रोनाल्डो पेनाल्टीमा चुके, रियल बराबरीमा रोकियो

एजेन्सी फागुन, १० – रियल मड्रिड ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । मालागाले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो । ३३ औं मिनेटमा हेड मार्फत गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । टोनी क्रुसको फ्रिकलाई हेडमार्फत गोलमा परिणत गरेका रोनाल्डोले त्यसपछि पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन् । ६६ औं मिनेटमा मालागाका राउल एल्बेन्टोजाले बराबरी गोल फर्काए । बराबरीपछि रियल मड्रिडको २५ खेलबाट ५४ अंक भएको छ । तेस्रो स्थानको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ९ अंकले पछि छ । मालागासँगको बराबरीले रियलको उपाधि दाबेदारी कमजोर बनेको छ । आइतबार राति नै भएको खेलमा भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको एथ्लेटिको मड्रिड समान २५ खेलबाट ५५ अंकसहित दोस्रो स्थानमा छ । आइतबार राति भएका अरु खेलमा भ्यालेन्सियाले ग्रनाडालाई २–१ तथा रियल सोसिडाडले एथ्लेटिको बिल्बाओलाई १–० ले हरायो । रायो भालेकानो र सेभिल्लाले २–२ को बराबरी खेले ।