बोली होइन, कर्म लेखिन्छ इतिहासमा - विश्वप्रकाश शर्मा





मानिसहरू भनिरहेका छन्, ‘सुशील कोइरालाको बोली बुझिएन, कर्म बुझियो । केपी ओलीको बोली प्रस्ट बुझिएको छ, तर कर्म बुझ्न नसकेर हामी हैरान छौं ।’

फाल्गुन ६, २०७२- घाँटीको क्यान्सर अप्रेसनपछि जीवनको अन्तिमकालमा वीपी कोइरालाको स्वर पुरै पातलिएको थियो । सानो स्वरमा विस्तारै बोल्नुहुन्थ्यो, मानिस उहाँबाट कलात्मक भाषण होइन, जीवन्त विचारको अपेक्षा राख्थे र त्यो पाउँथे पनि ।

उहाँले छाडेर जानुभएको त्यही विचार र संस्कारका लागि वीपीलाई युग–युगसम्म स्मरण गरिनेछ । सर्वोच्च नेता गणेशमान सिंहको भाषण प्रायश लामो हुन्थ्यो, चलनचल्तीको भाषामा भनिने तेजतर्रार भाषण उहाँको हुन्थेन ।

तर साठी वर्ष लामो राजनीतिपछि अघिल्तिर आएको प्रधानमन्त्री पद ‘खान्न’ भनेर त्याग गर्ने उहाँको निर्णय हजारौं शक्तिशाली भाषणभन्दा अर्बौंमा एक इतिहास बन्न पुग्यो । किशुनजीको भाषणमा विनोदप्रियता थियो, तर केवल एक वर्षमा देशलाई ०४७ सालको संविधान दिएको सुयोग्यता एवं छाता–सुराही र ट्याङकाधारी सन्तका रूपमा सम्झन्छौं, हामी उहाँलाई ।

गिरिजाप्रसाद कोइरालालाई शान्ति प्रक्रियाको महानायकका रूपमा विपक्षीले पनि सम्मान दिए, भाषणकलाका लागि होइन । पुष्पलालको स्मृति प्रखर वक्ताका रूपमा होइन, पञ्चायत ढाल्नका लागि संयुक्त आन्दोलन उठाउनुपर्छ भन्ने विचारको एक प्रस्तोताका रूपमा गरिन्छ । मदन भण्डारी साँच्चै प्रखर वक्ता हुनुहुन्थ्यो, तर कम्युनिष्ट आल्दोलनको लोकतान्त्रिक रूपान्तरण गर्न उहाँले प्रस्तुत गरेको बहुदलीय जनवादको दस्तावेजका लागि उहाँलाई विशेष स्मरण गरिन्छ ।

 श्रद्धेय नेता सुशील कोइराला अब हामीमाझ रहनुभएन, प्रधानमन्त्री पदमा उहाँको पछिल्लो उम्मेदवारी बहसको विषय बन्न पुगेको तथ्य अब विस्मृतिमा धकेलिएको छ । सदैव स्मृतिमा रहिरहनेछ, उहाँको नेतृत्वमा नेपालको संविधान निर्माण भएको ऐतिहासिक परिघटना । उहाँलाई कुनै भाषण विशेषका लागि स्मरण गरिन्न, बरु हाम्रा भाषणहरूमा उहाँका कर्मको स्मरण गाँसिनेछ ।

भाषणको पुस्तक धुलो र माकुरालाई !
इतिहासमा भाषण होइन, केवल कर्म अंकित हुँदोरहेछ । अब श्रद्धेय केपी ओलीको पालो आएको छ, इतिहासको पुस्तकमा लेख्न मिल्नेगरी कर्म—सम्पादन गर्ने । इतिहासको एउटा निमर्मता के रहेछ भने ऊसँग पाना कम हुँदोरहेछ । तुफानी भाषण या तालीका गडगडाहट अट्दा रहेनछन्, इतिहासको पुस्तकमा ।

पुरा जिन्दगीभरि गरिने भाषणको ठेली पुस्तकालयको धुलो बोक्न र माकुराको जालो ओड्न काम लाग्दोरहेछ । सुशील कोइरालाका भाषणहरूको पुस्तक छापिने छैनन् । संविधानको पुस्तक जो छापिइसकेको छ, त्यही नै हो, उहाँको उपहार, नासो या भाषण जे भने पनि ।

संविधान निर्माणमा एमाले र एमाओवादी पार्टीका दुई अध्यक्षको भूमिका पनि एकदमै महत्त्वपूर्ण रह्यो, तर इतिहासले प्रधान नेतृत्वका रूपमा प्रधान श्रेयको पगरी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भागमा दर्ज गरिसकेको छ ।

 त्यो अब न खोस्न मिल्छ, न मेट्न नै । बरु अब यो सोच्नुपर्छ, बालुवाटारको सल्लाहकार समूहले, केपी ओलीका नाममा इतिहासमा लेख्नेचाहिँ के हो ? किनकि मानिसहरू भनिरहेका छन्, ‘सुशील कोइरालाको बोली बुझिएन, कर्म बुझियो । केपी ओलीको बोली प्रस्ट बुझिएको छ, तर कर्म बुझ्न नसकेर हामी हैरान छौं ।’

संघर्षका क्रममा केपी ओली लामो समयसम्म जेल बस्नुभयो, उहाँको त्यो समर्पणप्रति हाम्रो श्रद्धा छ । मदन भण्डारीको वैचारिक दस्तावेजमा सायद उहाँका अभिमत पनि गाँसिएका छन्, त्यसप्रति सम्मान छ । बितेको आधा दशक यता उहाँका भाषणहरू चर्चाको चुलीमा छन्, त्यसप्रति प्रशंसा नै छ । तर जेलको छिँढीदेखि भाषणको सिँढीसम्म चढेर उहाँ त्यहाँ उक्लिइसक्नुभएको छ, जहाँबाट ओर्लंदा उहाँले आफैलाई समेत जवाफ दिनुपर्ने हुन्छ, ‘इतिहासका लागि मैले केही छाडेर आएँ कि सिंहदरबारको भित्तामा एकथान तस्वीर मात्र ?’

केही समयअघि एमाले सचिव मेरा मित्र योगेश भट्टराईले ट्विटरमार्फत उराठ वाक्य लेखे, ‘कुरो तस्वीर झुन्ड्याउने मात्र थिएन काम हुने भयो त्यही, फोटोहरूका लाइनमा अर्को एक फोटो’।

एमालेका दुई वरिष्ठ नेता पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले एकस्वरमा भनिसक्नुभएको छ, ‘काम केही भएको छैन, आश्वासनहरू बाँड्ने काममात्रै भएको छ ।’ सय दिनमा हजारौं बोरा आश्वासन बाँड्न सक्ने के यो गिनिज बुकमै नाम चढाउन मिल्ने, कम दिनमा बढी आश्वासन बाँड्न सफल दुनियाँकै नम्बर वान सरकार हो ? यो प्रश्न कतिपयलाई नकारात्मक लाग्न सक्छ, तर माफ गर्नुहोला, यसको जवाफ भने सकारात्मक छ ।

एक विचारकले भनेका छन्, ‘कि यस्तो पुस्तक लेख जो वर्षौंसम्म पढियोस्, कि यस्तो कर्म गर जसमाथि थुप्रै पुस्तक लेखियोस्’। यो आलेखको सुरुवातमा उल्लेखित वीपीदेखि मदन भण्डारी उपरसम्म अझै पनि पुस्तक लेखिइरहेका छन् । थप लेखिनेछन् । मेरो आग्रह छ, बालुवाटारमा गम्भीर समीक्षा गरियोस्, सफल शासनको उदाहरणीय कर्म इतिहासमा लेख्नका लागि छाडेर जाने कि भाषणकै पुस्तक छापेर आत्मसन्तोषको ढोल बजाउने ?

असिनाको मृत्यु घटनास्थलमै !

शैक्षिक, सामाजिक, प्रशासनिक या राजनीतिक हरेक क्षेत्रमा छलफल, बहस र परिवर्तनका लागि भाषण या अभिव्यक्ति अनिवार्य हुन्छ । तर भाषणको आँधीबेहरी थामिइसकेपछि गुदीको खोजी शान्तसँग गरिनुपर्छ । प्रशंसा कुनै भाषण होइन, गाली त झन् किमार्थ होइन ।

आत्मबखान या आत्मनिन्दा पनि भाषण होइन । भाषणका लागि शब्दको असिना एउटा कुरा हो । तर राजनीतिको निश्चित उचाइमा पुगिसकेका राजनेताहरूले विनम्रता, आशा, समाधान, सपना र प्रेरक सन्देश बेगरको भाषण गर्नु वक्ता र स्रोता सबैका समयको बर्बादीमात्रै हो । किनकि सबै जान्दछन्, असिनाको मृत्यु घटनास्थलमै हुन्छ ।

आधा शताब्दीअघि मारिएका जोन एफ केनेडीको अभिव्यक्ति ‘यो नसोध देशले तिमीलाई के दियो, बरु यो सोध देशलाई तिमीले के दियौ’, आज पनि संसारभरिका युवाहरूलाई छुन्छ, छोइरहेको छ । ‘आई हेभ अ ड्रिम’ मार्टिन लुथर किङको उस जमानाको भाषण आज पनि लोकप्रिय छ । नित्से, गान्धी, वीपी, चर्चिल, गुजमाओ, स्टिभ जब्स र अन्य कैयौंका मननीय अभिव्यक्ति निरन्तर जीवन्त छन् । प्रेम र जीवन दर्शनसम्बन्धी कतिपय व्यक्तित्वका भाषण र विचारको पुस्तक पठनीय छन् । दुनियाँ बदल्ने विचारले हो, विचार व्यक्त गर्ने माध्यम लेखन या भाषण नै हो ।

तर जीवनभर भाषण गरिसकेपछि के बोलेँ मैले ? भनेर बुढेसकालमा गुदी र विचारको खोजी गर्दा हातलागी शून्य भयो भने बुझ्नुपर्छ, सिंगो जीवन व्यर्थ भयो । नेपालमा आजका मितिसम्म जेजति मन्त्री र प्रधानमन्त्री बने तिनको कुल संख्या जोड्ने हो भने एउटा राम्रो जुलुसको आकार बन्न सक्छ । तर सम्झनामा ती मात्र जीवित रहनेछन्, जसले जीवन्त विचार दिए या ठोस कार्यसम्पादन गरे ।

सिंहदरबारमा एक अर्को थान फोटोमात्र झुन्डिन लागेको मित्र योगेशको चिन्ताले बालुवाटार बैठकमा प्रवेश पाओस् । नयाँ सन्देश छाड्ने ठोस कर्म गरेर इतिहासको पानामा चार लाइन सुरक्षित गर्ने कर्म हुनसकोस् । एउटा नेपालीका नाताले अझ झापाकै जमिनबाट उठेका प्रथम झापाली प्रधानमन्त्रीलाई म झापाली हुनुका नाताले पनि यो सकारात्मक आग्रह पेस गर्न चाहन्छु ।

नयाँ संविधानरूपी साझा राजनीतिक दस्तावेज निर्माण गर्ने पहिलो अध्याय सुशील कोइरालाको नेतृत्वमा सम्पन्न भइसकेको छ । अब यो संविधानप्रति अपनत्वको दायरा बढाउने र सामाजिक–आर्थिक रूपान्तरणका लागि राष्ट्रिय पुनर्निर्माण अभियानको एक बृहत्तर खाका, योजना, सपना र मिसनको एक अर्को दस्तावेजमा देशलाई गोलबन्द गर्ने दोस्रो अध्यायको सम्पादन गर्नसक्नुमा प्रधानमन्त्री ओलीको सफलता मानिनेछ । इतिहासको पुस्तकमा त्यो कर्म उल्लेख हुनेछ ।



तर दु:खद के छ भने यो कर्मतर्फ भन्दा उहाँ प्रधानमन्त्री बनेपछि पनि उही पुरानै स्टाइलमै आनन्दित देखिनुहुन्छ । कसैले उहाँलाई सम्झाओस्, प्रधानमन्त्रीको योग्यता अनिश्चित बोल्नुमा होइन, निश्चित गतिमा हिँड्नुमा मापन गरिन्छ । कसैलाई धारेहात लगाएर प्रधानमन्त्रीको कर्तव्य पुरा हुन्न, बरु अर्काको हात समाएर साथै अघि लग्नुमा प्रधानमन्त्रीको सफलता मानिन्छ ।

भूकम्पले थलिएको र नाकाबन्दीले जर्जर बन्न पुगेको अर्थतन्त्र उकास्न स्वैरकल्पनाको भाषण र आश्वासन होइन, ‘गर्न सकिने ससाना कर्म—सम्पादन गरेर नयाँ परिस्थितिको विकास गर्ने’ दायित्व पो हो, प्रधानमन्त्रीको ।

आँगनमा आइपुगेको एउटा भोको माग्नेलाई चौरासी व्यञ्जन कुनै दिन खुवाउनेछु भनेर सुनाउनुभन्दा तत्काललाई दुई टुक्रा बिस्कुट हातमा राखिदिनु मानवोचित धर्म हुन्छ । गृहिणीहरू आधा सिलिन्डर ग्यास नपाएर छट्पटाइरहेका थिए, प्रधानमन्त्रीले तिनलाई घर–घरमा ग्यासको पाइप जोडिदिने भाषणको पार्सल पठाउनुभयो ।

