राजनीतिक संयन्त्र गठन गर्न कार्यदल बैठक बस्दै

काठामडौं फागुन, ५-प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै मधेसको माग सम्बोधन गर्न बुधबार कार्यदलको बैठक बस्दैछ। बुधबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यदलको बैठकको बैठकमा सीमाकंनलगायतका विषयमा सहमति जुटाउन राजनीतिक संयन्त्र गठन गर्नेलगायतका विषयमा छलफल हुने नेताहरुले जनाएका छन्।  भारत जानुअघि नै राजनीतिक संयन्त्र गठन गर्ने प्रतिबद्धता कार्यानवयन गर्न प्रधानमन्त्रीले मोर्चा र सरकारी कार्यदलस्तरीय बैठक बोलाएका हुन्।
शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओली यसअघि नै संयन्त्र बनाउने बताउँदै आएका छन्।  राजनीतिक संयन्त्र गठन गर्ने लगायतका विषयमा छलफल गर्न बुधबार तीन बजे कार्यदलको बैठक बोलाइएको  मोर्चाका एक नेताले जानकारी दिए।
ती नेताले मधेसमा दुई प्रदेश बनाउन सहमत भएमात्र राजनीतिक संयन्त्रको अर्थ हुने बताए । ‘राजनीतिक संयन्त्र गठन गर्नेमा मोर्चा तब मात्र सहमत हुन्छ जव संविधानको अनुसूचीमा मधेसमा दुई प्रदेश मात्र भनेर लेखिन्छ,’ महतोले भने।  मोर्चाले आन्दोलनको क्रममा भएका घटनाको आडमा मोर्चा कार्यकर्तामा माथि भएको धडपकड रोक्नु पर्ने, सहिद परिवारका लागि घोषणा गरिएको १० लाख राहत रकम सहिद परिवारसम्म पुग्नुपर्ने, आन्दोलनमा घाइतेहरुको उपचार खर्च उपलब्ध गराउनुपर्नेलगायतका सर्तहरु मोर्चाको तर्फबाट कार्यदलले बैठकमा सर्त प्रस्तुत गर्ने महतोले बताए ।
माघ पहिलो साता तीन दल र मोर्चाबीच सिंहदरबारमा भएको चरणवद्ध कार्यदल बैठकमा राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र मधेस आन्दोलनको सम्बोधनसमेत गर्ने गरी सीमांकन टुंग्याउने समझदारी नजिक पुगेका थिए। प्रधानमन्त्री ओली लगायत कांग्रेस नेताले प्रस्तावित संयन्त्रको संवैधानिक वैधानिकता, कार्यविधि र क्षेत्राधिकारबारे प्रश्न उठाएपछि वार्ता अवरुद्ध बनेको थियो।