कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति


महोत्तरी फागुन,५-गौशाला बजारमा रहेको एक कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति गौशाला बजारस्थित हरिओम वस्त्रालयमा आगलागी हुँदा पसलमा रहेको रु १० लाख बराबरको लत्ताकपडा जलेर नष्ट भएको छ ।
पूजा गर्न बालिएको अगरबत्तीबाट सल्किएको आगाले पसलमा रहेको सम्पूर्ण कपडा जलेर खरानी भएको सञ्चालक सरोजकुमार साहले जानकारी दिए ।
स्थानीयवासी र प्रहरीको अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
गौशाला नगरपालिकामा दमकल नभएको कारण आगो समयमै नियन्त्रणमा लिन कठिनाइ भएको थियो । गौशाला नगरपालिकामा वारुणयन्त्र नहुँदा यस क्षेत्रमा आगलागीका कारण बर्सेनि लाखौँको क्षति हुँदै आएको छ ।