पाँच जिल्लामा स्व पूर्वराजा वीरेन्द्रको सम्पत्ति भेटिएन

काठमाडौँ फागुन,३ -स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको नाममा झापा, गोरखा, लमजुङ, रुपन्देही र दाङ जिल्लामा कुनै सम्पत्ति भटिएन। नेपाल ट्रष्ट कार्यालयले आव २०७२/०७३ मा खोजी सुरु गरेका १० जिल्ला मध्ये ती जिल्लामा उनको नाममा कुनै पनि सम्पत्ति नभेटिएको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए। उनले भने, "ती जिल्लाका मालपोत कार्यालयमा गई सम्पत्ति खोज्यौँ तर भेट्टाउन सकिएन ।"
उनले बर्दिया र बाँके जिल्लामा सम्पत्ति खोजी जारी राखेको तथा कैलाली, कञ्चनपुर र बारा जिल्लामा केही समयपछि खोजी गरिने वताए।  सचिव उपाध्यायले काठमाडौँ उपत्यकामा अझै स्व वीरेन्द्रको नाममा सम्पत्ति हुन सक्ने हुँदा खोजी जारी राखिने उल्लेख गरे। ट्रष्टको कामका बारेमा आम नागरिकलाई जानकारी दिन वृत्तचित्र तयार पारी विभिन्न टेलिभिजनबाट प्रशारण समेत गरिएको तथा स्व वीरेन्द्रको सम्पत्तिलाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रयोग गरिने उनले जानकारी दिए। रासस