भासिएको आकाश (कथा)





   -सरगम भट्टराई

दुई चार दिन भो मन खुशी छैन राहुलको। तारा एयरको बिमान दुर्घटना भएर तेईस जनाको एकै पटक देहावसान हुँदाको क्षण कति पीडादायक  भए होला ? पिडाले कति प्रताड़ित भए होलान यात्रुहरु। मृत्युले तेईस जनालाई एकैपटक जनाउ घन्टी दिदा ती फक्रिनै नपाएका कोपिलाहरु कसो गरे होलान ? मनमा यस्तै यस्तै परिदृश्यहरुले उपस्थिति जनाईरहेको कुरा सुनायो मलाई, म पनि भावविभोर भएँ तर के नै गर्न सकिन्थ्यो र ?

          राहुलको पनि जागिरै त्यस्तै सधैजसो हावामा उडिरहनुपर्ने, आफू संगसंगै यात्रुहरुको ज्यानको नैतिक जिम्मेवारी हुने, फेरि त्यसमाथि घरपरिवारको निरन्तर चासोको बिषय चाहिं उसकै ज़ागिर बन्नुपर्ने ! नबनोस पनि त कसरी ! चरीभन्दा पनि हलुका गरि हावामा उड्नु र उडाउनु कम्ति चुनौतीपूर्ण कहाँ हो र ?

     हुनत हरेक काम चुनौतीपूर्ण छन, एकदिन अवश्य मर्नुपर्छ | त्यसैले देशको लागि केहि गर्नुपर्छ भन्ने भावले जहिले पनि उर्जा दिईरह्यो राहुललाई। जागिरबाट केहि रक़म समाजसेवाको लागि खर्च गर्ने मेरो सुझावलाई उसले एउटा मार्गदर्शनको रुपमा लिँदा मलाई लाग्थ्यो हामी पूर्वजन्ममै असल मित्र थियौं।

          कम अन राहुल, यू अलवेज थिंक अबाउट दि कन्ट्री। थिंक अबाउट योर बेटर लाईफ टू ! लाईफ़ ईज ब्युटिफुल। कहिलेकाहिं हामी जमघट हुँदाको रोमान्टिक मूडमा केहिबेर ऊ टोलाउँदा मैले जहिले पनि उसको भावनात्मक मनलाई डाईभर्ट गरि बिषयवस्तु मोड्ने  प्रयास गर्थेँ।

   राहुल साँच्चै नै बसन्त ऋतु जस्तै कोमल, खाईलाग्दो र अनुशासित मित्र हो मेरो। पहिलो पल्ट मैले आई एस सी अध्ययनको क्रममा भेटेको थिएँ, उसलाई। एउटा  अन्तर्राष्ट्रिय ग़ैरसरकारी संस्थाको ज़ागिरमा म छिरेपछि उसको र मेरो भेंट अलि पातलो भएको थियो, आज धेरै समयपछि भेट्दा हामी दुबै प्रफुल्ल थियौं ।

हेलो म्यान ! ह्वेयर आर यु लष्ट? आर यु विद मि? मैले  झपार्दा उ झसंग भएको मलाई याद छ। साँच्चै नै उ त हराएको रहेछ हाम्रो मित्रताको ईतिहाँस संझेर।

           आज पहिलोपटक मेरै साथीले उडाएको जहाजमा जुम्ला जाँदै थिएँ म काम बिशेषले।मध्यान्हको १२:३५ मा जुम्लाको लागि प्रस्थान गर्नुपर्ने, मौसम त्यति अनुकुल पनि थिएन तर सबै तयारी भैसकेकोले उड़ान भर्ने निश्चित भो । राहुल र रोशन दुई जना चालक दल र हामी यात्रुहरु ९ जना गरी ११ जना उड़्ने तयारी गर्यौ।

नियमित जसो आकासमा उडिरहिन्थ्यो, त्यसैले कुनै त्यस्तो डर त लागेन, मलाई त अचम्मको अनुभूति भईरहेको थियो, गर्वले छाती प्रफुल्ल थियो , आफ्नै साथी पाईलट अनि उसले उडाएको जहाजमा सरर । तर कतिपय यात्रुहरु डरले रातों पिरो देखिन्थे।  सिट बेल्ट बाँध्ने आग्रह र उडानको सामान्य जानकारीपछि हामीहरु बिस्तारै जमिन छोड्यौं।  तर अरु बेला जस्तो उ पटक्कै खुशी थिएन आज, त्यसैले घरमा फोन लगायो उड्नु पहिले। भोलि दिउसो काठमांडौ फर्किने वाचा गर्यो उसले।

फागुनको पारिलो घाम, हल्का तुवालो र बादलको मौसम थियो, नेपालगंज शहर मनोरम देखिन्थ्यो। बिस्तारै उत्तरतर्फ हावामा हुईकियौं हामी।

जुम्ला पुग्न धेरै समय थिएन, यात्रुहरु झ्यालबाट मनोरम दृष्य हेरिरहेका थिए। प्रकृतिले साँच्चै कति सुन्दर बनाएको छ नेपाललाई हगि! मैले आफैसँग प्रश्न सोधेँ अनि जवाफ पाएँ: हो त दुलही जस्तै !

