यी हुन् नेपाली फुटबलका नवयुग

काठमाडौं फागुन,४- १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । र, फुटबलको यो नवयुगको सारथि बनेका छन् नवयुग श्रेष्ठ ।
बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लड्डु दिलाएका छन् ।
फुटबलमा अहिले नवयुगको उचाइ ह्वात्तै बढेको छ । तर, सौभाग्य नै मान्नुपर्छ, उनी फुटबल छिर्नुको खास कारणचाहिँ उचाइ कम हुनु हो ।
इलाम मंगलबारेको उदित क्लबले ४ फिट १० इन्चभन्दा कम उचाइ भएकालाई फुटबल सिकाएर टिम बनाउने योजना ल्याएको थियो । ‘फुच्चे केटा’हरूको टिममा सामेल हुन पाएका नवयुगले प्रगति गर्दै अहिले नेपालको उचाइ बढाइदिएका छन्।उदित क्लबबाट उदाएका उनले जिल्लामा सहजै स्थान पाए । जिल्लाको त्रिवेणी युथ क्लबमा आबद्ध भएपछि उनका लागि दिन फेरिए ।
उनी १२ कक्षामा पढ्दै थिए, त्यति नै वेला एन्फाले यू–१६ छनोटको लागि देशभरबाट दरखास्त आह्वान गर्‍यो ।
इलाममा सपना बुनिरहेको त्यो ठिटोलाई त्यही दरखास्त आह्वानले काठमाडौं ल्यायो । तर, एन्फाले कुनै छनोट कार्यक्रम गरेन । एन्फाकै महासचिव धीरेन्द्र प्रधानले उनलाई पुर्‍याएका थिए एपिएफ क्लबमा । तर, त्यहाँ पनि उनी छनोटमा परेनन् । बाध्य भएर उनी सी डिभिजनको क्लबमा खेल्न थाले ।
कर्माछिरिङ शेर्पाको नजरमा परेपछि उनी बी डिभिजन खेल्दै गरेको हिमालयन शेर्पा क्लबमा आबद्ध हुन पाए ।
नवयुग हिमालयन क्लबमा त गए, तर मैदानमा झर्न पाएनन् । प्याराफिटमा बसेर प्रतियोगिता हेरे, प्रतियोगिता सकिएपछि दर्शकजस्तै घर इलाम फर्किए ।
इलाम पुग्दा नपुग्दै उनका साथीले नयाा जुक्ति लगाए आर्मीमा भर्ती भए खेल्न पाइन्छ । यो उनको अन्तिम आशा पनि थियो,धनकुटा पुगेर छनोटका लागि दगुरे, मिहिनेत खेर गएन । उनले सोचेजस्तै भर्ती भएपछि आर्मीका आन्तरिक प्रतियोगितामा फुटबल खेल्न थाले । नौ महिनाको सैन्य तालिमपछि उनी धनकुटाको हिलेबाट सीधै त्रिभुवन आर्मी क्लब पुगे । ०६६ सालको अन्तिममा क्लबमा आबद्ध भएका उनले ०६७ सालको नकआउट फुटबल प्रतियोगिताबाट ए डिभिजनमा डेब्यु गरे । उनी क्लबमा आएकै वर्ष सन्तोष नेपाली शान्ति मिसनमा गएकाले नवयुगले स्थान पाए । अवसर सदुपयोग गर्दै उनले आर्मीको भरपर्दाे खेलाडी बने । तर, राष्ट्रिय टिममा भने स्थान बनाउन सकेका थिएनन् ।
आर्मीका भरपर्दा खेलाडीको परिचय बनाए पनि उनले राष्ट्रिय टिममा भने स्थान पाउन सकेनन् । ०६८ देखि नै उनलाई राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा बोलाइन्थ्यो । तर, सधौ फालिन्थे । उनको खासै गुनासो भने थिएन । अहिले नपरे अर्काे पटक पर्छु भन्दै चित्त बुझाउँथे ।
यस वर्षमात्र उनी प्रशिक्षकको नजरमा परे । साफ च्याम्पियनसिपका लागि छनोटको पहिलो चरणमा उनी नेपाली टिममा परे । साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्दा उनले राष्ट्रिय टिमबाट डेब्यु गरे । पुनेमा भएको खेलमा उनले जगजित श्रेष्ठलाई सब्स्टिच्युट गर्दै डेब्यु गरेका थिए । नेपाली टिममा परे पनि उनी सुरुवातका चार खेलमा टिमको पहिलो रोजाइमा पर्न सकेनन् ।
बंगबन्धु गोल्डकपमा भने उनी पहिलो रोजाइमा परे । तर, लिग चरणका तीन खेलमा अवसर पाएर पनि गोल गर्न सकेनन् । सेमिफाइनलमा भने माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दै सनसनी मच्चाए । बहराइनविरुद्धको फाइलनमा समेत गोल हान्दा उनी सर्वाधिक गोलकर्ता र मस्ट भ्यालुएवल प्लेयर बनिसकेका थिए । बंगबन्धु लगत्तै सागमा त उनले दुईवटा ह्याट्रिक गरे । एक महिनामा तीन ह्याट्रिक पूरा गरेका उनले भारतविरुद्धको निर्णायक खेलमा निर्णायक गोल गरेर नेपाली फुटबललाई नवयुगमा प्रवेश गराए ।