आज श्रीपञ्चमी, सरस्वतिको पूजा गर्दै मनाइँदै




बाल्टिमोर फेब्रुअरी १३ । सरस्वतिको पूजा आराधना गर्दै आज शनिवार श्रीपञ्चमी मनाइँदै छ ।

यस दिनलाई बालबालिकाहरुलाई अक्षरारम्भ गराउने पर्वको रुपमा लिने गर्दछ । अभिभावकहरु आ–आफ्ना सन्तानहरुलाई नजिकको सरस्वतीमन्दिरमा लगी खरी वा शिसाकलमले अक्षर लेखाउने गर्दछन् । यस दिन सरस्वतीको पूजा अर्चना गराई बिद्याराम्भ गराएमा सर्बसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

बालबालिकाहरुलाई अक्षरारम्भ गराउँदा सर्ब प्रथम ‘श्री गणेशाय नम: भनी गणेशलाई त्यसपछि ‘नम:सिद्ध’ भनी सिद्ध महापुरुषहरुलाई नमस्कार गराई ‘नमो बागीश्वराय:’वाकदेवीलाई नमस्कार गराउने परम्परा छ । यसपछि मात्र बालबालिकाहरुलाई स्वर र ब्यञ्जनका अक्षरहरु सिकाइने गर्दछ ।

श्रीपञ्चमीको अघिल्लो दिन साँझ महामञ्जुश्री ल्हासाको बाटो गरी स्वयम्भूको महारश्मी दर्शन गर्न महाचीनबाट आफ्नी शक्ति वरदा र मोक्षदाका साथ काठमाडौं आएको लोककथन छ । त्यसैले उनको थकाई मेटाउन भनी बालबालिका र महिलाहरुले सरस्वतीको मूर्तिमा तेल घसिदिने चलन छ । यसै अवसरमा ललितपुरको लेलेमा अवस्थित सरस्वती कुण्ड र ज्ञानकुण्डमा बिशेष मेला लाग्ने गर्दछ ।

ऋतु विज्ञानअनुसार चैत र बैशाखलाई शुद्ध बसन्त ऋतु मानिएको छ । तर पनि बासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रुख तथा विरुवाहरुमा नयाँनयाँ पालुवाहरु देखिने, मानिसहरुको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र वाह्य वातावरणले समेत प्रमुदित रुप धारण गर्‍यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई बसन्त ऋतुको पहिलो दिन मानी बसन्तोत्सव पर्ने परम्परा छ । यही कारणले गर्दा यस पर्वको अर्को नाम ‘बसन्त पञ्चमी’ रहेको छ ।