बाघको सिकार गर्न भारतीय समूह नेपालमा


चितवन, माघ २०, चितवनका एक दर्जनभन्दा धेरै प्रजा समूह पक्राउ परेपछि गैँडाको चोरी–सिकारी बन्द भएको छ । तर, तराईमा बाघको सिकारीमा भारतको बन्जारण समूह सक्रिय बनेको छ । बर्दिया र सुनसरीबाट बाघको छालासहित पक्राउ परेकामाथिको अनुसन्धानबाट नेपालमा बन्जारण समूह सक्रिय रहेको खुलेको हो ।

बन्जारण समूहले तराईमा चार बाघ मारिसकेको छ । समूहका तीन तस्करलाई प्रहरीले पक्राउ गरेको छ । ‘प्रहरीले पछिल्लो समय बरामद गरेको नौवटा बाघको छालामध्ये चारवटा नेपालका बाघको भएको पुष्टि भएको छ,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी प्रवीण पोखरेलले भने, ‘यसमा भारतको बन्जारण समूहको संलग्नता देखिएको छ।’

प्रहरीले बरामद गरेका छालाको डिएनए परीक्षण गर्दा नेपालकै बाघको छाला रहेको पुष्टि भएको हो । सेन्टर फर मोलिक्युलर डाइनामिक्स नामक संस्थाले नेपालका एक सय २५ वटा बाघको दिसामार्फत डिएनए राखेको थियो । बरामद छालासँग म्याच गराउँदा चारवटा छाला नेपाली बाघको भएको खुलेको हो । केही वर्षअघि गणनाअनुसार नेपालमा १९८ वटा बाघ छन् । नयाँ पत्रिकाबाट।