहरुलाई जोडेर हुन आएन कुल अंकको आधारमा जस्तै विशिष्ट, प्रथम, द्वितीय , तृतिय श्रेणी भन्ने जुन परम्परागत रुपमा चलि आएको प्रणालीलाई विस्थापित गर्ने भन्ने रहेको छ ।

यसरी झट्ट हेर्दा यो अति प्रगतिशिल र समयसापेक्ष निर्णयहरु सम्बन्धीत निकायहरुले अबलम्बन गर्न खोजिए जस्तो देखिन्छ । तर अहिले स्कुलहरुमा जुन १०,११,१२ कक्षा गर्न खोजीएको रेटिंग केवल परम्परागत तरिकाले परिक्षा लिएर प्राप्त भएको विषयगत परिक्षाको मार्क/अंकलाई नै कन्भर्ट गरेर /रेटिंग गरेर लेटरमा व्यक्त गर्न खोजीएको छ यो केवल कुनै पनि विद्यार्थीलाई फेल नदेखाउने काम मात्र हो । यथार्थमा स्तर राम्रो , कमजोर , नराम्रो भन्ने त छुट्टिनै हाल्छ अर्को कुरा केवल अंकलाई अक्षरमा व्यक्त गर्दैमा शैक्षिक गुणस्तर वृद्धी भएको हुँदैन । यो त केवल रुपमा मात्रै परिवर्तन हो सारमा केही उपलब्धी देखिदैन ।

        वास्तवमा अहिले पनि हामी यथार्थ धरातलमा गएर हेर्ने हो भने साँच्चिकै यही अवस्था , विद्यालयहरुको भौतिक, शैक्षिक, सामाजिक मुल्य-मान्यता, पाठ्यपुस्तक, शिक्षणविधी, शिक्षण जनशक्ती आदीलाई मध्यनजर राख्दा तत्कालै ग्रेडिंग प्रणालीमा जानको लागी केही हतार गरेको जस्तो देख्न सकिन्छ । सबैभन्दा पहिले त त्यो प्रणालीमा जानको लागी आवस्यक आधारहरु तयार गर्नु जरुरी छ । अधिकांश विकट गाउँहरुमा अझै विनातालिम प्राप्त शिक्षकहरुले शिक्षण गरिरहेका छन् , समयमा पाठ्यपुस्तक र पाठ्यसामग्रीहरु पुगेको पाईदैन ।

 राजनैतिक बन्द-हड्तालले शैक्षिक क्यालेण्डर अनुसार निकै कम दिन पढाई संचालन हुने गरेको हुन्छ। त्यस्तै विद्यालयमा प्रयोग गरिने शिक्षण विधी प्रायः ब्याख्यात्मक प्रस्तुतीकरण अर्थात् शिक्षक केन्द्रित शिक्षण पद्धति नै अनुसरण गरिन्छ । सहभागितामुलक, समस्या समाधान विधी , समुहगत छलफल विधी , प्रोजेक्ट वर्क प्रिजेन्टेशन विधी अर्थात् विद्यार्थी केन्द्रित विधी निकै कम प्रयोगमा ल्याईन्छ । शहरी सुविधा सम्पन्न निजी बोर्डिंग र सामुदायिक स्कुलमा मात्र खासगरी विद्यार्थी केन्द्रित शिक्षणविधीलाई अवलम्बन गर्ने गरेको पाईन्छ ।

        ग्रेडिग विधी विकशित देशहरुमा सानै कलास देखि अवलम्वन गरिने विधी हो र खासगरी यसमा Day to Day Evaluation पद्धतिलाई प्रयोगमा ल्याईएको हुन्छ । केवल २-३ महिनामा हुने आवधिक परिक्षा प्रणालीलाई आधार बनाएर विद्यार्थीहरुको प्रविणता/ दक्षता मापन गरिदैन । नियमितरुपमा जसले कलास वर्क र गृहकार्य जस्ले तोकिएको मापदण्ड अन्तर्गत रहेर गरेको हुन्छ त्यही विद्यार्थीले राम्रो ग्रेड प्राप्त गर्छ र जसले त्यसमा बढी चासो दिएर कार्यसम्पादन गर्दैन त्यसले राम्रो ग्रेड हासिल गर्न सक्दैन अर्थात् राम्रो GPA(Grade point Average) ल्याउन सक्दैन ।

अहिलेसम्म नेपालको स्कुलतह र कलेज तहको मुल्यांकन विधी भनेको खासगरी आवधिक लिखित परिक्षा र मौखिक परिक्षाबाट प्राप्त नतिजालाई नै आधार मान्दै आईएको छ र साँच्चै भन्ने हो भने जसले जसरी हुन्छ घोकेर, सम्झेर , चिटचोरेर , साथीको सारेर प्रश्नपत्रमा सोधिएको सही जवाफ दिए पछि राम्रो अंक हासिल गर्ने र उसलाई नै राम्रो विद्यार्थी मान्ने र सोही किसिमको थप अध्यायन र जागीरको अवसर पाउने गरेको देखिन्छ तर वास्तविक ग्रेडिंग पद्दती लागु गर्ने हो भने यो प्रणाली भन्दा निकै पृथक हुन्छ । जसमा कलासको सबै क्रियाकलाप, होमवर्क , आवधिक मुल्यांकन, कलासमा उपस्थिती आदी  विधी सबैलाई आधार बनाएर मार्किंग गर्ने र ग्रेड निर्धारण गर्ने गरिन्छ त्यस्तै शिक्षण विधी टोटल्ली विद्यार्थी केन्द्रित र व्यवहारीक ज्ञान एवं बुझेर -जानेर-पढेको संझने पद्धति , प्रोजेक्टर एवं कम्प्यूटरमा आधारित शिक्षण विधी आदी प्रयोग हुने गर्दछ ।