         जहाजको ईन्जिनमा समस्या आयो, अब जुम्ला पुग्न सकिदैन, तपाईहरु नआत्तिनोस है, एक्कासी एउटा कठोर तर सत्य आवाज सुन्नु पर्यो हामीले। सबैका नौ नाडी गले, हाम्रो मुटुको धड्कन बन्द भएजस्तै भयो।

सिंगल ईन्जिन, प्रतिकुल मौसम, टावरसंगको संबन्धबिच्छेद र भौगोलिक बिकटताले एकाएक सबैको आँखामा आँधिहुरी चलिरह्यो, तर उनीहरुले हामी यात्रुहरुलाई सान्त्वना दिईरहेका थिए, हामी सबैको ज्यान उनीहरुकै हत्केलामा थियो। हामी सबै यात्रुहरुमा रुवाबासी चल्यो,कोहि भगवानको नाम त कोहि बाबुआमा र छोराछोरीको नाम पुकार्दै हामीलाई बचाउनुस हामीलाई बचाउनुस गर्दैथिए। अब बाँच्ने र बचाउने आशा झिनो मात्र थियो। सारा भगवानहरुलाई संझेर म पनि आँखा चिम्लिरहेँ।

यात्रुहरु रोईरहेका थिए | चिच्याईरहेका थिए | सबैले बाँच्ने आशा मारिसकेका थिए। यस्तो कठिन घडीमा केहि सान्त्वना र सहानुभूतिका कुरा त भन्नै पर्थ्यो, मलाई मेरो साथीले बचाउछ भन्ने सोह्रैआना बिश्वाश थियो, त्यसैले मैले पनि बिश्वासका साथ भनेँ, "नआत्तिनोस केहि हुदैन।"

  "तपाईंहरु नआत्तिनुस हामी मरेरै भएपनि तपाईहरुलाई बचाउने छौँ। प्लिज धैर्य गर्नुस, उनीहरु लगातार सांन्त्वना दिईरहे, तर बाँच्ने आश त कहाँ पो थियो र?"

    ईन्जिनमा देखिएको गम्भीर समस्याको एउटै मात्र उपाय सेफ़ ल्यान्डिंग थियो, तर त्यो बिकट ठाउँमा कतै ल्यान्डिंग गर्ने उपाय थिएन तर शास रहुन्जेल आस रहनेरहेछ, सुरक्षित अवतरणका हजारौं प्रयासहरु गरिरहेका थिए उनीहरुले तर अझै कुनै भनेजस्तो ठाउँ भेटिएको थिएन।

          मन हारेकै थिएन, त्यसैले लगातार प्रयास जारी गरे उनीहरुले। उनीहरुकै आशा र भरोसामा जीवनको भीख मागिरहेका हामी यात्रुहरुलाई आफू मरेरै भए पनि बचाउनु आफ्नो पेशाको धर्म हो भन्ने राहुलको विचार कति महान रहेछ भन्ने मैले बल्ल बुझेँ।

चित्कार जारी थियो, त्यो चित्कार त उनीहरुमा पनि अवष्य थियो होला तर यात्रुहरुको अभिभावक भएकोमा चिच्याउनु भन्दा बाँच्न सक्ने आधार चियाउनु थियो, त्यही प्रयासमा निरन्तर लागिरहे उनीहरु। सानो फाँटको कहिले वल्लो त कहिले पल्लो तर्फ हामी अनायास मच्चिरह्यौ, एक चिम्टि शासको आसमा। जीवन कति महत्वपूर्ण हुँदो रहेछ, बल्ल  थाहा हुँदै थियो।

      अन्तत: जीवन बाँच्न पाईने मोडमा हामी आईपुग्यौ, बाँच्ने झिनो आधार देखियो | बिकट पहाडको एउटा गहूँबारीमा आकष्मिक ल्यान्डिंग गर्ने निधो गरे उनीहरुले। हामीलाई निरन्तर सहानुभूति दिदै। मनमनै मेरो साथीलाई धन्यवाद दिईरहेँ मैले अनि भगवानलाई पनि।

अन्तत: चील घुमेझै फनफनी घुमेपछि जमीनमा घिसारेर जहाज़ बिसाउन सफल भए। तर नजिकैको कान्लामा जहाज नराम्रो संग ठोक्कियो. अगाडिको भाग भाँच्चिएर रोशन र राहुल दुबैको ज्यानमाथि खनियो | म अचेत जस्तै थिएँ, मलाई आफ्नो पिडा भन्दा मेरै अनन्य मित्र राहुल र उसको सहकर्मी साथीको थियो।

  उठेर उनीहरु नजिक जान खोजेँ,सहयोगको लागि चिच्याउन खोजेँ तर आवाज़ निस्कन सकिरहेको थिएन,म उठ्न सकिन, केहि यात्रुहरु बिस्तारै बाहिर निस्कन खोजेको देखेँ।

