देवत्वकरण ,सत्तोश्राप या आत्मालोचना ? - सरगम भट्टराई



राजनीतिक,सामाजिक अथवा धार्मिक होस हामी अचम्मको परिबेशबाट गुज्रिरहेका छौँ। हामीले आम मान्छे होस या राजनेता , सामाजिक अभियन्ता होस या सेलिब्रिटी, धार्मिक होस् वा आर्थिक सबै पात्रलाई मन परुन्जेल देवत्वकरण गर्यौ ,जय कार गर्यौ ,उनीहरुले गर्ने वा गर्न सक्ने सामान्य तथा असामान्य त्रुटीहरुको सिधै नजरअन्दाज गरिरह्यौ , अनि उनीहरुले कहिल्यै पनि गल्ती गर्दैनन भनेर मुक्त कण्ठले प्रशंशा गरिरह्यौ , हनुमान बनिरह्यौ। कसैलाई बाचुन्जेल सत्ते सराप गर्यौ अनी मरणोपरान्त देवत्वकरण गर्यौँ।  अनी कसैलाई एक पटक तेजोवध गरेपछि पनि फेरी आफ्नो बुई चढाउदै दुधले नुहाईदिएर पुनर्स्थापित गर्यौ भने कसैका धेरै राम्रा गुणहरुलाई एक दुईवटा कमजोरी देखाएरै तेजोवध गर्यौँ।

हामी देवी देवताको देवकरण गर्न चुक्यौ ,अर्थात साँच्चै राम्रा मान्छेहरुको देवत्वकरण गर्न चुक्यौ, धर्मको भाव अनुसार चल्न चुक्यौ , मानवतामा चुक्यौ , परोपकारमा चुक्यौ , बुद्धत्वमा चुक्यौ तर बुद्ध नेपालमा जन्मिएका हुन भनेर घोक्रो फुलाएर कराउन मात्र सक्यौ , बुद्धको एउटै मात्र उपदेश पनि शिरोधार्य गर्न सकेनौ । संसारमा जहाँ भए पनि म नेपाली हुँ भनेर आफ्नै पौरखले चिनाउन चुक्यौ केवल सगरमाथाले चिनाउन खोज्यौ , गोर्खाली वीरका सन्तान भनेर चिनाउन खोज्यौ , लुम्बिनी क्षेत्रको भनेर चिनाउन खोज्यौ तर अर्को  आफ्नै पौरखको  ईतिहास रच्न सकेनौ । अस्थिरता, अराजकता, भ्रष्टाचार, जातियता र क्षेत्रियता र साम्प्रदायिता काखी च्यापेर आदर्शका कुरा गर्यौ ।

परिवर्तन आँफैबाट हुनुपर्छ भन्ने शाश्वत सत्यलाई भुल्दै अरुबाट मात्र राम्रोको अपेक्षा गर्यौ 

         
हामी एकथरी समूहले प्रचण्ड र बाबुरामहरुलाई देवत्वकरण गर्यौ, बि. पी. र मनमोहन तथा शुसिल कोईरालालाई देवत्वकरण गर्यौ, हामी मध्ये केहिले उनीहरुलाई सत्तेश्राप पनि गर्यौ। राजनीति ,धर्म र समाजसेवा गरिरहेकाहरुको केहि क्षण छाती फुलाएर गुण गान गाई रह्यौ, न त उनीहरुले गरेको राजनीति र समाजसेवामा नागरिक भएर निगरानी गर्नसक्यौ, न त सहजीकरण नै, बरु
हिजोका दिनमा राजनीति, धर्म र समाजसेवा गर्नेहरुको  कमजोरी भेटियो , उनीहरुले गरेको समाजसेवामा दाग देखियो , दुर्गन्ध आयो अनि हामी आम ब्यक्तिहरु  त्यसैको पछि पछि लाग्यौ , उनीहरुले गरेका सारा कामहरुको उल्टो टिप्पणी थाल्यौ । अन्तत सबैलाई लाई बदनाम गरेरै छोड्यौ अनी सन्तोषको शास फेर्यौ । राम्रो काम गर्नेहरुलाई काम गर्न दिएनौँ।

