कस्तो छ, सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य ?





काठमाडौँ, १७ फागुन । गत महिनादेखि अस्पताल भर्ना हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएको छ । जीवनका ७८औँ वसन्त पार गरिसक्नुभएका गुरुङको गत महिनादेखि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित छन् । गुरुङको उपचार खर्चका लागि करिब २० लाख जति लाग्ने अनुमान गरिएको नयाँ दिल्लीमा रहेका सङ्गीतकार मणिकमल क्षेत्रीलाई उद्धृत गर्दै गायिका कोमल ओलीले बताईन ।

राष्ट्रियगानका सङ्गीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । तर उपचारका लागि अहिलेसम्म सरकारीस्तरबाट कुनै पहल नगरिएको गायिका ओलीले गुनासो पोखे । राष्ट्रको एउटा धरोहरको उपचारमा सरकारले चाँडै चासो देखाउने आशा व्यक्त गर्दै उनले भने, “आजकै मन्त्रिपरिषद्को बैठकले यसबारे केही निर्णय गर्ने आशा छ ।” नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।

तत्काल सहयोग गर्न प्रधानमन्त्रीको निर्देश

यसैबीच  गुरुङको उपचारका लागि सरकारले सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्चको उपलब्ध गराउने प्रस्ताव ल्याउन अर्थमन्त्री बिष्णु पौडेल लगायतलाई निर्देशन दिएका छन् । गुरुङको उपचारमा सरकारले चासो नदिएको भनेर संचार माध्यममा समाचार आइरहेको छ । तर भारत भ्रमण अगाडिदेखि नै सरकारले उनलाई उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली आफैं गुरुङलाई भेट्न चाहेका थिए, तर समय अभाव भएपछि उनले स्वकीय सचिव इन्द्र भण्डारीलाई भेट्न पठाएर सबै समस्याको जानकारी लिएका थिए । तर प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा उनलाई सहयोग नगरेको भनेर गलत आरोप लगाइएको छ । राष्ट्रिय गीतका सर्जक गुरुङलाई उपचार खर्च दिनका लागि गृहकार्य भइरहेको अर्थमन्त्री बिष्णु पौडेलले लाई जानकारी दिए ।