        केवल परिक्षाबाट प्राप्त नतिजालाई ग्रेडींग प्रणालीमा राख्दैमा शैक्षिक प्रणालीमा विकास र मुल्यांकन विधी वैज्ञानिक मान्नु सरासर भ्रम हुनसक्छ । हो ग्रेडिंग गर्नाले सबै विद्यार्थी पास हुन्छन् र फेल हुने कोही हुँदैन यसको अर्थ सबै सक्षम हुन्छन् भन्ने होईन । साथै हाम्रो जस्तो दुरदराजमा रहेका विद्यालयमा अध्यायन गर्ने विद्यार्थी , अभिभावक र अझै शिक्षकहरुलाई समेत यो पद्धतिको बारे राम्रोसँग बुझाउन सक्नु पर्छ अन्यथा फेल नहुने भए पछि किन दु:ख  गरेर पढ्नु  पर्यो , किन कोर्स सिध्याउनु पर्यो , किन शैक्षिक क्यालेण्डरमा तोकिएको सबै दिनहरु स्कुल खोल्नु पर्यो , स्कुलमा  नियमित किन छोरा-छोरी पठाउनु पर्यो भन्ने किसिमको सोचाई नआउला भन्न पनि सकिदैन ।

अत: निश्चित समय तालिका बनाएर सबै पुर्वाधारहरुको व्यवस्था गरेर शिक्षकहरु , अभिभावकहरु , विद्यार्थीहरुलाई ग्रेडिंग प्रणाली बारे आवस्यक ज्ञान दिएर , ओरिन्टेशन कलासहरु संचालन गरेर , शिक्षकहरुलाई यस सम्बन्धी व्यापक ज्ञान हुने गरि तालीम , सेमिनारहरुमा सहभागी हुने व्यवस्था गरेर यस किसिमको ग्रेडिंग पद्दती संचालन सम्बन्धी निर्णय हुनसकेको भए वास्तवमै राम्रो र उचित कदम हुन सक्थ्यो र कसैलाई पनि दुविधा उत्पन्न हुने अवस्था आउने थिएन ।

              अझै भन्नु पर्दा सानै कक्षा देखि विस्तारै बास्तविक रुपमै ग्रेडिंग लागु गरेर क्रमश माथिल्लो कक्षा सम्म ग्रेडिंग गर्ने व्यवस्था हुन सकेको भए त्यसले गुणात्मक प्रभाव पार्थ्यो । मुलरुपमा शिक्षण पद्धति र विद्यार्थीको कार्यसम्पादन मुल्यांकन  विभिन्न आधारमा गर्ने पद्धतिको विकास गर्ने, नियमित प्रगति प्रतिवेदनहरु अभिभावकहरुले प्राप्त गर्न सक्ने र अभिभावकहरुको आवस्यक पृष्टपोषण(Feedback) स्कुलले लिने एवं कलास पर्फर्मेन्स, होमवर्क, प्रयोगात्मक परिक्षा, आवधिक परिक्षा, फाईनल परिक्षा आदीलाई निश्चित आधार बनाई रेटिंग गर्ने साथै यो - यो विधालाई यति-यति पुर्णांक छुट्टाउने र त्यसको आधारमा यती अंक देखि यती ल्याउनेलाई यो - यो ग्रेड दिने भन्ने सबै स्पस्टरुपमा तोकिएको मुल्यांकन नतिजालाई निर्धारण गर्ने प्रणाली किटान गरिएको हुनुपर्दछ ।

विद्यार्थीको दैनिक , सप्ताहिक , मासिक ग्रेडिंग  र फाईनल ग्रेडिंग गर्ने सबै तरिका -आधार स्पष्ट हुनु पर्दछ तव मात्र मुल्यांकन प्रभावकारी बन्दछ । मुल्यांकन प्रभावकारी बनाउन पाठ्यसामग्रीहरुको उचित व्यवस्था, पाठ्यपुस्तकहरुमा परिमार्जन, शिक्षण विधीमा समेत परिवर्तन हुनु जरुरी छ त्यस्तै पठन-पाठन गर्ने कक्षा कोठाहरुको सजावट(Layout) , पुस्तकालयहरुको  उचित प्रबन्ध, अतिरिक्त क्रियाकलापहरु संचालनलाई आवस्यक सामाग्रीहरु र स्थानको व्यवस्था आदी हुनु जरुरी छ ।

यसरी हेर्दा परम्परागत शिक्षण शैलीमा परिवर्तन गरेर मात्र ग्रडिंगको व्यवस्था हुनसकेको भए वास्तवमै शिक्षाको गुणस्तर वृद्धी हुन सक्थ्यो । अव आउँदा दिनहरुमा सरकार र सरकोरवालाहरुले आवस्यक मात्रामा संरचनात्मकरुपमै शैक्षिक पद्धतिमा परिवर्तन गर्दै ग्रेडिंग प्रणालीलाई प्रभावकारी बनाउनु जरुरी छ न की विदेशी दाताहरुको प्रदान गर्ने अनुदानलाई निरन्तररुपमा प्राप्त गर्ने मार्ग प्रशस्त गर्न मात्र देखावटी शैक्षिक सुधार गर्न केवल नाम मात्रको मुल्यांकन प्रणालीमा परिवर्तन गरेर कुनै अर्थ रहदैन ।

  बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका