प्रधानमन्त्री ओली मुम्बईबाट बेलुकी काठमाडौं आइपुग्ने

काठमाडौं, फागुन १२ – प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किंदै हुनुहुन्छ । प्रधानमन्त्रीसहित नेपाली टोली बेलुका मुम्बईबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले ओलीले बुधबार मुम्बईमा स्थानीय उद्यमी, लगानीकर्ता र बलिउडका कलाकारसँग भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्री फर्कनुअघि संयुक्त विज्ञप्ती जारी गर्ने या नगर्ने विषय भने टुंगो लागेको छैन ।
संयुक्त विज्ञप्तीमा नेपालले संविधानप्रति भारतको पूर्ण समर्थन रहेको उल्लेख गर्न चाहेको छ भने भारतले महत्वपूर्ण उपलब्धी मात्र भन्ने उल्लेख गर्न खोजेको छ । यसलाई नेपाली पक्षले नेपालको नयाँ संविधानलाई भारतले स्पष्ट भाषामा स्वागत गर्न नचाहेको रुपमा लिएको छ । कुनै एक मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले अर्को देशको भ्रमण गरेपछि दुवै देशबिच भ्रमणमा सहमति भएका विषय समेटर संयुक्त विज्ञप्ती जारी गर्ने चलन छ । यसै अनुसार संयुक्त विज्ञप्ती जारी गर्ने तयारी भएपनि टुंगो लाग्न सकेको छैन । भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री लगायतसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ । ओलीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतले नेपालको संविधानको खुलेर स्वागत गरेका छन् । नाकाबन्दी अन्त्य भएसँगै भारत गएका प्रधानमन्त्री ओलीको भव्य स्वागत पनि भएको छ । दुई देशबिचको असमझदारी हटाउन आफ्नो भ्रमण सफल र उपलब्धीमूलक भएको प्रधानमन्त्रीले बताइसक्नुभएको छ ।