   प्लिज मेरो साथीलाई बचाउनुस, प्लिज गाउँलेहरुलाई खबर गर्नुस, मैले शासै शासले सहयोगको याचना गरिरहेको थिएँ। मेरै आँखाका अगाडि आफ्नो अनन्य मित्र मृत्युपथमा हिडिरहेको टुलुटुलु हेर्नुपर्दा म आफैलाई धिक्कारी रहेको थिएँ केहि गर्न नसक्दा। मेरै आँखा अगाडि जहाजको ठूलो टुक्राले च्यापिएका दुई जना होनहार युवाहरु रक्तश्रावले छट्पटाईरहेका थिए।

   म बाहिर निस्कन खोजेँ तर सकिन, एकैछिनमा गाउँलेहरु आईपुगे र मलाई बाहिर निकाले। मैले पाईलटहरुको ज्यान बचाईदिन याचना गरिरहेँ। "प्लिज हेलिकोप्टर बोलाउनुस, उनीहरु बाँच्छन, प्लिज रगत बग्न रोक्ने केही उपाय गर्नुस ,.. म एकोहोरो बरबराईरहेको थिएँ।"

  अन्तत: जे नहुनु थियो सो भयो | एक होनहार पाईलट रोशन छटपटाउदै आफ्नो प्राण त्याग गरेको यी आँखाले हेर्नुपर्यो, हेर्दाहेर्दै एउटा आकाश भासियो।

 म राहुलको नजिक गएँ, मेरो हात समातेर उसले बरर्र आँशु झार्यो | अनि आर्तनादले चिच्यायो: मलाई बचाऊ, म बाँच्न चाहन्छु | मैले मेरो बाबाआमाको सपना पूरा गर्नु छ| मैले  देशको लागि अझै धेरै काम फत्ते गर्नुछ |" ऊ चिच्याईरह्यो | म भावविह्वल भएँ, दुर्घटित शरीर र मन लिएर साथीको जीवन बचाईदिन याचना गरिरहेँ।

    बिकट गाउँ न थियो, साधन स्रोतले भ्याएसम्म गाउँलेहरुले सहयोग त गरेकै हुन तर मैले चाहेको हेलिकोप्टर मेरो साथीलाई लिन आएन, म उसको चित्कारको साक्षी बनेर लाचार भई अगाडि बसिरहेँ।

        राहुल! तिमीलाई केहि हुँदैन केहि बेरमै हेलिकोप्टर आउँछ, तिमीलाई केहि भएको छैन, यस्तै यस्तै सहानुभूति दिदै म उसकै समीपमा बसिरहेँ। तर मेरो धैर्यताको बाँध फुटिसकेको थियो।

    दुई घन्टा बितिसक्यो, राहुललाई लिन कुनै हेलिकोप्टर आएन, उसको स्वास्थ्यमा सुधार आएन, रगत निकै बगिसकेको थियो, क्रमश उसको शरीर चिसो भईसकेको थियो। अन्तत: मेरो मित्रताको आकास मेरै अगाडि भाँसियो, मेरै काखमा राहुलले प्राण त्याग गर्यो। हामी सबैलाई बचाएर उनीहरु दुबैले प्राणत्याग गरे।

    अब भने मलाई आफू बाँचेकोमा कुनै खुशी लागेन, आफ्नो मुटुभित्र बसेको साथी गुमाउनु र उसकै मृत्युको बयान गर्नुपर्ने पिडाले म मूर्च्छित भएँ। त्यसपछि के के भयो मलाई केहि थाहा भएन।

     होसमा आउँदा म नेपालगंजको मध्यपश्चिमान्चल अस्पत्तालमा थिएँ, मेरो अनन्य मित्रको मृत शरीर फेरि हेर्न सक्ने मेरो हिम्मत भएन। अझ एउटा जवान छोराको चितामा दागबत्ती दिनुपर्दाको बाबुको हालत कस्तो होला, म कल्पना गर्न समेत सकिन।

     तर हुने हार दैव नटार भनेजस्तै यी सबै दृष्य निरीह भएर टुलुटुलु हेर्नुको कुनै बिकल्प थिएन | पचपन्न बर्षे बाबुले राहुलको मृत शरीरमा दाग बत्ती दिएको मैले अस्पताल कै टि.भी.मा देखिरहेको थिएँ | उनी भक्कानिदै अश्रुधारा बगाउँदै चिच्याउदै थिए, "बाबु छोरा तिमीलाई पोल्यो कि? आफू मरेर पनि अरुलाई बचाउने मेरो महान मित्रको लाश संगै उडेको धुवाँ भित्रबाट मेरो साथीले मलाई बारम्बार बोलाएजस्तो आवाज़ आयो...सरगम... सरगम... ।

म स्तब्ध  भएँ, धर्ति फनफनी घुमिरहेको थियो। घाम र जुन बिनाको कालो आकाश पुरै मै माथि भासिएको प्रतीत भईरहेको थियो |                                            

    -  भृकुटी न. पा.६ कपिलवस्तु