मोटरसाइकलमा पेट्रोल नपाएर पैदल हिँडिरहेको युवकलाई उहाँले सपनाको रेलगाडीमा चढाउनुभयो । अत्यावश्यक औषधीसम्म नपाएर छट्पटाइरहेको बिरामीलाई उखान–टुक्काको स्लाइनले बचाउन सक्दैन भनेर उहाँले बुझिदिनु भएन ।

वीपीले आफू प्रधानमन्त्री भएका बेला घोषणा गर्नुभएको थियो, पन्ध्र वर्षभित्रमा हरेक नेपालीलाई म आफू जत्तिको बनाउनेछु । जसको एउटा सानो घर, एक टुक्रा माटो, दुहुना गाई, छोराछोरी पढाउने व्यवस्था अनि बिरामी पर्दा ओखतीमूलो गर्ने क्षमता होस् । वीपीले त्यति गरिसक्न पन्ध्र वर्ष लाग्ने समय अनुमानका साथ संकल्प र योजना बनाउनुभयो ।

त्यो एक प्रखर राजनेताको व्यावहारिक सपना थियो । चुलामा ग्यास पुर्‍याउन सुविचारित ढंगले सम्भावना अध्ययन, कार्ययोजना निर्माण, बजेट तर्जुमा र प्राविधिक निर्माण गरेर चार चरण पुरा गर्नुपर्छ । समय र सन्दर्भ मिलाएर परिपक्व ढंगले त्यस्तो घोषणा गरेर एक दशकको लक्ष्य गाँसेको भए त्यो एक सुन्दर सपना र कार्यक्रम मानिने थियो । तर ग्यासको लाइनमा ६ घन्टा उभिएकी गृहिणीलाई एकाएक झ्वाट्ट सुनाउँदा त्यो केवल एउटा जोकजस्तो बन्न पुग्यो ।

परिणाममा गम्भीर योजनाबेगर हलुका ढंगले भाषण बजाइदिँदा उहाँ हास्यको पात्र बन्न पुग्नुभयो र कतिपय राम्रो सम्भावनाको उहाँका प्रस्ताव पनि आमरूपमा हावादारी गफका रूपमा आलोचित हुनपुगे ।

एक मित्रले फेसबुकमा त्यसैले यस्तो ठट्टा लेखे, ‘तितो सत्य र मेरी बास्सैजस्ता प्रसिद्ध हास्य सिरियल किन बन्द भए भने हरेक दिन टिभीमा प्रधानमन्त्रीको भाषण आइरहन्छ ।’

कठोर छ, समय
एउटा प्रसिद्ध भनाइ छ– राम्रो गर्न नसके कम्तीमा नराम्रो नगर । मिठो बोल्न नसके तितो नबोल । सक्छौ काम गर सक्दैनौ ध्वनि प्रदूषणको भाषण बन्द गर । हाम्रो राजनीति उसै पनि बदनाम छ, हामीले आपसमा गरेका गालीले, बाँडेका आश्वासनका भारीले, जोगाउन नसकेको चरित्रले, जिताउन नसकेको संस्कारले । हामीले सरकारहरू बनायौं, संस्कार बनाउन सकेनौं । नयाँ संविधान बन्यो, तर हामी भने पुरानै मति र प्रवृत्तिमा रहयौं भने कागजका चिसा अक्षरबाट जीवनको न्यानोमा कसरी उत्रिएला संविधान ?

त्यसैले अन्त्यमा विनम्र आग्रह छ प्रधानमन्त्रीज्यू, सबै नेपालीलाई अपिल गरिदिनुस्, बोलीमा होइन कर्ममा जोड देऊ भनेर । त्यसको सुरुवात गर्ने नायक बनिदिनुहोस् । माथि उल्लेखित वाक्यकै परिमार्जन पेस गरेर आलेख टुङ्ग्याउँछु– सुशील कोइरालाको बोली होइन, कर्म बुझियो, केपी ओलीको भने कर्म हैन बोलीमात्र बुझियो, कसैले पनि यस्तो निष्कर्ष निकाल्ने दिन नआओस् । समय अझै छ कमरेड, तर हेक्का राख्नुहोला, कठोर छ समय, जो बितिसकेपछि पोलिटब्युरोको आदेशमा वापस फर्कंदैन ।


प्रकाशित: फाल्गुन ६, २०७२
कान्तिपुरबाट