समयको अन्तरालमा बि पि , गणेशमान, राजा बिरेन्द्र, ज्ञानेन्द्र, मदन भण्डारीहरुलाई पनि त्यसै गर्यौ । अर्थात ब्यक्तिवादलाई  बढावा दियौँ, कसैले बोक्यौँ कसैले पछार्यौँ । नियम एकातिर काम अर्कोतिर गर्ने लथालिङ र भताभुङग संगठन भित्रका एक दुई राम्रा नराम्रा पात्र हरुलाई फेरि  मलजल गर्यौ अनि समग्र संगठनलाई गौण ठान्यौ अर्थात भत्किएको घरभित्र परदेशमा हराएको छोरो खोज्यौ ।

राजनीतिलाई आफू अनुसार प्रयोग गर्यौ,आफ्नो नजिकका दलहरुका नेतृत्वले जे जे भने ताली पिट्यौ,धर्मलाई आफ्नै अनुकुल पारेर समाजलाई बाँड्यौ, जात बनायौँ, धर्मको मूल मर्मलाई कुल्च्यौ, समाजसेवालाई ब्यापार वा व्यवसाय बनायौं र समाजसेवाको पवित्र भावलाई कुल्च्यौँ।यसरी समाज,राजनीति र धर्मको आलोचना र जयजयकार गर्दै आयौँ हामीले।

जीवनशैली पनि त त्यस्तै परजीवि बनायौँ हामीले ! स्नातकोत्तर गरेको छोरालाई डि. भी. पर्दा खुशीले उफ्रियौ,राजपत्रांकित प्रथम श्रेणीका सचिवहरुले समेत ज़ागिर छाडी पि. आर. र डि.भी रोज्यौँ। अस्ट्रेलियामा बस्ने केटालाई छोरी दिदा गौरवान्वित भयौँ, छिमेकीको छोरा छोरी जापानमा पढ्न जाँदा आफ्ना छोरा छोरीहरुलाई घरखेत गरेर यूरोप पठायौँ। रेमिट्यांस संग संगै नग्नता र परनिर्भरता पनि हुल्यौ।

आफूले सरकारी स्कूलमा पढाएर गरीबका छोरा छोरी नपढाई राजनीति गर्यौँ, डाक्टरहरु नीजि क्लिनिक, प्रोफ़ेसरहरु प्राईभेट कलेज र समाजसेवीहरु पाँचतारे होटलमा बसेर लाखौँ रूपैया तलब खाएर गरीबी निवारणका गफ चुट्यौँ।कसैले समाजसेवाका नाममा राहतको राशन पनि हसुर्यौं अनि कोहि दिनरात नभनी सक्दो सेवा गरिरह्यौँ।


अब के गर्ने ? देवत्वकरण, सत्तेश्राप या आत्मालोचना 

       सबै ब्यक्तिको बुझाई एउटै हुदैन र हुनुपनि हुँदैन। तर धेरै सात्विक कुराहरु सत्य नै हुन र मिथ्या कुराहरु मिथ्या । सत्यको, न्यायको र शुसासनको पक्षपोषण गर्ने र कमजोरीलाई सुधार्दै जाने हो भने सबै पक्ष सबल बन्छन, सिधा अर्थमा त्यहि लोकतन्त्र हो। ब्यक्ति, समाज, धर्म, जात, राजनीति सबैमा यो लागू हुन्छ।अर्थात सबल र दूर्वल दुबै पक्षबाट सिक्न सक्ने हो भनेनै सामाजिक लोकतन्त्र बलियों हुदै जान्छ।

मूल स्वच्छ नभएसम्म बग्ने पानी स्वच्छ हुन सक्दैन । केहि राजनेता, केहि समाजसेवी, केहि प्रशासक र  प्रहरीका रमेश खरेल र सर्वेन्द्र खनालहरुले राम्रो गर्न खोज्दैमा मात्र प्रहरीको आचरण सुध्रेको मान्न सकिदैन | त्यसैगरी केही रविन्द्र मिश्रहरुले दश करोडको परोपकारी कोष खडा गर्दैमा गरीबी न्युनीकरण हुन सक्दैन । तर यस्ता कामले परिवर्तनको छनक भने अबस्य दिन्छ । यद्यपी परस्पर कर्तव्यबोध गर्दै बिद्यमान सामाजिक संस्थाहरु प्रतिको हाम्रो सोच र ब्यबहार पुनरावलोकन नभए सम्म नयाँ नेपाल बन्ला र ?

-kris.bh@hotmail.co.uk
 - भृकुटी न. पा.-६ कपिलवस्तु