'सुशील'दा प्रति समर्पित! (कविता) -कृष्ण सादगी


'सुशील'दा तिमी सरल थियौ
सरलता नै महानताको परिचय हो।
सुशील'दा तिमी पुर्ण सादगी थियौ
तिम्रो सादगीपुर्ण जीवनको उचाईले
निरन्तर आकाश चुमीरह्यो/सधै चुमीरहनेछ।
लोकतन्त्रप्रतिको तिम्रो निस्ठा र समर्पणले
आधुनिक नेपालको आधारस्तम्भ बन्न सफल भयो
चुनौती नै चुनौतीका उच्च पहाडी चट्टान/हिमश्रृंखलाई
तिम्रै नेतृत्वमा सफलतापुर्वक छिचोल्न सक्यौ!
नेपालीले आफ्नालागी आफै संविधान बनाउने
६५ बर्ष लामो संघर्ष र बलिदानीको लक्ष/सपना
तिम्रै नेतृत्वमा सफलतापुर्वक सम्पन्न गर्यौ!
तिमीले एउटा महत्वपुर्ण ईतिहास रचेर गयौ!
हामी विचमा सुटुक्कै सदासदाका लागि अस्तायौ!
हो तिमीले असाधारण सफलता र उचाई चुमेकै थियौ
तिम्रो सपना जपना र कर्मको सफल परिणामलाई
संसारभरका लोकतन्त्रबादीहरुले सम्मानपुर्वक लिईरहेथे
दुर्भाग्य! रातारात तिमी पुन: प्रम पदमा लोभीन पुगेछौ
तिमी आफैले बर्षौ बर्ष लगाएर बनाएको 'त्यागी'नेताको उचाई
महान उपलब्धी र उचाईको कारक बनेको भीमकाय 'त्यागी' 'कद'
क्षणभंगुर भयो! अरु झै 'पद'का लालची राजनीति कर्मीमा बद्लियो
आफै खै किन कसरी र कस्को स्वार्थसिद्दीको सिंडी बन्न पुग्यौ?
चुक्यौ- एउटा असाधारण व्यक्तीत्व बन्नबाट खै कसरी चुक्यौ?!
शायद- तिमी त्यती 'असाधारण मानक' हुने योग्यताको रहेनछौ!
यधपी- तिमीले तिम्रो सरलता, सादगीपन र निस्ठाका कारण
नेपाल र नेपालीलाई जे नासो सुम्पिएर गयौ-त्यो महान छ!
तिम्रो यस महान नेतृत्वले सुम्पेको उपलब्धी र 'नासो' रक्षा गर्नु-
अब तिम्रो सच्चा सम्मान हुनेछ! तिम्रो सच्चा श्रद्धन्जली हुनेछ!
तिमीले नेपाल र नेपालीका लागि ईतिहास रचेर गयौ!
तिम्रो 'सादगीपन, सरलता र निस्ठा'लाई सलाम छ!
तिम्रो जिवन-कर्म र उपलब्धीलाई उच्च सम्मान छ!!