कहाँ जान्छ तेल ?

काठमाडौं फागुन,४- नेपाल आयल निगमले सोमबार पेट्रोल तथा डिजेल दिने सार्वजनिक सूचना जारी गरेको छ। उक्त सूचनामा पछिल्ला चार महिनामा पटकपटक प्रकाशित सूचनामा झैं खसीबजारस्थित सीता ट्रेडबाट ४ हजार लिटर पेट्रोल बिक्रीवितरण गरिने जनाइएको छ। तर, खसीबजारस्थित सीता ट्रेड २०६२–६३ को आन्दोलन पनि बन्द भएको हो। हाल उक्त स्थानमा सवारी साधनको पार्किङ छ। बन्द पेट्रोलपम्पका लागि निगमले पठाएको तेल कहाँ जान्छ?– राजधानीको एक तारे होटलले नेपाल आयल निगमसँग ३ हजार लिटर डिजेल उपलब्ध गराइपाउन निवेदन दियो। निगमका जिम्मेवार कर्मचारीले निवेदकलाई १० हजार लिटर डिजेल माग गरेको निवेदन ल्याउन सुझाए। निगमका अधिकारीले सर्त राखे– ४ हजार लिटर डिजेल दिन्छौं। अधिकारीले सुझाएअनुसारै तारेहोटलले १० हजार लिटर डिजेल माग गरेर अर्को निवेदन दियो। निगमले उसलाई ४ हजार लिटर डिजेल दिएर पठायो। बाँकी ६ हजार लिटर डिजेल कहाँ गयो?
भारतले विगत ४ महिनादेखि लगाएको नाकाबन्दी गत साता खुलेर सामान्य अवस्थाभन्दा केही कम तर पछिल्ला समयको भन्दा धेरै नै बढी तेल नेपाल भित्रिए पनि आम उपभोक्ताले पेट्रोलियम पदार्थ सहज रुपमा पाएका छैनन्।
बढी पैसा तिर्ने हो भने अर्थात् प्रतिलिटर २ सय रुपैयाँमा भने कालोबजारमा तेल उपलब्ध छ, उपभोक्ताका घरघरमै डेलिभरीसमेत गरिन्छ। कहाँबाट आउँछ त कालोबजारमा तेल? अब प्रश्नको जवाफ असहज छैन, कालोबजारीको च्यानलको चाबी जो निगममै छ।
निगमले खसीबजारस्थित सीता ट्रेडझैं बन्द भएका पेट्रोलपम्पका नाममा सार्वजनिक सूचना जारी गरेरै तेल पठाइरहेको छ। त्यो तेल बन्द पम्पको सट्टा कालोबजारीको हातमा जान्छ र उसले दोब्बर मूल्यमा उपभोक्तालाई बेच्छ। एक पटक हिसाब गरौं, विगत ४ महिनादेखि सोमबारसम्म कम्तीमा पनि एक दर्जनपटक ४ हजार लिटर पेट्रोल तथा ४ हजार लिटर डिजेल बन्द सीता ट्रेडका नाममा गएको देखाइएको छ। १२ पटक ४ हजार लिटर गरेर उक्त पेट्रोलपम्पका नाममा कम्तीमा ४८ हजार लिटर पेट्रोल तथा डिजेल गएको देखिन्छ जसको औसत बजारभाउ करिब १ करोड रुपैयाँ पर्न आउँछ तर कालोबजारमा दोब्बर मूल्यमा २ करोड रुपैयाँमा उक्त तेल बेचिएको अनुमान लगाउन गाह्रो छैन। एउटा बन्द पम्पको नाममा मात्र २ करोड कमाइ हुन्छ भने किन उपभोक्ताले सहज रुपमा तेल पाउँछन्?
पेट्रोलियम पदार्थको कालोबजारीमा निगम तथा सरकारी संयन्त्रकै संलग्नता देखिने यो तथ्य पहिलोपटक सार्वजनिक भएको भने होइन। राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले समेत गत महिना सरकारी संयन्त्रको संलग्नतामा पेट्रोलियम पदार्थ कालोबजारी तथा तस्करी भएको सार्वजनिक गरेको हो। आयोग भन्छ, ‘पेट्रोलियम तस्करीमा सुरक्षा निकाय र प्रशासनसमेत संलग्न भएको आशंका छ।’
निगमका प्रवक्ता मुकुन्द घिमिरेलाई बन्द पेट्रोलपम्पमा कसरी तेल गयो भनेर सोध्दा उनले बन्द पेट्रोलपम्पमा तेल कसरी गयो र कसले लग्यो भन्नेबारे अनभिज्ञता प्रकट गर्दै बुझेर जानकारी गराउने बताए। पछि, उनको मोबाइल स्विच अफ भयो।
घिमिरेका अनुसार काठमाडौं उपत्यकामा १ सय २५ पेट्रोल पम्प छन्। जसमा निगमद्वारा कारबाहीमा परेका तथा बन्द पनि हुन सक्छन्। देशभरिमा २ हजार २ सय पेट्रोलपम्प रहेको पनि उनले जानकारी दिए।
राष्ट्रिय मानवअधिकार आयोगका अनुसार वीरगन्जबाहेक सबै नाकाबाट हुने कालोबजारी नियन्त्रण र सुरक्षा संवेदनशीलतातर्फ सुरक्षा निकाय र प्रशासन उदासीन छ। साथै, पर्साको ठोरी नाकामा सुरक्षाका लागि तैनाथ गरिएको सुरक्षाकर्मीका अगाडिबाटै इन्धनलगायत सामग्रीको खुलमखुला कालोबजारी भइरहेको छ।