ओबामाको हस्ताक्षरपछि नेपाली उत्पादनलाई अमेरिकी बजारमा कर छुट


काठमाडौं ।  अमेरिकी राष्ट्रपति बाराक ओवामाले कर छुट सम्बन्धि एउटा महत्वपूर्ण विधेयकमा हस्ताक्षर गरेपछि नेपाली पोसाकले अमेरिकी बजारमा फेरी स्थान पाउने भएको छ ।

नेपाली तयारी पोसाक ११ वर्षपछि पुन: अमेरिकी बजारमा पुग्ने भएको छ । अमेरिकी बजारमा नेपाली तयारी पोशाकको सन २००५ बिक्री हुन बन्द भएको थियो |

अमेरिकी सिनेट र कांग्रेस दुबै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक बुधबार ओवामाले हस्ताक्षर गरेका हुन् । ओबामाको हस्ताक्षरपछि नेपालमा बनेका गलैँचा, टोपी, च्यादर, गलबन्दी लगायत ६६ प्रकारसम्मका सामग्रीलाई भन्सार छुट सुविधा उपलब्ध हुने भएको छ ।

यो प्रक्रियाका लागि पूर्व राजदुत डा. शंकर शर्माले धेरै प्रयास गरेका थिए | उनको प्रयासमा अमेरिकामा रहेका नेपाली ब्यबसायी र सामाजिक व्यक्तित्वहरुले सहयोग गर्दै आईरहेका थिए | अहिलेका राजदुत डा. अर्जुन कार्कीले पनि यो प्रयासलाई निरन्तरता दिईरहेका कारण यो सम्भब भएको हो |

जनरल सिस्टम अफ प्रेफरेन्सस(जिएसपी) अन्तर्गतका सुविधाका लागि हालसम्म अयोग्य रहेका नेपाली निर्यात सामग्रीलाई भन्सार छुट सुविधा उपलब्ध गराउनेछ ।

कर छुटको सुविधा प्राप्त गर्नका उत्पादित सामग्री कम्तीमा ३५ प्रतिशत नेपालमा उत्पादन भएको हुनुपर्ने, अन्य देशबाट नेपालमा सामान ल्याएर निर्यात गर्न नसकिने, हस्तकला, नेपालको संस्कृति झल्कने प्रिन्ट भएकालगायतका सामग्री अमेरिका पठाउन सकिने तर सर्वप्रथम अमेरिकामा आयात हुने गार्मेन्टमध्ये १.५ प्रतिशत तयारी पोसाक भन्सार छुटमा ल्याउन सकिने र हरेक वर्ष ०.३३ प्रतिशतको दरले १० वर्षसम्म (२०२५ सम्म) वृद्धि गर्दै लैजाने गरी सुविधा प्रदान गर्दै जाने सर्त राखेको छ ।

अमेरिकाले नेपाललाई अल्पविकसित राष्ट्र अन्तर्गतको सेक्सन ९१५ को सुविधा प्रदान गर्न लागेको हो । यसअन्तर्गत तयारी पोसाकका ६६ प्रकारका उत्पादनलाई १७ प्रतिशत भन्सार छुट दिनेछ ।